ad ad

राजनीति


कांग्रेस बैठकमा लुम्बिनी सभापतिको आरोप– नेतृत्वमा सर्वसत्तावाद देखियो, आचरणहीनहरू लाभका पदमा पुगे

कांग्रेस बैठकमा लुम्बिनी सभापतिको आरोप– नेतृत्वमा सर्वसत्तावाद देखियो, आचरणहीनहरू लाभका पदमा पुगे

नेपालखबर
साउन २४, २०८१ बिहिबार २१:४४, काठमाडौँ

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस नेतृत्वमा सर्वसत्तावाद हाबी भएको आरोप लगाएका छन्। त्यस्तै आचरणहीनहरू लाभका पद ओगट्न पुगेको भन्दै असन्तुष्टि पनि प्रकट गरे।

कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रदेश सभापतिहरूले बोल्ने क्रममा पुनले सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई बेवास्ता गर्दै अगाडि बढेको टिप्पणी गर्दै सर्वसत्तावाद लाद्ने प्रवृत्ति स्वीकार्य नभएको धारणा राखे।

नेपाली कांग्रेस र नेकपा (एमाले) को शक्तिशाली गठबन्धन बनेपछि जनतामा सकारात्मक विश्वासको सञ्चार गरेको भन्दै उनले अब जनतामा रहेको निराशा र राजनीतिक दलप्रति देखिएको वितृष्णालाई चिर्न ध्यान केन्द्रित गर्नुपर्ने सुझाव पनि दिए।

तर शक्तिशाली समीकरणको नाममा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई बेवास्ता गर्दै नेतृत्व अगाडि बढ्न नपाइने उनको भनाइ थियो। उनले भने, ‘पार्टीमा एक पक्षले अर्को पक्षमाथि एकलौटी तरिकाले सर्वसत्तावाद लाद्ने निर्णय स्वीकार्य छैन। कांग्रेस सबैको साझा घर हो। यो पार्टी हाम्रो पनि हो। सबैको समान सहभागिता, अपनत्व र सहअस्तित्व हुन जरूरी छ।’

यस्तै उनले कांग्रेसमा स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने र पार्टीको नियम तथा आचरणका विरुद्ध जाने व्यक्तिहरूको पार्टी तथा सार्वजनिक लाभका पदमा मनोनयनले प्राथमिकता पाइरहेकोमा पनि असन्तोष प्रकट गरे। ‘यसले पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न खडा भएको छ भने ग्राउन्डमा पार्टीप्रति प्रतिबद्ध भएर काम गरिरहेका साथीहरू निराशा मात्र होइन, कसका लागि र किन सक्रिय हुने भनेर प्रश्न गरिरहेका छन्। के नेतृत्वको यही प्रकृतिका निर्णयले पार्टी रहन्छ? के यो पार्टीमा अनुशासन, लगानशिलता र इमान्दारिता मापन हुन छोडेको हो?’

सिद्धान्त र पार्टीको नियमविपरीत व्यक्तिगत स्वार्थ तथा लाभका लागि काम गर्ने छूट कसैलाई नभएको उनको भनाइ थियो।

पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनलाई नेताहरू मार्फत मनोमानी रूपमा दुरुपयोग भइरहेको उल्लेख गर्दै उनले यसको पछाडिको मुख्य कारण केन्द्रबाट नेतृत्व तोक्ने र समयमा नियमित अधिवेशन नगर्ने प्रवृत्ति रहेको बताए।

कुनै पनि तहका पदमा रहेका व्यक्तिहरु स्वतः प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्ने र अधिवेशन तल्लो तहबाट नै प्रतिनिधि चयन भएर माथिल्लो तहमा सहभागी हुने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .