राजनीति


सिटौला गृहमन्त्री कि राष्ट्रिय सभा अध्यक्ष?

राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भइसक्योः कांग्रेस, भएकै छैनः माओवादी
सिटौला गृहमन्त्री कि राष्ट्रिय सभा अध्यक्ष?

सागर न्यौपाने
माघ १, २०८० सोमबार २१:३१, काठमाडौँ

राष्ट्रिय सभामा रिक्त हुने १९ पदको नतिजा लगभग प्रस्ट छ। गठबन्धनमा कुनै नाटकीय परिवर्तन नआए १९ सिटमै सत्तापक्षका उम्मेदवार निर्वाचित हुने मतभारले देखाउँछ।

राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल पक्का गर्नेमध्येमै पर्छन्, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला। उनी चुनाव जितेपछि मन्त्री बन्छन् कि राष्ट्रिय सभा अध्यक्ष?

अहिले गठबन्धनभित्र यस प्रश्नले ठाउँ पाएको छ।

राजनीतिमा सबै सम्भावना हुन्छ। उनलाई पनि कुनै न कुनै अवसर मिल्छ नै। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा चुनावपछि मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गरेका छन्। यस्तो बेला सिटौलालाई मन्त्री बन्ने अवसर पनि प्राप्त हुन सक्छ।

नेताहरूका अनुसार, गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कांग्रेस पहिलेजस्तो धेरै असन्तुष्ट त छैन। तर मन्त्रीपरिषद पुनर्गठन हुँदा उनी पनि एक वर्ष मन्त्री भइसकेकाले फेरबदलमा जाने नेताहरू बताउँछन्। कांग्रेसको दाबी पनि गृहमन्त्रीमै छ।

राष्ट्रिय सभा चुनाव पनि जित्ने, प्रधानमन्त्रीले मन्त्री पनि फेर्ने र कांग्रेसले गृहमा दाबी पनि गर्ने भएकाले सिटौलाको चर्चा स्वाभाविक हुने उनीनिकट नेताहरू बताउँछन्।

गृहमन्त्री श्रेष्ठले कांग्रेस नेताहरूलाई गम्भीर फौजदारी कसुरको अनुसन्धानमा तानेको तर माओवादी नेताहरूलाई छानीछानी उम्काएको भनेर कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै असन्तोष प्रकट भएको थियो। त्यो असन्तोष केही मत्थर भएपनि पूरै मरिसकेको छैन। 

सभापति शेरबहादुर देउवासमेत अब जसरी पनि कांग्रेसले गृहमन्त्री लिनुपर्ने पक्षमा छन्। त्यसमा पनि आफ्नो विश्वासिलो प्रतिनिधि पठाउन चाहेका छन्, जसले प्रचण्डलगायत नेताहरूलाई पनि सन्तुलनमा राखेर काम गर्न सकोस्।

यसरी हेर्दा देउवा र प्रचण्डको साझा रोजाइ सिटौला बन्न सक्ने एकथरीको आकलन छ।

प्रचण्डसँगको त्यो नाता
०६३ साल वैशाख १९ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा सिटौला गृहमन्त्री थिए।

उनले तत्कालीन विद्रोही माओवादीका प्रभावशाली अध्यक्ष एवं जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्ड र अर्का नेता बाबुराम भट्टराईलाई ०६३ असारमा हेलिकप्टरबाट काठमाडौं ल्याएका थिए।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले गिरिजाप्रसादको सारथि बनेर भूमिका खेले। 

त्यसबेला उनको चलाखीपूर्ण भूमिकाले पनि शान्ति प्रक्रिया अघि बढाउन र माओवादी संसदीय राजनीतिमा अवतरण गराउन भूमिका खेलेको विश्लेषण हुने गरेको छ।

यस्तै, नेताहरूको मन जित्न पनि उनी सिपालु छन्।

गिरिजाप्रसादले दिएको अवसर
२०५७ माघमा कांग्रेसकै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हेरफेर हुँदा उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए। 

कोइरालाले निकै विश्वास गरेका पार्टी सहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलायो। त्यसबाट कोइराला खेमालाई क्षति पुग्यो। त्यहीबेला जोशीनिकट सिटौलालाई कोइरालाले विश्वास गरे र अवसर दिए।

कोइरालालको विश्वास जित्न सक्नु नै सिटौलाको राजनीतिक जीवनको नयाँ घुम्ती बन्न पुग्यो।

यसपछि सिटौला लगातार कोइरालासँगै रहे। माओवादीसँगको १२ बुँदे सम्झौतादेखि ०६२/६३ को आन्दोलन हुँदै शान्ति प्रक्रियासम्मका धेरै घटनाक्रममा कोइरालाले सिटौलालाई खटाएका थिए।

उनका लागि त्यो खटाइ माओवादी अध्यक्ष प्रचण्डदेखि अन्य शक्तिकेन्द्रहरूसँग सम्बन्ध विस्तारको अवसर बन्यो। नेताहरूलाई सहजै प्रभाव पार्न सक्ने उनको क्षमता र शैलीले पनि यसमा सघायो।

अहिले पनि सिटौला त्यही क्षमताका कारण कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसकै इतर खेमाका नेता शेखर कोइराला, प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताको जुनसुकैबेला मन जितेर गृहमन्त्री बन्न सक्ने उनलाई नजिकबाट चिन्ने नेताहरू बताउँछन्।

सहमति भइसक्योः कांग्रेस, भएकै छैनः माओवादी
सिटौलानिकट कोशी प्रदेश समिति सभापति उद्धव थापाले भने सिटौला राष्ट्रिय सभा अध्यक्ष नै बन्ने ठोकुवा गरे।

‘कृष्ण सिटौला गृहमन्त्री बन्नुहुन्न,’ थापाले नेपालखबरसँग भने, ‘संवैधानिक पद उहाँलाई दिन गठबन्धन तयार भइसकेको छ।’

राष्ट्रिय सभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ। 

माघ ११ गते पदावधि सकिन लागेका १९ सदस्यको चुनाव हुँदै छ। धेरै मतभार रहेकाले गठबन्धन अगाडि छ। 

सिटौलालाई गठबन्धनले अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाएको थापाको भनाइ छ। सिटौला कोशी प्रदेश सभा ‘अन्य’ समूहबाट उम्मेदवार छन्। 

मत नबिग्रियोस् भनेर उनी कोशीका १४ वटै जिल्ला पुगेर जनप्रतिनिधि भेटघाटको अभियानमा छन्। 

‘गठबन्धनले राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उहाँलाई (कृष्ण सिटौला) उम्मेदवार बनाएको हो,’ थापाले थपे, ‘यो भनेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनदेखि नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको सम्मान हो।’

संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सिटौलालाई अघि सार्ने निर्णय भएको थापाको भनाइ छ।

तर, गठबन्धनमा यसबारे कुनै निर्णय नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए। 

‘गठबन्धनका घटकबीच राष्ट्रिय सभा अध्यक्ष कसलाई बनाउने समझदारी बनिसकेको छैन,’ गुरुङले भने, ‘दलले आफ्नो ढंगले दाबी गरे पनि समय र परिस्थितिअनुसार निर्णय हुन्छ।’

कांग्रेस नेता शेखर कोइरालाले भने सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको बताए।

‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन हामीले उम्मेदवार बनाएका हौँ। हामी त हारेको मान्छे उठाउन नहुने पक्षमा थियौँ,’ उनले भने, ‘उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका, उहाँको योगदानको इतिहास हेरेर हामी सहमत भयौँ।’

कोइरालाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासहित शीर्ष नेतामा सहमति जुटेको दाबी गरे।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सिटौलाले राष्ट्रिय सभाको नेतृत्व गर्ने बताउँछन्।

‘शान्ति प्रक्रियाको अधुरो काम पूरा गर्न राष्ट्रिय सभाको नेतृत्वका रूपमा उहाँबाट अब योगदान हुनेछ,’ उनले भने।

तर, माओवादी केन्द्रका महासचिव गुरुङ भने राष्ट्रिय सभा अध्यक्षमा विभिन्न दलको चाहना रहेकोले निष्कर्षमा नपुगेको बताउँछन्। 

‘नेताहरूले आफ्ना पक्षका कुरा गर्छन्। २-३ वर्षपछिको पनि कुरा गर्छन् नि,’ गुरुङले थपे, ‘तर, अहिले राष्ट्रिय सभा अध्यक्ष चुन्ने होइन, राष्ट्रिय सभा सदस्य निर्वाचित गर्ने चुनाव हुँदै छ। अध्यक्ष छान्ने त फागुनमा हो। राष्ट्रिय सभा अध्यक्षको गठबन्धनमा कुरै आएको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .