राजनीति


पेरिसडाँडामा नेताहरू प्रश्न गरिरहे, प्रचण्ड सुनिरहे

पेरिसडाँडामा नेताहरू प्रश्न गरिरहे, प्रचण्ड सुनिरहे

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८० मंगलबार १८:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समितिको मंगलबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेताहरूले नेपाली कांग्रेस, सत्ता गठबन्धन र राष्ट्रिय सभा अध्यक्ष चुनाव लगायतबारे प्रष्ट पार्न माग गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार साढे तीन घण्टा बसेको बैठक मुख्यगरी कांग्रेस महासमिति बैठक (फागुन ७–१०) का केही नीतिगत निर्णयहरूमा केन्द्रित रह्यो। 

ललितपुरको गोदावरीमा सकिएको कांग्रेसको महासमिति बैठकबाट महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव पारित भए छ।

आगामी चुनावमा कुनै दलसँग पनि गठबन्धन नगर्ने, रुख चिन्हमै मत हाल्न दिने प्रस्ताव पारित भएको छ। यसले माओवादीका स्थायी समिति सदस्यहरू आक्रोशित छन्।

उनीहरूले पेरिसडाँडास्थित बैठक कक्षमा प्रचण्डसँग त्यही असन्तुष्टि पोखे। 

सचिव दीनानाथ शर्माका अनुसार नेताहरू कांग्रेसका पछिल्ला गतिविधिले रुष्ट मात्र छैनन्, यसबारे प्रष्ट जवाफ माग्नुपर्ने भन्दै अध्यक्षको ध्यानाकर्षण गराए।

कांग्रेसको महासमिति बैठकस्थल बाहिर स्टल नै राखेर हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर संकलन भएको थियो। जसमा केन्द्रीय सदस्य डा. शशांक कोइरालासहित १२ सयले हस्ताक्षर गरेका छन्।

कांग्रेसभित्र छिरेको धर्मनिरपेक्षताविरोधी अभियानले माओवादी नेताहरू झस्किएका छन्।

मंगलबारको बैठकमा तीन महिने रुपान्तरण अभियान, नेताहरूको प्रदेश इन्चार्ज हेरफेर र चैत १–१५ मा हुने तराई-मधेस हुलाकी मार्ग जागरण अभियान र वैशाख १–१५ हिमाल, पहाड र तराई जोड्नेगरी गर्न लागेको अभियान लगायत तीन एजेण्डा थिए।

आजको बैठकबाट प्रदेश इन्चार्जहरू हेरफेरका लागि नाम प्रस्ताव भएको छ।

त्यसपछि भने स्थायी समिति सदस्यहरूले कांग्रेस महासमिति बैठकमा भएका केही निर्णयहरूबारे गम्भीर रुपमा कुरा उठाए। 

स्थायी समिति सदस्य ओनसरी घर्तीका अनुसार बैठकमा गम्भीर रुपमा कांग्रेसको निर्णयको भित्री कुरा प्रष्ट पार्नुपर्ने कुरा उठेको छ।

माओवादी जनयुद्धलाई ध्वंसात्मक घटना भनेर कांग्रेसका केही नेताको अभिव्यक्ति स्वभाविक नभएको कुरा उठेको उनले बताइन।

‘संविधानविरुद्ध धावा बोल्नेगरी कांग्रेसले निर्णय गरेको छ, यसले गठबन्धनको सहमति र सहकार्य व्रेक गर्ने काम गर्‍यो,’ घर्तीले भनिन्, ‘२०६३ सालमै माओवादीको जनयुद्ध स्वीकार गरेर कांग्रेसले माओवादीसँग सहकार्य गरेको होइन, त्यसबेला जनयुद्ध मान्ने अहिले नमान्ने हुन्छ? यसले कांग्रेसले निहुँ खोजेको देखियो, यसबारे प्रष्ट धारणा आउनुपर्छ।’

माओवादीको स्थायी समितिमा ४४ सदस्य छन्। नेताहरू कांग्रेस र गठबन्धनमै केन्द्रीत भएर बोल्न थालेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। 

‘कांग्रेसको दृष्टिकोणबारे प्रष्ट नभई अघि बढेर मात्र हुँदैन, माओवादीले कांग्रेसका नेताहरूको पछिल्ला अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको छ। यो सिरियस विषयमा स्वभाविक रुपमा कांग्रेसको शीर्ष तहबाट स्पष्ट पार्न अध्यक्षमार्फत ध्यानाकर्षण गराएका छौँ,’ उनले थपिन। 

सचिव शर्माले पनि गठबन्धनको ठूलो दलले गरेको निर्णय स्वभाविक नलागेको भनेर कुरा उठेको बताए। 

‘अधिकांश बोल्ने नेताहरू कांग्रेसले गठबन्धनमा असहयोग गरेको भन्दै साथीहरू असन्तुष्ट देखिनुभएको छ, उहाँहरूको प्रस्तुति पनि त्यस्तै थियो,’ सचिव शर्माले नेपालखबरसँग भने।

तर, प्रधानमन्त्री प्रचण्ड बोलेनन्। 

फेरि नेताहरूले राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने कुराबाट पछि नहट्न प्रचण्डको ध्यानाकर्षण गराए।

‘माओवादी राष्ट्रिय सभामा ठूलो दल हो, अब सहमति अनुसार प्रधानमन्त्री छोड्नैपर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थितिमा पुग्छौँ, त्यसो गर्नु हुँदैन,’ बैठकमा नेताहरूले उठाएको भनाई उधृत गर्दै सचिव शर्माले नेपालखबरसँग भने, ‘राष्ट्रिय सभा अध्यक्ष अनिवार्य हामीले लिनैपर्छ।’

राष्ट्रिय सभा अध्यक्षको चुनाव आगामी फागुन २९ गते हुँदैछ।

तर, प्रचण्डले कुनै प्रतिक्रिया दिएनन्। बोल्ने नेताका कुरा सुेनिमात्र रहे। बेला बेलामा डायरीमा लेख्थे।

‘आज अध्यक्ष केही बोल्नुभएन, तलबाट निकै गरमागरम विषय उठेपनि उहाँ (अध्यक्ष) चुपचाप सुनिमात्र रहनुभयो, प्रतिक्रिया दिनुभएको छैन, जवाफ पनि दिनुभएको छैन,’ शर्माले थपे।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उठाउने शीर्ष तहमा सहमति जुटेको बताइएको छ।

तर, कोसीमा आफ्ना उम्मेदवार पराजीत भएपछि माओवादी केन्द्रले अध्यक्षमा दाबी गर्न थालेका छन्। यसलाई माओवादीले अडानकै विषय बनाउने देखिएको छ। 

राष्ट्रिय सभा अध्यक्षको माग पनि प्रचण्डले छोड्न सक्ने आशंका गर्दै स्थायी समिति सदस्यहरूले चर्काे स्वरमा कुरा उठाए। 

‘अध्यक्षलाई साथीहरूले खबरदार गर्नुभयो,’ सचिव शर्माले भने, ‘हाम्रो अध्यक्ष एकदमै दिलदार हुनुहुन्छ। उहाँको उदारपन फेरि देखिनुभएन, अडानमा बस्नुपर‍्‍यो भनेर सबैले हलबाट भन्नुभयो।’

तर पनि प्रचण्ड बोलेनन्। खबरदारी सुनिसपछि उनी मुसुक्क मुस्कुराएर भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिन निस्किए। त्यसपछि मंगलबारको स्थायी समिति बैठक बुधबार बिहानसम्मलाई स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .