ad ad

राजनीति


२ वर्ष नपुग्दै पदाधिकारी र स्थायी समिति भंग गर्ने तयारीमा माओवादी

२ वर्ष नपुग्दै पदाधिकारी र स्थायी समिति भंग गर्ने तयारीमा माओवादी

सागर न्यौपाने
साउन १७, २०८१ बिहिबार २०:५६, काठमाडौँ

एक महिनाअघि मात्र सत्ताबाट बहिर्गमित नेकपा माओवादी केन्द्रले पार्टी संरचनामा रहेका विभिन्न समिति भंग गर्ने तयारी गरेको छ। विशेष महाधिवेशन गर्ने उदेश्यले पदाधिकारी, स्थायी समिति विघटन गर्न लागिएको नेताहरुले बताएका छन्। 

महाधिवेशन गरेको ३ वर्ष र पदाधिकारी चयन भएको २ वर्ष पनि नपुग्दै ती कमिटी विघटन गर्ने निष्कर्षमा माओवादी पुगेको हो। 

माओवादीमा अहिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, आयोग, विभाग र प्रदेश गरी ८ संरचना छन्। 

२२ सदस्यीय पदाधिकारी सहित ४३ जना स्थायी समिति सदस्य र ४०७ जना केन्द्रीय सदस्य प्रतिस्पर्धाबिनै चुनिएका थिए। किनकि २०७८ पुस ११ देखि १८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्र निर्वाचित गरेको थियो। 

२०७९ माघ २५ गते माओवादीले २२ सदस्यीय पदाधिकारी घोषणा गरेको थियो। एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ उमहासचिव, नौ सचिव र एक कोषाध्यक्षसहितलाई माओवादीले पदाधिकारी भन्ने गरेको छ। 

अब केन्द्रीय समितिलाई कायम राखेर अन्य कमिटी भंग गर्ने तयारी माओवादीको छ। आगामी साउन २५ गते बोलाइएको स्थायी समिति बैठकबाट सो निर्णय अनुमोदनको तयारी भएको एक पदाधिकारीले जानकारी दिए।  

त्यसपछि केन्द्रीय समिति बैठकले त्यसबारे अन्तिम निर्णय गर्नेछ। माओवादीमा हरेक निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ।

‘विशेष महाधिवेशन आयोजक कमिटी बनाएर जाने तयारी छ, त्यसो गर्दा पदाधिकारी र स्थायी समिति रहँदैन,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यद्यपि, यो प्रस्ताव मात्र हो, यसलाई केन्द्रीय समितिले अनुमोदन गर्न बाँकी छ।’

साउन ११ देखि १५ सम्म चलेको पदाधिकारी बैठकमा त्यसबारे चर्चा भएको थियो। 

यदि स्थायी समिति हुँदै केन्द्रीय समितिबाट यो प्रस्ताव अनुमोदन भएमा माओवादीको अहिले रहेका पदाधिकारी भंग हुनेछ र अध्यक्षबाहेक अन्य सबै नेता आयोजक कमिटी सदस्यमा रुपान्तरण हुनेछन्।  

पदाधिकारी बैठकले स्थायी समितिको एजेन्डा लगभग तय गरिसकेको अध्यक्ष प्रचण्ड निकट स्रोतले पुष्टि गरेको छ।

‘एकचोटि संगठनमा जानुपर्ने पनि हुनसक्छ भन्ने भएको छ,’ अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो।

अध्यक्ष प्रचण्ड राजनीतिक प्रतिवेदन लेखनमा जुटेका छन्। माओवादीले फागुन १ देखि ३ सम्म काठमाडौँमा विधान अधिवेशन गरेको थियो। विधान अधिवेशनले सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चुनिने र तिनलाई सानो आकारको बनाउने निर्णय गरेको थियो। 

त्यसबेला असारदेखि भदौसम्म विशेष महाधिवेशन गर्ने घोषणा गरे पनि त्यसलाई सारिएको थियो। अब फागुनतिर विशेष महाधिवेशन हुन सक्ने सो पार्टीका नेताहरु बताउँछन्।

विभिन्न पार्टीबीचको एकता, पार्टी प्रवेश गरेका नेताहरु समेटिएकोले पार्टीले विशेष महाधिवेशन गर्ने भएको हो। विशेष महाधिवेशनअघि माओवादीले केही महिना संगठन सुदृढीकरण अभियान चलाउने पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए। 

केन्द्रीय समिति बैठकको मिति तय भइसकेको छैन। तर, भदौभित्र हुने नेताहरु बताउँछन्।

‘अब स्थायी समितिको बैठक बस्छ, त्यसपछि केन्द्रीय समितिको बैठक गरिन्छ,’ शर्माले पदाधिकारी बैठकको निष्कर्षबारे भने, ‘केन्द्रीय समितिबाट नयाँ योजना र कार्यक्रम बनाएर संगठन, महाधिवेशन, विचार निर्माण सँगैसँगै लिएर जाने मोटामोटी समझदारी भएको छ। हाम्रो पदाधिकारी बैठकमा खुलेर समग्र पाटोको विषयमा छलफल भयो।’ 

सबै कमिटी सानो आकारको बनाउने माओवादीको तयारी छ। पदाधिकारी बैठकमा शान्ति प्रक्रियापछिको १८ वर्षको अवधिमा पार्टी खिइँदै गएको, नेताहरु सत्तामुखी भएकोजस्ता असन्तुष्टिका आवाज उठेका थिए।

लगातार सत्तामा केन्द्रीत हुँदा पनि संगठन झन् कमजोर भएको भन्दै एकपटक फेरि नयाँ अभियान लिएर जाने विषयमा पदाधिकारी सहमत भएका छन्। 

पार्टी कमजोर हुनुमा आफ्नो पनि दोष रहेको स्वीकार गर्दै उपमहासचिव हरिबोल गजुरेलले सामूहिक राजीनामा आह्वान गर्दै पदबाट राजीनामा दिइसकेका छन्। यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन।

दुई पृष्ठका राजीनामा प्रचण्डलाई पेस गर्दै गजुरेलले निर्मम भएर पार्टीका समस्याबारे गम्भीर छलफल गर्न प्रस्ताव गरेका छन्। 

त्यस्तै, महासचिव देव गुरुङले संगठन सञ्चालन गर्न नसक्ने आवाज पनि पार्टीभित्र उठिरहेको छ। केही नेताहरुले कांग्रेस र एमालेजस्ता बलिया संगठन भएका पार्टीसँग मुकाबिला गर्न जानकार र प्रभावशाली महासचिव हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई घच्घच्याइ रहेका छन्।

‘एउटा मात्र नेताको जिम्मेवारी परिवर्तन गर्न मिलेन त्यही भएर सबै समिति विघटन गरेर विशेष महाधिवेशनमा जाने योजना अध्यक्षको छ,’ अर्का पदाधिकारीले भने, ‘यसबारे हल्लाखल्ला गर्ने भन्दा पनि स्थायी र केन्द्रीय समितिको निर्णय कुर्नुपर्छ।’

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी लगायतसँग गठबन्धन बनाएर चुनाव लडेको माओवादीले देशभर राम्रो सिट जित्न सकेको थिएन।

त्यही भएर साउन दोस्रो हप्ता बसेको पदाधिकारी बैठकले आगामी ०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ।

‘एक्लै चुनाव लड्न संगठन बलियो हुनुपर्छ, नेताहरुबीच सौहाद्र्रपूर्ण सम्बन्ध हुनुपर्छ, जनयुद्धकालीन संगठन नहुँदा पार्टी कमजोर भएको निष्कर्ष निकालेका छौँ,’ शर्मा भन्छन्, ‘अब एकपटक फेरि संगठन बलियो बनाउन खटिन्छौँ।

पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले जनताको समस्या बुझ्न देश दौडाहामा जाने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .