राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थुनामा राख्न दिएको ६ दिनको समय सकिएपछि बिहीबार उनलाई अदालतमा पेस गरिँदैछ।
शुक्रबार पक्राउ परेका उनलाई हिरासतमा राख्न अदालतले दिएको ६ दिनको म्याद बुधबार सकिएको हो। बयान नसकिएकाले प्रहरीले बिहीबार अदालतसँग थप समय माग्ने तयारी गरेको छ।
रवि भने बुधबार नै बयान सक्नुपर्ने अडानमा छन्। बयान अनावश्यक रुपमा लम्ब्याइएको भन्दै उनी असन्तुष्ट भएका छन्।
सभापति लामिछाने पक्राउ परेसँगै उनको पार्टी भने आन्दोलनमा छ। रास्वपाले शनिबार बिहानबाटै पोखरामा सुरु गरेको प्रदर्शन अझै जारी छ।
देशका विभिन्न जिल्लाबाट आएका रास्वपाका कार्यकर्तादेखि सांसद र केन्द्रीय नेतासम्म प्रदर्शनमा सहभागी छन्। सरकारले राजनीतिक प्रतिशोध राखेर रविलाई पक्राउ गरेको उनीहरूको आरोप छ।
पार्टी गठन हुनुभन्दा अगाडिकै विषय, त्यसमा पनि सभापतिको व्यक्तिगत विषयलाई रास्वपाले पार्टीको मुद्दा बनाएको भन्दै रास्वपाको आलोचना पनि भइरहेको छ।
त्यसमाथि, फौजदारी न्यायिक प्रक्रियामै अवरोध गर्नेगरी अवरोध गरेको भन्दै रास्वपाको आलोचना भइरहेको छ। सत्तारुढ दलहरूले रास्वपाको यस्तो कदम स्वीकार्य नहुने बताएका छन्।
तर, रास्वपाका नेताहरू भने पार्टीले योजना बनाएर आन्दोलन नगरेको, सभापतिका शुभचिन्तकहरू स्वस्फूर्तरुपमा आन्दोलनमा सहभागी भएका बताउँछन्।
‘यो पार्टीले बैठक बसेर, योजना बनाएर गरेको आन्दोलन होइन, उहाँहरू स्वस्फूर्त रुपमा आएर यसमा सहभागी हुनुभएको हो,’ पोखरामै रहेका रास्वपाका एक नेताले भने, ‘पार्टीले बोलाएर, आन्दोलन गराएको होइन। खाने, बस्नेदेखि सबै व्यवस्था आफैँ गरेर उहाँहरू कार्यक्रममा सहभागी हुनुभएको छ।’
मुख्य नेता पक्राउ परेपछि रणनीतमा अलमल
रवि पक्राउ परेको भोलिपल्टैबाट सुरु भएको आन्दोलन निरन्तर चलिरहेको छ। विरोधका बाबजुद रास्वापाका नेता-कार्यकर्ताले प्रदर्शनको कार्यक्रम रोकेका छैनन्। आन्दोलन कहिलेसम्म जान्छ?
सह प्रवक्ता प्रतिभा रावल यस विषयमा बिहीबार मात्रै भन्न सकिने बताउँछिन्।
‘यो प्रश्न तपाईंले मलाई भोलि सोध्नुभयो भने म जवाफ दिन सक्छु,’ रावलले नेपालखबरसँग भनिन्।
प्रदर्शन कहिलेसम्म जान्छ भन्ने विषयमा नेताहरू आफैँ अन्यौलमा छन्। किनकि यो विषयमा पार्टीमा केही छलफल भएको छैन।
रास्वपाका नेताहरू यस विषयमा अदालतको निर्णय कुरेर बसेका छन्। रवि बिहीबार छुटे भने प्रदर्शनको कार्यक्रम रोकिन सक्छ।
तर, उनी बिहीबार नै छुट्ने सम्भावना निकै कम देखिएको छ। उनीसँगको बयान नसकिएका कारण प्रहरीले अदालतसँग थप समय माग्न सक्छ। लामिछानेलाई थप अनुसन्धानका लागि बुटवल लगिने पनि प्रहरीले बताएको छ।
रविलाई थप अनुसन्धानका लागि पोखराबाट बुटवल लगियो भने प्रदर्शनको कार्यक्रम पोखराबाट बुटवल सर्ने लामिछाने निकटस्थहरूको भनाइ छ।
लामिछानेको सचिवालयका एक सदस्यले भने, ‘पोखरामा जसरी स्वस्फूर्त रुपमा नागरिकहरू सहभागी हुनुभएको छ, हुनसक्छ बुटवलमा पनि त्यसरी नै उहाँहरू सहभागी हुन सक्नुहुन्छ।’
विरोध प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा प्रदर्शनमा सहभागी हुनेहरू दिनप्रतिदिन बढिरहेको रास्वपा नेताहरूको दाबी छ। बुधबार मात्रै करिब ७ हजार मान्छे प्रदर्शनमा सहभागी भएका एक नेताले दाबी गरे।
तर, रवि तत्कालै नछुटे के गर्ने भन्नेबारे पार्टी संयन्त्रमा छलफल भने भएको छैन। सभापति नै पक्राउ परेकाले पनि पार्टीको आगामी रणनीतिबारे अन्यौल देखिन्छ।
पोखरामा रहेका केही संघीय सांसद र केन्द्रीयस्तरका नेताहरू काठमाडौँ फर्किएका छन्। सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद शिशिर खनाल बुधबार राष्ट्रपतिलाई भेट्न पुगेको विपक्षी दलहरूको टोलीमा सहभागी थिए। अर्की संघीय सांसद निशा डाँगी पनि पोखराबाट बुधबार नै काठमाडौँ फर्किएकी छिन्।
प्रतिनिधि सभा सदस्य समेत रहेकी रास्वपा केन्द्रीय सदस्य बिनिता कठायत भने रवि बिहीबार नै छुटे पनि विरोध प्रदर्शनको कार्यक्रम नरोकिने बताउँछिन्। सहकारी पीडितको समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ।
‘रवि सर भोलि नै छुट्नुभयो भने पनि अब हाम्रो यो कार्यक्रम रोकिँदैन,’ कठायतले भनिन्, ‘सहकारी पीडितको समस्या निकै ठूलो छ, हामी घरघर पुगेर धेरै पीडितलाई भेट्यौँ पनि। जहिलेसम्म उहाँहरूको समस्या समाधान हुँदैन, त्यो बेलासम्म हामी यो कार्यक्रम रोक्दैनौँ।’
Shares

प्रतिक्रिया