राजनीति


समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

नेपालखबर
माघ २, २०८१ बुधबार १६:४४, काठमाडौँ

विभिन्न बाम पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने भएको छ। 

मोर्चाको बुधबार बसेको बैठकपछि संचारकर्मीहरुसँग बोल्दै नेकपा नेता खड्गबहादुर विश्वकर्माले विगतमा मोर्चा निस्क्रिय रहेको भन्दै त्यसको जवाफ दिनेगरी काठमाडौँमा विशाल कार्यक्रम गर्न लागेको जानकारी दिए।

‘आजको बैठकमा केही ग्याप भयो। यो अवधिमा मोर्चा अघि बढ्न नसक्नुको कारणबारे समीक्षा गरेका छौं,’ बैठकबारे जानकारी गराउँदै उनले भने, ‘त्यसैले माघ १६ गते एउटा भव्य कार्यक्रम गरेपछि सबै प्रश्नहरुको जवाफ दिन्छ।’

विश्वकर्माले मोर्चाहरुको कामको समीक्षा गर्न गठित कार्यदलले पनि यही माघ १२ गतेसम्म प्रतिवेदनलाई टुंग्याएर शीर्ष नेताहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यावद नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका थिए।

पछिल्लो समय केही निस्क्रिय रहेको मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच २ पटक छलफल भएको थियो। 

उनीहरुबीचको छलफलपछि मोर्चाको बैठक राखिएको हो। मोर्चामा यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि थियो। तर, उनको दल विभाजित भएपछि त्यसमा उनले प्रचण्डलाई दोषी देखाउँदै मोर्चा छाडेका थिए। 

पछिल्लो पटक प्रचण्ड र माधव नेपालबीच भएको छलफलमा यादवलाई मोर्चामा फर्काउने कोसिस गर्ने र त्यसका लागि नेपालले पहिले कुरा गर्ने सहमति भएको थियो। तर, यादवको दललाई मोर्चामा ल्याउनका लागि उनीहरुले मनाउन सकेका छैनन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad