राजनीति


चीन भ्रमणमा नयाँभन्दा पुरानै सम्झौता कार्यान्वयन गर्न एमाले नेताको जोड

चीन भ्रमणमा नयाँभन्दा पुरानै सम्झौता कार्यान्वयन गर्न एमाले नेताको जोड

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १५:३६, काठमाडौँ

एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले चीनबाट अनुदान मात्र लिनेभन्दा पनि स्पष्ट योजना बनाएर मात्र अनुदान लिनुपर्ने कुरामा जोड दिएका छन्। 

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरूसँग सोमबार सिंहदरबारमा आयोजना गरेको छलफलका क्रममा पाण्डेले यस्तो सुझाव दिएका हुन्।

दोस्रो संविधान सभाको निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको एमालेसमेत सम्मिलित सरकारमा पाण्डे परराष्ट्रमन्त्री थिए।  
पाण्डेलाई ओलीले दोस्रो प्रधानमन्त्रित्वकालमा चीनका लागि राजदूतसमेत बनाएका थिए।

‘चीनसँग विगतमा परियोजनाका सम्बन्धमा धेरै सम्झौता भएका छन्। तीमध्ये कतिपय अघि बढ्न सकेका छैनन्,’ छलफलमा आफूले दिएको सुझाव उल्लेख गर्दै पाण्डेले नेपालखबरसँग भने, ‘त्यसैले हाम्रो जोड ती परियोजना अघि बढाउनुपर्छ भन्ने कुरामा हुनुपर्छ।’

नेपालमा बीआरआई परियोजना अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेसका नेताहरूले पनि यस्तै सुझाव दिँदै आएका छन्। 

‘तपाईंको सुझाव त कांग्रेससँग मिल्यो नि’ भन्ने नेपालखबरको जिज्ञासामा पूर्वमन्त्री पाण्डेले भने, ‘हामीले सरकार नै मिलेर बनाएपछि अरू कुरा पनि मिल्ने भइहाले नि।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ सम्झौता गर्नेभन्दा पुराना सम्झौता कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए।  

कतिपय विकसित मुलुकहरू समेत षड्यन्त्रको सिद्धान्तबाट प्रभावित भएकाले त्यस्ता गतिविधिबाट नेपाल अलग रहनुपर्ने सुझाव पनि उनले दिएका थिए। 

‘नेपाल कसैको प्रभावमा नपरोस्, यहाँको राजनीति र सरकार स्थिर होस् भन्ने कुरामा ध्यान दिनुपर्छ,’ पाण्डेले भने, ‘चीन भ्रमणमा यी कुरालाई मध्यनजर गर्न पनि मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु।’  

बीआरआईअन्तर्गत ऋण लिनै हुन्न भन्ने धारणा आफ्नो नभए पनि ऋणका लागि ऋण लिन नहुने उनी बताउँछन्। भन्छन्, ‘ऋणका लागि मात्रै ऋण लिने गर्नुहुँदैन। हामीले लिने ऋण विकासका लागि हुनुपर्छ।’  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad