ad ad

राजनीति


संवैधानिक परिषद्को बैठक आज, के छन् एजेन्डा?

संवैधानिक परिषद्को बैठक आज, के छन् एजेन्डा?

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ८:४२, काठमाडौँ

संवैधानिक परिषद्को बैठक आज बस्दैछ। शुक्रबार साँझ पाँच बजे परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधबारै बस्नेगरी संवैधानिक परिषद्को बैठक बोलाएका थिए। बुधबार बस्दै नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो।

नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। 

त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष,  प्रतिनिधि सभाको विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख  परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।

आजको बैठकलाई सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै विपक्षी दलका नेतासमेत रहेका पूर्व प्रधानमन्त्री तथा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्। 

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको स्रोतले जनाएको छ। 

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‌मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न बोलाइएको बैठक सरेको हो। 

न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।  

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। 

संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।

त्यसैगरी आजको बैठकमा विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदपूर्ती गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .