राजनीति


ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १७:१९, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनमा सहभागिता जनाएका छन्। उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी भएका हुन्।

मन्त्री खड्का उक्त सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गगरेका हुन्। सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्र«सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा मन्त्री खड्का सहभागी भएका विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए।

कोप–२१ सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवद्र्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए। उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताए। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सह–अध्यक्ष, महानिर्देशकलगायत पदसहितको नयाँ कार्यसमिति चयन गरिने छ।
 
सम्मेलनले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्ने महानिर्देशक सिंहको भनाइ छ। सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्नेछ।

विद्युत्को माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सौर्य ऊर्जा विकासको माध्यमबाट ऊर्जा मिश्रणको सहायताले ऊर्जा सुरक्षा हासिल गर्न मद्दत पुग्ने बताइएको छ। सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदानप्रदान गरिनेछ।
 
उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतका ऊर्जामन्त्री एवं आइएसएका अध्यक्ष प्रल्हाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रमसमेत रहेको छ। भेटमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ। आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ।

उक्त सम्मेलनमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार (अर्थ विज्ञ) अमित श्रेष्ठलेसमेत सहभागी छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad