सिन्धुपाल्चोक-१ बाट संघीय संसद, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा ‘सुबोध’ त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा दीक्षित भएका छन्।
माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र विद्रोहको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतिदेवी पञ्चकन्या मावी कुविण्डेबाट हासिल गरेका थिए।
तर उनी माओवादी युद्ध चर्किएपछि माध्यमिक तहको पढाइ पुरा नगरी भूमिगत भएका थिए। त्यति बेला उनी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध थिए।
शान्ति प्रक्रियामा आएपछि मात्रै उलने एसईई (एसएलसी) दिएर अगाडिको पढाइलाई निरन्तरता दिएका थिए। चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनशैनिक माध्यमिक विद्यालयबाट उनले एसएलसी दिएका थिए । त्यसपछि प्राइभेटबाट आइए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे।
शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा सापकोटा १४ हजार ३०८ विद्यार्थीसँगै दीक्षित भए। दीक्षित भएपछि सापकोटाले फेसबुकमा लेखेका छन्, ‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ। कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्यो। विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएरपछि टुटेको औपचारिक अध्ययन शान्ति प्रकृया पश्चात जोडेको थिएँ।’
Shares

प्रतिक्रिया