राजनीति


मन्त्री हेरफेरः कांग्रेसको निर्णय पर्खँदै प्रधानमन्त्री

संसदको हिउँदे अधिवेशन बोलाउने तयारी
मन्त्री हेरफेरः कांग्रेसको निर्णय पर्खँदै प्रधानमन्त्री

सागर न्यौपाने
माघ ७, २०८० आइतबार २१:५१, काठमाडौँ

सत्ताको मुख्य घटक नेपाली कांग्रेसले निर्णय नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिमण्डल हेरफेर गर्ने योजना पर धकेलिएको छ।

कार्यसम्पादन चित्तबुझ्दो नभएका मन्त्री हटाएर ‘गियर’ बदल्ने बताएका उनी अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको हरियो झन्डा कुरिरहेका छन्। 

मन्त्रीलाई राम्रोसँग काम गर्न प्रधानमन्त्री प्रचण्डले पुस पहिलो हप्ता एक महिनाको समय दिएका थिए, जुन पूरा भएको छ।
मन्त्रीहरूको ‘रिपोर्ट’ हातमा लिएर राखेका प्रधानमन्त्रीले तत्काल हेरफेर गर्न भने नपाउने भएका छन्। अझै कम्तीमा एक महिना यसैगरी गुज्रिन सक्ने देखिएको छ। 

कांग्रेसले निर्णय नगरेकैले मन्त्रिमण्डल हेरफेर रोकिएको बालुवाटार स्रोतले जनाएको छ।

‘मन्त्री फेरेरसरकारको कार्यलाई अझै गति दिने प्रधानमन्त्रीको योजना हो,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी तयार छन् तर कांग्रेसले निर्णय गर्न सकेको छैन।’

कांग्रेसले राष्ट्रिय सभा चुनावसम्म पर्खनु भनेकाले चुनावपछि समीक्षा हुने र प्रधानमन्त्रीले मन्त्रीहरूको कार्यप्रगति गठबन्धन बैठकमा पनि राख्ने ती अधिकारीले बताए।

राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदै छ। गठबन्धन १९ सिटमै जित्ने योजनासहित खटिएको छ।

प्रधानमन्त्रीसमक्ष प्रगति विवरण बुझाएका मन्त्रीहरूको चासो प्रधानमन्त्रीको आशय र भावभंगीमा केन्द्रित हुन थालेको छ। उनीहरूमध्ये कतिपय आफ्नो प्रगति सञ्चार माध्यममा देखाउन तल्लीन छन्। सञ्चार मन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किरातीले पत्रकार सम्मेलन नै गरी एक वर्षको प्रगति विवरण सार्वजनिक गरिसकेका छन्।

एकल निर्णय नगर्ने
सामान्यतः मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार मानिन्छ। तर सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेकाले प्रचण्ड एक्लैले मन्त्री हटाउने निर्णय नगरेका हुन्।

किनभने, एकल निर्णयका आधारमा मन्त्री फेरबदल गरेर उनी गठबन्धनमा समस्या ल्याउन चाहदैनन्।

कांग्रेस सभापति देउवा पनि राष्ट्रिय सभा निर्वाचनअघि मन्त्री फेरेर उनीहरूलाई बिच्क्याउने पक्षमा छैनन्।

कांग्रेसको आन्तरिक राजनीतिमा प्रभाव नपरोस् भन्नेमा उनी सचेत छन्।

कांग्रेसमा नेता शेखर कोइराला समूहले देउवासँग असन्तुष्ट नेतालाई विश्वासमा लिएर संसदीय समितिमा बहुमत पु¥याउने योजनाअनुसार काम गरिरहेको विषयमा देउवा जानकार छन्।

यही भएर उनी नयाँ मन्त्री पठाउने विषयलाई प्राथमिकतामा राखेका छैनन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीमा त्यसबारे कुनै छलफल नभएकोले समय लाग्ने बताए।

‘प्रधानमन्त्रीले शीर्ष नेतासँग मन्त्री हेरफेर गर्नुपर्ने बताउनुभएको रहेछ,’ विश्वर्माले नेपालखबरसँग भने, ‘यसबारे हाम्रो पार्टीमा औपचारिक छलफल भएकै छैन।’

प्रधानमन्त्रीलाई दिएको समयसीमामा राम्रो काम गर्ने मन्त्री दिएर वातावरण बनाउने दायित्व हाम्रो हो,’ विश्वकर्माले थपे, ‘तर, अहिले राष्ट्रिय सभा चुनाव पनि छ।’

हिउँदे अधिवेशन आह्वान हुँदै 
एक मन्त्रीका अनुसार राष्ट्रिय सभाको चुनावलगत्तै संसदको हिउँदे अधिवेशन बोलाउने तयारी छ।

‘माघको तेस्रो हप्ता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी छ, यसबारे अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ,’ ती मन्त्रीले भने, ‘सायद माघ १८ गतेतिरका लागि सिफारिस हुन सक्छ।’

त्यसपछि मन्त्री हेरफेरको विषय अघि बढ्न सक्ने ती मन्त्रीको भनाइ छ। 

कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले महासमिति बैठकअघि कांग्रेसले मन्त्री फेरबदल नगर्ने बताए। यसअघि पटकपटक सारिसकिएको महासमिति बैठकको तालिका फागुन ७ देखि १० सम्म तय गरिएको छ।

‘हुन त मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई हुन्छ,’ विश्वकर्माले भने, ‘गठबन्धनमा सबैलाई सहज हुने गरी एउटा निर्णयमा पुग्ने पनि हुन सक्छ। तर, सभापतिले अहिले मन्त्री नफेर्ने बताउनुभएको छ।’

सभापति देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने, ‘यस्तो बेला कहाँ मन्त्री फेर्नु? महासमिति बैठक छ, बैठकतिर लाग्ने बेला मन्त्री फेर्ने चक्करमा लागिँदैन भन्नुभयो।’

महासमिति बैठकलगत्तै कांग्रेसले मन्त्री फेर्न प्रधानमन्त्रीलाई नाम दिने उनको भनाइ छ। 

सुटुक्क फेरिएला? 
स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डले गठबन्धका शीर्ष नेताको सुझाव लिएर फ्याट्टै मन्त्री फेर्न सक्ने सम्भावना छ।

‘मन्त्री फेरबदलको हल्ला धेरै भयो, जसले गर्दा मन्त्रालयमा कर्मचारीबाट राम्रो सहयोग नपाएको गुनासो प्रधानमन्त्रीलाई आएको छ,’ सचिवालयका अधिकारीले भने, ‘अब कांग्रेसले मन्त्री हेरफेरका लागि सहमति दिएर नाम नदिएसम्म सार्वजनिक हुँदैन।’

पार्टीविशेष र व्यक्तिविशेषलाई हेरेर फेरबदल नगर्ने मनःस्थितिमा प्रधानमन्त्री पुगेका छन्।

‘प्रधानमन्त्रीले अब्जरर्भेसन गरेका आधारमा सेट नै फेर्ने योजना बनाउनुभएको हो,’ ती अधिकारीले थपे, ‘यो निर्णय जुनसुकै बेला हुन सक्छ।’

अनुगमनमा प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले युगान्डा भ्रमणपछि आफू काममा फर्किएको र मन्त्रीहरूलाई पनि काममा केन्द्रित हुनुपर्ने सन्देश दिन खोजिरहेका छन्। यही सिलसिलामा उनले राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमनलाई निरन्तरता दिँदै छन्।

सोमबार सिंहदरबारबाट सिक्टा र महाकाली सिँचाइ आयोजनाको भर्चुअल अनुगमन गर्न लागेका छन्।

‘युगान्डाबाट फर्केपछि प्रधानमन्त्री नियमित काममा लाग्नुभएको छ, भोलि केही आयोजनाको अनुगमन हुँदैछ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘प्रधानमन्त्रीको सक्रियता अब फेरि बढ्नेछ।’

पुस १० गते प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसर पारेर उनले मन्त्री फेरेर पनि सरकारलाई गति दिने दाबी गरेका थिए।

उनको चाहना पुसभित्रै ‘टिम’ हेरफेर गर्ने थियो। त्यसको सुरुवात उनले आफ्नै सचिवालयबाट गरे पनि। सचिवालयका १७ जनालाई हटाएर २ जना नयाँ सदस्य भित्र्याएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका ६८ जनालाई सरुवा गरी केही दरबन्दी समेत कटौतीमा पारिसकेका छन्।
कांग्रेस सभापति देउवाको सहमति पाउनेबित्तिकै उनको अबको निर्णय मन्त्रिपरिषद् हेरफेरको हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .