ad ad

राजनीति


भूमिगत हुनुभन्दा ४ दिनअघिको तस्बिरसहित बाबुरामले लेखेः जनयुद्धप्रति गर्व अनुभूति हुन्छ

भूमिगत हुनुभन्दा ४ दिनअघिको तस्बिरसहित बाबुरामले लेखेः जनयुद्धप्रति गर्व अनुभूति हुन्छ

बाबुरामका अनुसार यो फोटो दसवर्षे जनयुद्ध सुरु गर्न भूमिगत हुनुभन्दा चार दिन पहिले कान्तिपुरसँग कुराकानीका क्रममा खिचिएको हो।


नेपालखबर
फागुन १, २०८० मंगलबार १४:३१, काठमाडौँ

आठ वर्षअघि (२०७२) तत्कालीन नेकपा माओवादीबाट अलग भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज (फागुन १ गते) जनयुद्ध दिवसका दिन आफू सक्रिय रूपमा सहभागी १० वर्षे त्यो सशस्त्र संघर्ष सम्झिएका छन्। 

हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा. भट्टराईले त्यस्तो ऐतिहासिक जनयुद्धमा सहभागी हुन पाएकामा सधैँ गर्व लाग्ने उल्लेख गर्दै त्यस क्रममा भएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्। 

माओवादी सशस्त्र विद्रोहका लागि भूमिगत हुनुभन्दा ४ दिनअघि खिचिएको तस्बिरसहित डा. भट्टराईले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति हुन्छ। त्यो महान् जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा वेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान!’

नेपाललाई संसारले इतिहासमा दुईपटक चिनेको उल्लेख गर्दै उनले पहिलोपटक गोरखा राज्य विस्तारका क्रममा विश्वभर नेपालीको परिचय ‘वीर गोरखाली’का रूपमा स्थापित भएको र दोस्रोपटक माओवादी सशस्त्र युद्धले नेपाललाई संसारभर चिनाएको दाबी गरेका छन्। 

‘नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो’, उनले लेखेका छन्, ‘पहिलोपटक, अठारौँ/उन्नाइसौँ शताब्दीमा गोरखा राज्य–विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसँग लडेर संसारभर ‘वीर गोरखाली’को परिचय बनेको थियो’, डा. भट्टराईले लेखेका छन्, ‘दोस्रोपटक, बीसौँ शताब्दीको अन्त्य र एक्काइसौँ शताब्दीको सुरु (२०५२ फागुन १ गतेबाट २०६३ मंसिर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको बेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेको थियो।’

यस क्रममा उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलक्षित कटाक्ष पनि गरेका छन्।  

‘कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिँगा डुबेझैँ डुब्छन्’, उनले लेखेका छन्, ‘तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानव जातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्।’

उनले अगाडि भनेका छन्, ‘त्यसैले जनयुद्ध दिवसमा नयाँ प्रण गरौँ– हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौँ।  सुशासित, समुन्नत, समाजवादी नयाँ नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .