नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज भोलि नै राजनीतिक दलहरू मिल्छन् भन्ने नसोच्न आग्रह गरेका छन्।
शनिबार काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले पछिल्लो सत्ता समीकरण फेरिएको मात्र भन्दै अहिले नै वैचारिक रुपमा पार्टी एकताको बिन्दुमा नपुगिसकेको बताए।
उनले कार्यकर्तालाई आफ्नै पार्टी बलियो बनाउन समेत आग्रह गरेका छन्।
‘आज भोलि नै छिट्टै नै यो पार्टीहरू मिल्ने भए भन्ने कसैले नठानिरहे हुन्छ। म बासी कुरा गरिरहेको छैन। ताजा कुरा गरिरहेको छु,’ अध्यक्ष नेपालले भने।
एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र समेत रहेको काभ्रेमा एकीकृत समाजवादी कमजोर नभएको उनको दाबी छ।
‘यो पार्टीलाई बलियो बन्यो भने अरुसँग हात मिलाउँदा पनि जोसिलो सँग हात मिलाउन सकिन्छ्। खुट्टा दह्रो बनाउनका लागि आफू बलियो हुनुपर्छ। आज जुन उपस्थिति देखाउनु भएको छ। काभ्रेमा एकीकृत समाजवादी कमजोर छैन भन्ने देखाउनुभएको छ। काभ्रेमा एकीकृत समाजवादी कमजोर छैन,’ अध्यक्ष नेपालले भने।
केही समय अघि गोरखामा एउटा कार्यक्रममा पुग्दा आफ्नो पार्टीबारे चिया पसलमा बसेर गरेको गफ समेत उनले अधिवेशनमा सहभागी कार्यकर्ताहरूलाई सुनाएका थिए।
‘गोरखा जाँदा एकीकृत समाजवादीको कार्यक्रम छ, ४ ५ सय मान्छे आउँछन् कि आउँदैनन् भनेर पसलमा कुरा गरिहेका रहेछन्। मान्छेको कुहिरो लाग्न थालेपछि बल्ल बोलाएको ठाउँमा जान थाले,’ अध्यक्ष नेपालले भने।
पछि तत्कालिन सत्ता सहयात्री दल नेपाली कांग्रेसका एकजना नेता आफ्नो पार्टीको कार्यक्रममा देखेको जनलहर देखेर अचम्मित भएको पनि उनले सुनाए।
‘नेपाली कांग्रेसका नेताले भन्नुभयो मलाई त यति मान्छे आउँछन् भन्ने सोचेकै थिएनन्,’ नेपालले सुनाए।
शनिबार काभ्रे पुग्दैगर्दा आफ्नो पार्टीको अधिवेशनमा उपस्थित भिडले अझै सशक्त बनाउन बल पुर्याउने उनको भनाई छ।
Shares
प्रतिक्रिया