राजनीति


मिटरब्याजका ५ हजार २०० उजुरीमा सहमति

मिटरब्याजका ५ हजार २०० उजुरीमा सहमति

नेपालखबर
फागुन १८, २०८१ आइतबार १६:३६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले कानुन विपरीतका अनुचित लेनदेन (मिटरब्याज) सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘अनुचित लेनदेन सम्बन्धमा नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरु छानबिन गरी टुङ्ग्याउने काम भइरहेको छ, यस्ता कार्यहरु कानुनअनुसार दण्डनीय भएकाले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्न सरकार प्रतिबद्ध छ।’

मन्त्री लेखकले अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नका लागि जाँचबुझ गरी राय/सुझाव सहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरी कार्य गरिएको बताए। सो सम्बन्धमा आयोगमा दर्ता भएकामध्ये पाँच हजार २०० उजुरी फछ्र्यौट/सहमति भइसकेको उनको भनाइ छ।

‘साविकको आयोगलाई तोकिएको समयावधि सकिएको र यसअघिको आयोगबाट सोचेअनुरुप काम हुन नसकेको हुँदा बाँकी कामलाई गतिका साथ निष्कर्षमा पुर्‍याउन पुनः आयोग गठन गर्न लागिएको छ’, उनले भने।

उनले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा भएको बेलुन विस्फोटको घटना सम्बन्धमा जवाफ दिँदै उक्त घटनाका सम्बन्धमा विस्तृत छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विज्ञसहितको छानबीन समिति गठन गरिएको जानकारी दिए।

‘उक्त समितिले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव दिनेछ, समितिको प्रतिवेदनका आधारमा मेला महोत्सवलगायतका कार्यक्रममा सुरक्षा सतर्कता व्यवस्थापनका सम्बन्धमा थप सावधानीहरु अपनाइने छ’, उनले भने।  

त्यसैगरी सोलुखुम्बुको सीमा प्रशासन कार्यालय नाम्चेबजार कर्मचारीविहिन भएको सम्बन्धमा जवाफ दिँदै छिट्टै कर्मचारी व्यवस्थापन गरी सेवा सञ्चालन गरिने जानकारी दिए।  

‘सीमा अपराध नियन्त्रण तथा सीमामा नेपाली र भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित आवतजावतका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समय–समयमा समन्वयतात्मक बैठक बस्ने गरेको छ, सिमामा सुरक्षा निकायबाट निगरानी बढाईएको छ’, उनले भने।  

यसै वर्षमा थप सात वटा सीमा आउटपोष्ट थप्ने तयारी भइरहेको उनको भनाइ छ। अवैध चोरी पैठारी नियन्त्रणमा पनि सक्रियता बढाइएको जनाउँदै उनले अवैध चोरी पैठारीमा संलग्न जो सुकैलाई पनि शून्य सहनशिलताको नीतिअनुरुप कारबाही गर्ने गरिएको बताए।

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोही वडाका वडा सचिव नविन भुसालमाथि गरेको अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

‘कर्मचारीमाथि जनप्रतिनिधिबाट भएका घटनाको शृङ्खला बढेको सन्दर्भमा सबै जिल्ला प्रशासन कार्यालयलाई यस्ता घटनाका सम्बन्धमा जोसुकै दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न र कर्मचारी सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन पनि दिइएको छ। कर्मचारीको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु’, उनले भने।    

अछामको ढकारीमा दुई किशोरीको मृत्युका सम्बन्धमा जवाफ दिँदै उनले नेपाल प्रहरीबाट घटनास्थलबाट सङ्कलन गरिएका भौतिक प्रमाणको फोरेन्सिक परीक्षण, सिडिआर विश्लेषणलगायतको अनुसन्धान पूरा गरी २ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको बताए।  

‘जिल्ला अदालत, अछामबाट पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश भए बमोजिम डोटी बाल सुधारगृह पठाइएको र एक जना नाबालकलाई आवश्यक पर्दा पछि उपस्थित हुने गरी छाडिएको छ। दोषीलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याइसकिएको छ’, उनले भने।

मन्त्री लेखकले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जघन्य प्रकृतिका अपराध हुनरगर्न नपाउने गरी स्थानीय सरोकारवाला निकायसँग समेत समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। उनले महिलामाथि हुने हत्या, हिंसा र शोषणका विषयमा कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

गृहमन्त्री लेखकले विराटनगरमा १४ वर्षीया बालिकाको खाल्डो खनेर गाडिएको घटनामा अनुसन्धान थालिएको बताए। उनले सो शंकास्पद मृत्युको सम्बन्धमा मृतकको मावली हजुरवुवा (सरयुग मण्डल), मावली हजुरआमा (बतासी मण्डल), माइलो मामा (राम बाबु मण्डल), माइली माइजु (जनकी मण्डल), बाबु (लालमन राय यादव, घर भारत), आमा (राज कुमारी राय यादव, घर भारत) लाई पक्राउ गरी अनुसन्धान जारी रहेको जानकारी दिए।

उनले भने, ‘भारत घर भई हाल विराटनगर–५, विशालचोक, कलेर्वा टोल बस्ने वर्ष १४ की चादनी राय यादवको मावली घरदेखि ३८ मिटर पर खेतबारीमा खाल्डो खनी गाडेको शंकास्पद मृत्युको सम्बन्धमा पक्राउ गरी अनुसन्धान जारी छ।’

त्यसैगरी बाजुराकी १४ वर्षीया बालिकाको धनगढीमा भएको बलात्कार घटनाका सम्बन्धमा जाहेरी दरखास्तका आधारमा प्रतिबादी भुपेन्द्र नागरीलाई गत माघ २८ गते पक्राउ गरी  कानुनी कारवाहीमा ल्याइसकिएको बताए।

‘यस सम्बन्धमा माघ २५ गते कैलालीको धनगढी उप–महानगरपालिका वडा न। २ बस्ने वर्ष १६ को भुपेन्द्र नागरीले विद्यालयबाट घर फर्किने क्रममा चक्कु देखाइ आफ्नो घरको कोठामा लगी ज्यान मार्ने धम्की समेत दिइ इच्छाविपरीत जवरजस्ती करणी गरेको हुँदा निजलाई कानुन बमोजिम कारवाही गरी पाउँ भनि गत माघ २७ गते परेको  उजुरीको आधारमा पक्राउ गरी कारवाही अगाडि बढाइएको छ’, उनले भने।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाको विभिन्न ठाँउमा चेकजाँच पोष्टहरु रहेको सो पोष्टहरुमा खटिने नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरणका लागि ओभरलोड तथा सिट क्षमताभन्दा बढी यात्रुहरु राख्ने सवारी साधनलाई नियन्त्रणमा ल्याई सम्झाइ बुझाइ गरिएको उनले भने।

साथै प्रहरीद्वारा रकम असुल गरिएको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा त्यस्तो अनैतिक कार्य भएको नदेखिएको अनुसन्धानबाट देखिएको सम्बन्धमा कानुनी कारवाही गरिने उनको भनाइ छ। भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरणमा नेपाल सरकारले घटनाको सम्बन्धमा छानबिन गर्न, विद्यार्थीहरुको सुरक्षा एवं व्यवस्थापनका सम्बन्धमा कूटनीतिक तरिकाबाट सम्पर्क र समन्वय गरिरहेको उनले बताए।

‘घटनाको विषयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीज्यू, नेपालस्थित भारतीय दूतावासलगायत सिंगो नेपाल सरकारले गरेको पहल र प्रयासका कारण भारत सरकारले पनि यस घटनालाई निकै संवेदनशीलरुपमा लिएर सोही अनुसार कदम चालेको छ, यस घटनाका मुख्य दोषीलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढेको, संलग्न केही कर्मचारीहरु निलम्वन भइसकेका र उच्चस्तरीय छानबिन समिति गठन भएको छ’, उनले भने।

गृहमन्त्री लेखकले भने, ‘गृह मन्त्रालयको हकमा ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित स्थानीय तहसँग सहकार्य र समन्वय गरी नियमितरुपमा बजार अनुगमनका गरी गलत गर्नेलाई कानून बमोजिम कारवाही गरिएको छ।’ 

त्यस्ता कार्यहरुको नियन्त्रणमा उपभोक्ताको पनि उत्तिकै भूमिका हुने आफूसँग भएको तथ्यपरक सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन आग्रह गर्दै उनले उपलब्ध सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुबाट कारवाही हुने प्रतिबद्धता व्यक्त गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad