ad ad

राजनीति


वसन्त नेम्वाङलाई ‘ब्रेन स्ट्रोक’, मेडिसिटीको आईसीयूमा हुँदैछ उपचार

शरीरको दाहिने भाग चल्दैन, थ्रम्बेक्टोमी गरेर निकालियो रगत
वसन्त नेम्वाङलाई ‘ब्रेन स्ट्रोक’, मेडिसिटीको आईसीयूमा हुँदैछ उपचार

नेपालखबर
माघ १९, २०८० शुक्रबार १२:३७, काठमाडौँ

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका पूर्व भौतिकमन्त्री नेम्वाङ बसेकै ठाउँमा यही बुधबार एक्कासि ढलेका थिए।

फुङलिङमा एक्कासि बिरामी परेपछि उनलाई हेलिकप्टरमार्फत मेडिसिटी ल्याइएको थियो। नेम्वाङको सचिवालयका अुनसार अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ।

‘उहाँको हिजोभन्दा आज सेन्स (चेत) राम्रो हुँदै गएको छ,’ स्वकीय सचिव गणेश योञ्जनले भने, ‘शरीरको दायाँ भाग चलिरहेको छैन।’
नेम्वाङको उपचार मेडिसिटीको आईसीयूमा भइरहेको पनि उनले बताए।

‘अहिले आईसीयूमा  उपचार भइरहेको छ,’ उनले भने, ‘केही सुधार भएपछि क्याबिनमा राख्ने गरी चिकित्सकसँग कुराकानी भइरहेको छ।’

चिकित्सकहरूले कम्तीमा ७२ घन्टा आईसीयूमै उपचार गर्नुपर्ने बताएका छन्। नेम्वाङलाई बाहिरको खाना दिइएको छैन। ‘अस्पतालले नै उहाँलाई केही खाना खुवाएको छ, बाहिरको खाना दिइएको छैन।’

गत बुधबार खाना खाएर फुङलिङस्थित पाथिभरा गेस्ट हाउसमै बसेको ठाउँबाट उठ्न नसकेपछि नेम्वाङलाई सुरुमा जिल्ला अस्पताल पुर्‍याइएको थियो।  

त्यहाँ उपचार सम्भव नभएपछि नेम्वाङलाई हेलिकप्टरमार्फत ल्याइएको हो। नेम्वाङ नेकपा एमाले ताप्लेजुङका इन्चार्ज हुन्। उनी पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन्।

भएको के हो?
उपचारमा संलग्न चिकित्सकका अनुसार नेम्वाङलाई मेडिसिटी ल्याउनासाथ सुरुमा एमआरआई गरिएको थियो। 

एमआरआई रिपोर्टमा उनको मस्तिष्कको देब्रे भागको धमनीमा रगत जमेको देखियो। जसलाई चिकित्सकले ‘ब्रेन स्ट्रोक’ बताएका थिए।

स्वकीय सचिव योञ्जनका अनुसार ‘ब्रेन स्ट्रोक’ पुष्टि भएपछि उपचार थालिएको थियो। 

बिरामी परेपछि नेम्वाङको बोली पनि बन्द भएको थियो। योञ्जनका अनुसार अहिले केहीमात्रामा बोली सुरु भएको छ। ‘उहाँको सेन्स पनि राम्रो हुँदै गएको छ,’ उनले भने। 

चिकित्सकको टोलीले उनलाई क्याथल्याबमा राखेर मेकानिकल थ्रम्बेक्टोमी गरेको थियो। 

सामान्य भाषामा भन्दा मेकानिकल थ्रम्बेक्टोमी भनेको शरीरको नसाबाट तार छिराएर रगत जमेको स्थानमा पुगी त्यहाँको रगत झिक्ने प्रक्रिया हो। 

यो विधिबाट शल्यक्रिया नै नगरी जमेको रगत झिक्न सकिन्छ। नेम्वाङका अन्य स्वास्थ्य रिपोर्टहरू आउने क्रममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .