ad ad

राजनीति


बीआरआई लगायतका सम्झौता अघि बढाइनुपर्छ : पूर्वपरराष्ट्र सचिव आचार्य

बीआरआई लगायतका सम्झौता अघि बढाइनुपर्छ : पूर्वपरराष्ट्र सचिव आचार्य

नेपालखबर
साउन २१, २०८१ सोमबार २०:३३, काठमाडौँ

बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) लगायत नेपाल–चीनबीच भएका सम्झौता र समझदारीहरूलाई चाँडो अघि बढाउनुपर्नेमा पूर्वपरराष्ट्रसचिव मधुरमरण आचार्यले जोड दिएका छन्। 

चीनको अग्रणी थिंकट्यांक संस्था ‘छार्हर इन्स्टिच्युट’ र ‘नेपाल–चाइना कल्चरल एन्ड एजुकेसनल काउन्सिल’ ले आयोजना गरेको ‘चीन–नेपाल बृहत् सहकार्य : सम्भाव्यता र सम्भावनाहरू’ कार्यक्रममा पूर्वपरराष्ट्र सचिव आचार्यले बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन ढिलाइ गर्न नहुने बताएका हुन्। 

‘नेपालले चीनसँग ‘बीआरआई’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ, त्यसैले बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन ढिलाइ गर्नुहुँदैन’ आचार्यले भने, ‘विश्वशक्ति भएकाले चीनसँगको सम्बन्धलाई हामीले महत्त्वका साथ हेर्नुपर्छ।’ 

बीआरआईबाहेक चीनले अन्य पहलहरू पनि अघि बढाएको बताउँदै आचार्यले चीनले प्रस्ताव गरेको बहुध्रुवीय विश्वको अवधारणालाई पनि समर्थन गर्नुपर्ने उल्लेख गरे। 

‘छार्हर इन्स्टिच्युट’ चीनका अग्रणी प्राज्ञिक संस्थामध्येको एक मानिन्छ। विदेश नीति र सम्बन्धका बारेमा अध्ययन गर्ने यो थिंकट्यांकको तर्फबाट यसपटक वरिष्ठ अनुसन्धाता प्राध्यापक छेन सिजोङसहित अनुसन्धाताको एक टोली नेपाल आएको छ। त्यस क्रममा टोलीले सबैजसो प्रमुख राजनीतिक दलका नेताहरूसँग भेट गरेका छन्।

 

टोलीको नेतृत्व गरी नेपाल आएका प्राध्यापक छेन सात वर्षभन्दा बढी काठमाडौँस्थित चिनियाँ राजदूतावासमा सैन्य कूटनीतिज्ञको रूपमा भूमिका निर्वाह गरेका व्यक्ति हुन्। 

सैन्य सहचारीका रूपमा उनी सन् २००९ सम्म काठमाडौँस्थित राजदूतावासमा कार्यरत थिए। सैन्य सेवाबाट अवकास प्राप्त गरेपछि उनको प्राज्ञिक जीवन सुरु भएको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक छेनले नेपाल आफ्ना लागि दोस्रो घर भएको उल्लेख गरे। ‘प्रस्तावित नेपाल–चीन सीमापार रेलमार्गले दुई मुलुकको भूगोललाई त जोड्छ नै’ उनले भने, ‘दुई देशका जनताको हृदयलाई पनि जोड्नेछ।’  

कार्यक्रममा परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राईले पनि सम्बोधन गरेका थिए। चीनले सदैव नेपालको सार्वभौमिकताको सम्मान गरेको उल्लेख गर्दै राईले पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध रणनीतिक साझेदारीको तहमा विकसित भएको बताएका थिए। 

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्वमुख्य सचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौड्याल, पूर्वपरराष्ट्रसचिव डा. मदन भट्टराई लगायतले पनि नेपाल–चीन सम्बन्धका विविध पक्षमा चर्चा गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .