राजनीति


‘मोर्चाबन्दी रोक्न’ सबै पदाधिकारी लिएर हिँडे प्रचण्ड, किन छुटे महरा र मात्रिका?

‘मोर्चाबन्दी रोक्न’ सबै पदाधिकारी लिएर हिँडे प्रचण्ड, किन छुटे महरा र मात्रिका?

रामकुमार डिसी
भदौ १७, २०८१ सोमबार १८:५४, काठमाडौँ

सरकारबाट बाहिरिएपछि फुर्सदिला बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रदेश दौडाहमा छन्। 

साउन दोस्रो साता पदाधिकारी र अन्तिम साता स्थायी समिति बैठकपछि प्रचण्ड भदौ पहिलो साता केन्द्रीय समितिको बैठक राख्ने योजनामा थिए । तर, स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले अनपेक्षित रूपमा ‘प्रचण्डविरुद्ध कडा प्रतिवेदन’ ल्याएपछि माओवादीको आन्तरिक जीवनमा ठूलै तरंग आयो।

प्रतिवेदनमा प्रचण्डका कयौँ कमजोरी औल्याउँदै जनार्दनले पार्टीको नेतृत्व हस्तान्तरण/पुस्तान्तरणको प्रस्ताव समेत अघि सारेका छन्। शर्माको प्रस्तावमा प्रचण्डलाई अझै बलियो बनाउन उनले नै चाहेको व्यक्तिलाई सांगठनिक नेतृत्वको जिम्मेवारी दिने, प्रचण्ड संरक्षक बन्ने र तेस्रो तहका नेतालाई नेतृत्व सुम्पने वा हालको समिति भंग गरेर आयोजक समिति बनाउनुपर्ने उल्लेख छ।

उनको प्रस्तावलाई अर्का उपमहासचिव वर्षमान पुनले समेत समर्थन गरेपछि प्रचण्ड तनावमा परे। यद्यपि, उलने सञ्चारमाध्यममा त्यसले आफूलाई ‘टेन्सन’ नभएको प्रस्टीकरण दिएका थिए।

तर, प्रचण्ड सचिवालयबाटै आफूलाई पार्टी फुटाउन लागेको आरोप लगाएको भन्दै जनार्दनले सार्वजनिक कार्यक्रमबाट पनि प्रश्न गर्न छोडेनन्। 

त्यसपछि भदौ पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने योजनाबाट प्रचण्ड पछि हटे। बरु, उनले केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू उपस्थित हुने ‘प्रदेश परामर्श बैठक’ गर्ने योजना अघि सारे। भदौ पहिलो साता गर्ने भनिएको केन्द्रीय समिति बैठक असोजमा सारे।

माओवादी नेताहरूका अनुसार जनार्दनले आफूमाथि प्रश्न उठाएपछि प्रचण्डले अझै पनि पार्टीमा बलियो रहेको, नेतृत्वमा निर्विकल्प रहेको जस्ता सन्देश प्रश्न उठाउनेहरूलाई दिन प्रदेश परामर्श बैठकको प्रस्ताव ल्याएका हुन्। 

यस्तो बैठक गर्ने प्रस्ताव स्थायी समितिबाटै पारित गराएर उनले पदाधिकारी लगायतका शक्तिशाली नेताहरूलाई आफूसँगै हिँडाए। कतिपय माओवादी नेताहरूका अनुसार त प्रचण्डले आफूविरुद्ध नेताहरू मोर्चाबन्दीमा नलागून् भनेर सबै पदाधिकारीलाई सँगै लिएर हिँडेका हुन्।

अहिलेसम्म बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ। बैठकमा सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले धारणा राख्ने, प्रचण्डले सुन्ने अनि जवाफ दिने गरेका छन्। 

पदाधिकारीमा प्रचण्डविरुद्ध प्रस्ताव ल्याएका जनार्दन शर्माले पनि धारणा राख्ने गरेका छन्। उनले बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको बैठकमा आफ्नो धारणा राखेका थिए। उपमहासचिव वर्षमान पुनले पनि केही बैठकमा आफ्नो भनाइ राखेका थिए।

गण्डकी प्रदेशको बैठकपछि भने प्रचण्डले अरु पदाधिकारीले पनि धारणा राख्न सक्ने भनेका थिए। तर, महासचिव देव गुरुङले आवश्यता महसुस नगरेकाले अरु पदाधिकारीले धेरै नबोलेको बरु धेरै सुनेको बताए। 

७ प्रदेशको बैठक सकिइसक्दासम्म प्रचण्डलाई चुनौती हुनेगरी धेरै धारणा आएका छैनन्। अधिकांशले बीचमा रहेर पार्टी बिग्रनुमा सबै नेताहरूको भूमिका रहेको भन्दै केही शैलीगत सुधारको सुझाव मात्रै प्रचण्डलाई दिएका छन्।

जनार्दनले जुन तहको चुनौती दिएका थिए, तल्लो तहबाट त्यो तहको चुनौती नआएपछि बरु प्रचण्ड उत्साहित जस्ता देखिएका छन्। अध्यक्ष कसैलाई टीका लगाएर दिने पद नभएको भन्दै आफूलाई चुनौती दिनेहरूलाई नै उनले सन्देश दिइरहेका छन्।
 
‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन,’ प्रचण्डले आइतबार बाँकेको नेपालगञ्जबाट भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दै छु।’

त्यति मात्रै होइन, प्रचण्डले आफूलाई तत्काल नेतृत्व नछोड्न कार्यकर्ताको दबाब आएको समेत खुलाए। 

‘मेरा लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ,’ उनले भने, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ।’

छैनन् महरा र मात्रिका यादव
प्रदेश परामर्श बैठकमा अधिकांश नेताहरू प्रचण्डसँगै गए पनि उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव मात्रिका यादव भने देखिएका छैनन्।

कुनै बेला प्रचण्डका निकटस्थ मानिने महरा पछिल्लो समय उनीबाटै टाढिँदै गएका छन्। उसो त महराले नै आफू प्रचण्डको बेवास्तामा परेको गुनासो समेत गर्ने गरेका थिए। 

प्रचण्ड नै सरकारमा भएका बेला आफू र छोराहरूलाई सुनतस्करी प्रकरणमा पक्राउ गरिएपछि भने महराले उनीसँग निकै चित्त दुखाएका छन्। त्यसयता महरा पार्टीका गतिविधिमा संलग्न हुनसमेत छाडेका छन्। निष्क्रिय महरा पार्टीको पछिल्लो पदाधिकारी, स्थायी समिति र जारी रहेको प्रदेश परामर्श बैठकमा अनुपस्थित छन्। 

उता उपहासचिव मात्रिका यादव पनि प्रदेश परामर्श बैठकमा देखिएका छैनन्। यादवले आफ्नो स्वास्थ्यको कारणले बैठकमा नगएको बताए।

‘मलाई अलि सन्चो छैन, धेरै दिनदेखि विरामी छु,’ उनले भने, ‘त्यसैले म पदाधिकारीको बैठकमा २ दिन मात्र बसेँ। त्यसपछि त म ९ दिन अस्पताल भर्ना नै भएँ। त्यसैले अरु बैठकमा जान सकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad