ad ad

राजनीति


संसद्‌मा एमालेको आक्रोशः प्रधानमन्त्री खोज्न आयोग गठन गर्नुपर्ने हो?

संसद्‌मा एमालेको आक्रोशः प्रधानमन्त्री खोज्न आयोग गठन गर्नुपर्ने हो?

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:१०, काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले सभामुखको रुलिङको बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गरेको छ।

सभाको आज बसेको बैठकको सुरुमै एमालेलगायत प्रतिपक्षी दलका सांसदहरू उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए।

लगत्तै सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका तर्फबाट एमाले सांसद सूर्यबहादुर थापा क्षत्रीलाई बोल्नका लागि समय दिएका थिए।
उनले बारम्बार सदनले रुलिङ गर्दा पनि जवाफ दिन प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाए।

सभामुखले फागुन ६, १०, ११ र १४ गते निरन्तर रुलिङ गरे पनि सरकार जवाफदेही नभएको उनको टिप्पणी थियो।

‘गत १४ गतेको बैठकमै आगामी बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भनी सभामुखज्यूले रुलिङ गर्नुभएको हो,’ सांसद थापाले भने, ‘कताकता सुन्दै छु, प्रधानमन्त्रीजी छोरीको नगरपालिकातिर जानुभएको छ रे। खासमा कता जानुभएको हो? खोजी गर्नुपर्छ।’ 

भ्रष्टाचार मुद्दामा अख्तियारमा बयान दिन पुगेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा छानबिन समितिले दोषी किटान गरेका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र रामग्रामस्थित बुद्धको अस्ति धातु रहेको स्तुप क्षेत्र प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीलाई लामो अवधिको लिजमा दिने पर्यटनमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ। आजको बैठकमा पनि एमालेले सोही अडान दोहोर्‍याएका हो।  

एमाले सांसद थापापछि राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले मिटरब्याजपीडित लगायतका समस्याप्रति सरकार जवाफदेही नभएको भन्दै अहिलेकै अवस्थामा सदनको कामकारबाही अगाडि बढाउनुको अर्थ नहुने बताएका थिए। कर्मकाण्डी संसदको कारबाही केही अर्थ नहुने उनको भनाइ थियो।

जनमत पार्टीका सीके राउतले पनि जनताका पीडाप्रति सरकारले बेवास्ता गरेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .