ad ad

राजनीति


उपसभामुखले आचरणविपरीतका गतिविधि गर्नुभयो, मार्गप्रशस्त गर्नु हितकर : बर्तौला

उपसभामुखले आचरणविपरीतका गतिविधि गर्नुभयो, मार्गप्रशस्त गर्नु हितकर : बर्तौला

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १२:१६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरले कूटनीतिक मर्यादाविपरीत पत्राचार गरेको र यो पदअनुकूल नभएको कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

उपसभामुख रानाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु नैतिकतायुक्त व्यवहार हुने उनको दाबी छ।

‘वास्तवमा मार्गप्रशस्त गरेर नैतिकतायुक्त व्यवहार प्रदर्शन गर्ने कुरा बढी हितकर हुन्छ। उहाँले जति ढिला गर्नुहुन्छ, त्यति नै समस्या बढ्दै जान्छ,’ बर्तौलाले नेपालखबरसँग भने। 

संसद्को गरिमालाई ध्यानमा नराखेर नियतवश उनले दूतावासमा पत्राचार गरेको बर्तौलाको टिप्पणी छ। 

रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने सत्तारुढ गठबन्धनको तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ। 

‘यो संसद्मा माननीयले उठाएको विषय हो। सत्तासीन दलहरूले यस्तो गर्न खोज्ने भन्ने आउन खोजेको छ। यो होइन। संसदले संसदीय मर्यादा कायम राख्ने कुरामा अहिलेसम्म सरकार पक्ष जिम्मेवार छ। संसदीय मर्यादालाई कसैले च्युत गर्न पाउँदैन। पदीय जिम्मेवारी लिनुपर्छ,’ बर्तौलाले भने।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई हटाउने तयारी गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो प्रस्ताव सत्ता गठबन्धनको सोमबारको बैठकमा राखेका थिए। 

बर्तौलाले नेपालखबरसँग भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन, नियतवश गरिएको पद आचरणविपरीतको गतिविधि हो। संसद्को गरिमा जोगाउनुपर्ने महत्त्वपूर्ण व्यक्तिले कूटनीतिक मर्यादा विपरीत रहेर अन्तर्राष्ट्रिय क्षेत्रमा संसद्को गरिमालाई ध्यानमा नराखेर पत्राचार गर्ने कुरा, अनधिकृत मान्छेलाई स्वीकृति नलिई, संसदलाई जानकारी पनि नगराई यो जे गरियो, यो ब्लन्डर हो।’ 

रानाले उपसभामुखको हैसियतले पाँचजना नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्राचार गरेको विषय केही समयअघि विवादित भएको थियो। सांसदहरूले संसदमा पनि यो विषय उठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .