राजनीति


चानचुने कार्यक्रममै बित्यो परराष्ट्रमन्त्री राणाको ५ दिने दिल्ली बसाइ

४ महिनाअघि ‘प्रधानमन्त्रीसरह’ महत्त्व, अहिले भ्रमण लम्ब्याउँदा पनि भएन उच्चस्तरीय भेट
चानचुने कार्यक्रममै बित्यो परराष्ट्रमन्त्री राणाको ५ दिने दिल्ली बसाइ

परराष्ट्रमन्त्री राणा र भाजपाका राम माधव


रामकुमार डिसी
पुस ८, २०८१ सोमबार २१:३१, काठमाडौँ

स्वास्थ्योपचारका लागि गत भदौमा नयाँ दिल्ली जान लागेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले आफैँ रुचि देखाएर औपचारिक भ्रमणमा बोलाएको थियो। 

भारतले समेत रुचि देखाएर औपचारिक निमन्त्रणा गरेपछि उनी गत भदौ २ गते ५ दिने भ्रमणका लागि दिल्ली गएकी थिइन्। त्यहाँ उनको निकै खातिरदारी भएको थियो।

समकक्षी एस जयशंकरसँग द्विपक्षीय वार्ताका अलावा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेकी थिइन्। जुन भेटमा विदेशमन्त्री जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभालसहितका वरिष्ठ सरकारी अधिकारी सहभागी थिए। 

सोहीकारण दिल्लीमा उनले प्रधानमन्त्री सरहको महत्त्व र स्वागत पाएको टिप्पणी भएको थियो। 

तर, ४ महिनापछि राणाको दोस्रो भारत यात्रा भने नितान्त भिन्न रह्यो। गैरसरकारी भ्रमणमा गएकी राणाले यसपटक भारतीय सरकारको उच्च सत्कार त प्राप्त गरिनन् नै, ५ दिन भारतमा रहँदा उनले झिनामसिना कार्यक्रममै समय व्यतीत गर्नुपर्‍यो। 

राणा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्यायम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि मंसिर २२ गते नेदरल्यान्ड्स प्रस्थान गरेकी थिइन्। 

त्यो कार्यक्रम सकिए पनि उनले करिब डेढ साता युरोपली देशमै विभिन्न कार्यक्रममा सहभागिता जनाएर बिताएकी थिइन्। 

उनी युरोप प्रस्थान गर्दा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा पुस ५ गते नेपाल फर्किने उल्लेख थियो। त्यतिबेला भारत भ्रमणको कुनै योजनामा थिइनन् उनी। 

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जाने इच्छा व्यक्त गरेपछि मात्रै परराष्ट्रमन्त्री राणाको दिल्ली यात्राबारे अनौपचारिक च्यानलबाट सूचना सार्वजनिक गरिएको थियो।

चीन भ्रमण पूरा गरेर आएका प्रधानमन्त्री ओलीले २३ मंसिरमा गृहजिल्ला झापा पुगेर आफू केही समयपछि भारत भ्रमणमा जाने बताएका थिए। 

‘हामी देश बनाउँछौँ। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन्। अब मान्छेहरूले पत्याएका छैनन् होला। म केही समयपछि भारत भ्रमणमा पनि जान्छु,’ उनले भनेका थिए।

यता प्रधानमन्त्री ओलीले भारत भ्रमण जाने हुटहुटी व्यक्त गर्नु, उता युरोप पुगेकी परराष्ट्रमन्त्री राणा भारत पुगेर मात्रै फर्किने कार्यक्रम बन्नु संयोग मात्र सायदै थियो।  प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि वातावरण बनाउन उनी दिल्ली पुगेको धेरैले अनुमान गरेका थिए। 

यद्यपि, राणाको सचिवालयले भने पूर्वनिर्धारित कार्यक्रममा सहभागिता जनाउन भारत गएको बताएको थियो। मंसिर ३ गते दिल्ली पुगेकी राणा भोलिपल्ट काठमाडौँ विश्वविद्यालय र भारतको इकोनोमिक ग्रोथ फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत आर्थिक सम्मेलनमा मुख्यवक्ताको रूपमा सम्बोधन गरेकी थिइन्। 

त्यसको भोलिपल्टै उनी नेपाल फर्किने कार्यक्रम थियो। तर, बीचमै त्यसलाई थप २ दिन लम्ब्याइयो। स्वास्थ्य परीक्षण समेत गर्नु परेका कारण सोमबार मात्रै नेपाल फर्किने परराष्ट्रमन्त्री राणाको सचिवालयले सूचना सार्वजनिक गरेको थियो।

उनको सचिवालयले भनेझैँ मन्त्री राणा स्वास्थ्य परीक्षणका लागि दिल्लीस्थित एपोलो अस्पताल गएकी थिइन्।

स्वाथ्य परीक्षणमा थोरै समय दिएकी राणा त्यसपछि फुर्सदिली भएकी थिइन्। उनी दिल्लीमा रहँदा कुनै उच्च तहको भेटघाट हुन सकेन। रोचक के छ भने राणा यसअघि दिल्ली जाँदा प्रायः होटेलमा बस्ने गर्थिन्। गत भदौमा औपचारिक भ्रमणमा जाँदा पनि भारत सरकारले तय गरेको होटेलमै बसेकी थिइन्। तर, यसपालि भने उनी पूरै समय दिल्लीस्थित नेपाली दूतावासमै बसिन्। 

दूतावास स्रोतका अनुसार परराष्ट्रमन्त्री राणाको सम्मानमा दूतावासमा रात्रिभोज आयोजना गरिएको थियो। त्यहाँ नेपाली र भारतीय कूटनीतिज्ञको जमघट भएको थियो। नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बराल लगायतको त्यहाँ उपस्थिति थियो। सँगै, नेकपा एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत त्यहाँ थिए। 

एमाले उपमहासचिव समेत त्यहाँ पुग्नुले परराष्ट्रमन्त्री आरजु राणाको दिल्ली भ्रमण प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि थियो भन्ने कुरालाई बल दिन्छ। तर, राणा र ज्ञवाली दुवैले उच्च भारतीय कूटनीतिज्ञ र राजनीतिज्ञसँग भेटको अवसर पाएनन्। 

नेपाल फर्किनुअघि इन्डिया फाउन्डेसनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा राणाले सहभागिता जनाएकी थिइन्। जहाँ उनको भेटघाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का पूर्वमहासचिव राम माधवसँग भएको थियो। परराष्ट्रमन्त्री राणाले दिल्लीमा रहँदा भेटेका उच्च भारतीय नेता उनै हुन्। 

झिनामसिना कार्यक्रममै सहभागी भएर राणाको ५ दिन दिल्लीमा बितेपछि धेरै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत अझै पनि इच्छुक नरहेको टिप्पणी नेपालमा हुन थालेको छ। 

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका ओलीलाई भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन। राणाको यसपटकको दिल्ली यात्राबाट पनि ओलीको भारत भ्रमणका लागि वातावरण बन्न नसकेको कूटनीतिक मामिलाका जानकारहरूले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad