राजनीति


राष्ट्रिय सभा चुनाव : कोसी र मधेसमा गठबन्धनलाई ‘सरप्राइज’ दिने एमालेको दाउ

राष्ट्रिय सभा चुनाव : कोसी र मधेसमा गठबन्धनलाई ‘सरप्राइज’ दिने एमालेको दाउ

सागर न्यौपाने
माघ ४, २०८० बिहिबार २०:१४, काठमाडौँ

नेकपा एमालेले राष्ट्रिय सभाको रिक्त १९ वटै सिटमा उम्मेदवारी दिएको छ। तर, कोसी र मधेस प्रदेशलाई एमालेले मुख्य प्राथमिकतामा राखेको छ।

एमालेको ध्यान यी दुई प्रदेशमा ध्यान केन्द्रित गरेको सो पार्टीका नेताहरु बताउँछन्। कोसी पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश समेत हो। 

सत्ता गठबन्धनका दलले सबै सिट जित्ने मतभार देखिए पनि यी दुई प्रदेशमा अप्रत्याशित नतिजा ल्याउन सकिने एमालेको विश्लेषण छ। 

अन्य प्रदेशमा गठबन्धनको मतभार तलमाथि हुने सम्भावना न्यून देखिन्छ। 

कोसी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला राष्ट्रिय सभा उम्मेदवार छन्। यहाँ कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारसँग उनीहरुको प्रतिस्पर्धा हुनेछ। 

माओवादीका उम्मेदवारलाई कांग्रेसले सहयोग नगरे एमालेलाई फाइदा हुने आशामा सो पार्टीका नेताहरु छन्।

यसैगरी मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरी उम्मेदवार छन्।

सो प्रदेशमा कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवारसँग उनीहरुको प्रतिस्पर्धा हुनेछ।

कोसीमा सचिव रघुवीर महासेठ र मधेसमा सचिव योगेश भट्टराई प्रदेश इन्चार्ज छन्।

‘हामी कोसी र मधेसमा बढी फोकस्ड छौँ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अन्य ठाउँमा जित्न सम्भव छैन। तर, दुई स्थानमा नतिजा सोचेभन्दा फरक आउने आकलन गरेका छौँ।’

राष्ट्रिय सभाको नतिजा अन्यत्र बदल्न कठिन हुने ती नेताले बताए।

‘अहिलेसम्म विभिन्न प्रयास सफल भएन,’ उनले थपे, ‘अझै केही दिन त बाँकी छ। तर, खासै नतिजा उलटफेर गर्न सकिने देखिँदैन।’

एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभा चुनावको प्रचारको जिम्मेवारी इन्चार्जलाई दिएको बताए।

एमालेले बागमती बाहेक केन्द्रीय सचिवहरुलाई प्रदेशको इन्चार्ज बनाएको छ। लुम्बिनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा छन्। बागमती इन्चार्ज गुरु बराल छन्। 

राष्ट्रिय सभा चुनावकै लागि सचिवहरु खटिरहेको गौतमले जानकारी दिए। 

‘अहिले हामी सम्भावना भएका स्थानमा केन्द्रित छौँ,’ गौतमले भने, ‘सबै प्रदेशमा खटिनुभएका नेताबाट बुझ्ने काम भइरहेको छ।’

यी हुन् एमालेका १९ उम्मेदवार 
कोसी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला, मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरी उम्मेदवार छन्।

बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ।

अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन्। अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल, लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपेन्द्रबहादुर बिसी र महिलातर्फ तुलसाकुमारी केसी उम्मेदवार छन्।

कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट, दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली, गण्डकीकै अपाङ्गता÷अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा छन्। 

यसकारण एमालेको प्राथमिकतामा छ मधेस र कोसी 
२०७८ माघमा भएको राष्ट्रिय सभा चुनावमा पनि एमालेले गठबन्धनलाई ‘सरप्राइज’ दिएको थियो। त्यसबेला पनि अहिलेकै गठबन्धन थियो। १९ स्थानमै भएको चुनावमा एमालेले तत्कालीन प्रदेश १ बाट एक सिट मात्र जित्यो।

सत्ताधारी गठबन्धनकै नेतालाई हराएर एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए। त्यसबेला चामत्कारिक नतिजा आएको र कोसीले अप्ठेरो बेला पनि साथ दिएको एमाले नेता बताउँछन्।

कोसी प्रदेशमा महिला र अन्य क्लस्टरबाट निर्वाचित दुई जनाको ६ वर्षे कार्यकाल सकिएको छ।  त्यसकै लागि आगामी ११ गते चुनाव हुँदैछ।

राष्ट्रिय सभामा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८ मतभार छ।

यस्तै, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८ हुँदा राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ।

कोसी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार पार्टीले राष्ट्रिय सभाको चुनावमा कोसी प्रदेशलाई प्राथमिकता दिएको छ। गठबन्धनकै दलका मतदातालाई विश्वासमा लिन नेताहरु खटिएको उनी बताउँछन्। 

‘कोसी प्रदेशमा हाम्रो स्टे«न्थ सधैँ छ, विगतदेखि केही न केही नयाँ नतिजा हाम्रै पक्षमा ल्याएको छ,’ भण्डारीले भने, ‘यसपटक केन्द्रदेखि पहल भइराखेको छ, हेरौँ।’

मधेस
मधेस प्रदेशमा पार्टीको जनाधार बढ्दै गएको एमालेको विश्लेषण छ। २०७९ वैशाखको स्थानीय र मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विगतको विरासत फर्काएको नेताहरु दाबी गर्छन्। 

राष्ट्रिय सभाको चुनावका मतदाता स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख र प्रदेश सांसद भएकोले मधेसले नतिजा आफ्नो पक्षमा पार्नसक्ने एमालेको आकलन छ।

मधेसमा १०७ प्रदेशसभा सदस्य र १३६ स्थानीय तह  छन्। यसैगरी, २६७ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित कुल मतदाता ३७९ छन्। जसको कुल मतभार १० हजार ७४४ छ।

एमाले एक्लैको मधेस प्रदेशमा दुई हजार ३०२ मतभार छ। यस्तै, जसपा, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाबीच गठबन्धन रहेकाले यी दलसँग ७००१ मतभार छ। 

गठबन्धनकै एउटा घटक जनमत पार्टीले छुट्टै उम्मेदवार उठाएकाले एमालेले यसबाट लाभ लिनसक्ने विश्लेषण गरेको छ। जनमतको मतभार ७४३ छ।

लुम्बिनी इन्चार्ज पद्मा अर्यालले सबै दललाई मत मागिएको भए पनि नतिजाको विषयमा भनिहाल्न नसक्ने बताइन।

‘अहिले हाम्रा उम्मेदवारले मतदाता भेटिरहनुभएको छ, निर्वाचन पचिालन कमिटी नै खटिएको छ,’ अर्यालले नेपालखबरसँग भनिन्, ‘सबै राजनीतिक दलसँग अनुरोध गरेका छौँ, नतिजाबारे भनिहाल्न केही छैन।’

त्यसबाहेकका अन्य प्रदेशमा पदाधिकारी खटिएका छन्। कर्णालीमा खटिएका लेखराज भट्टले चुनावी छलफलमै रहेको जानकारी दिए।

‘म सुर्खेतमा चुनावी छलफलमा छु,’ उनले भने।
 
यस्तै, गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले पनि चुनावी तयारीमा रहेको बताए।

सत्ता गठबन्धनसँग ६ सिट मागेको एमालेले त्यो पाउने सम्भावना नरहेपछि सबै सिटमा उम्मेदवारी दिएको हो। जबकि आगामी फागुन २० गतेबाट एमालेका राष्ट्रपतिबाट मनोनित समेत ९ जनाको ६ वर्षे कार्यकाल सकिन लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .