राजनीति


तलबितल नपरोस् भनेर कोशीका चौधै जिल्ला धाउँदै सिटौला

तलबितल नपरोस् भनेर कोशीका चौधै जिल्ला धाउँदै सिटौला

सागर न्यौपाने
पुस २९, २०८० आइतबार २०:३०, काठमाडौँ

राष्ट्रिय सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौला यतिबेला मत माग्दै कोशी प्रदेशको पहाड चढिरहेका छन्। चुनावको मिति नजिकिएसँगै जनप्रतिनिधि र सांसदसँग मत माग्दै उनी जिल्लाजिल्ला घुमिरहेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुसँग सबै सिट जित्ने मतभार छ। कोशीमा पनि गठबन्धनको मतभार बढी छ। यद्यपि, सिटौला होसियारी अपनाउने पक्षमा देखिन्छन्।

त्यसैले, सिटौलाले कोशीका १४ वटै जिल्लाका मतदातालाई भेटेर मत माग्ने नेपाली कांग्रेस कोशी प्रदेश समिति सभापति उद्धव थापाले बताए।

‘उहाँ चुनावी अभियानमा हिँडिसक्नुभयो,’ थापाले नेपालखबरसँग भने, ‘यतिबेला केही पहाडी जिल्ला पुगेर मतदाता भेटिरहनुभएको छ। यो क्रम चुनावसम्मै जारी रहनेछ।’

स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यले मत दिने भएकोले गठबन्धनको मतभार सिटौलाकै पक्षमा रहेको थापाले दाबी गरे।

‘आम नागरिकले मत दिने होइन, पार्टीबाट निर्वाचित जनप्रतिनिधिले मत दिने भएकोले यसमा गडबडी हुँदैन,’ उनले थपे, ‘हाम्रो मतभार नै बढी छ। मतदाता सबै कुनै न कुनै पार्टीको आन्तरिक नेतृत्व तहमा हुनुहुन्छ, त्यसले गर्दा उहाँलाई मत आउला कि नआउला भनेर शंका, उपशंका छैन।’

तर, सिटौला ढुक्क देखिएका छैनन्। किनभने उनको उम्मेदवारीलाई लिएर पार्टीभित्रै विवाद देखिएको थियो।  संस्थापनइतर समूहले गएको १४ औँ निर्वाचनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरेको भन्दै सिटौलालाई उम्मेदवार बन्न नदिन जोड गरेको थियो। 

काठमाडौँको बत्तीसपुतलीमा शेखर कोइराला, गगनकुमार थापा लगायत नेताहरुले समूहको भेला राखी उम्मेदवारका लागि मापदण्ड बनाउन माग समेत गरेको थियो। त्यसमा प्रतिनिधि सभा निर्वाचनमा पराजित उम्मेदवारलाई राष्ट्रिय सभाको टिकट दिन नहुने माग पनि थियो। उनी गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको चुनावमा झापा–३ बाट पराजित भएका थिए। 

तर, सिटौला शेखर, गगन, विश्वप्रकाश शर्मालगायत नेताहरुलाई भेटेर आफ्नो उम्मेदवारीका लागि राजी गराउन सफल भए।

सिटौलाले कांग्रेसका सबैद पक्ष मिलाएको र आम सर्वसम्मति कायम भएको कांग्रेस नेता गुरु घिमिरेले बताए। उनले सिटौलाको पक्षमा सबै एक ढिक्का रहेको दाबी गरे।

राष्ट्रिय सभाको नेतृत्वमा जान लागेको र राजनीतिक जीवनको उत्तराद्र्ध पनि भएकोले कुनै विवाद नभएको र पार्टीभित्रको आन्तरिक गुट पनि सिटौलाकै पक्षमा रहेको उनी बताउँछन्। 

‘सहजै जित्नुहुन्छ, मतभारभन्दा बढेर मत आउँछ,’ घिमिरेले नेपालखबरसँग भने, ‘केही भोट थप्नुहुन्छ। पूर्वमा नातागोता हुन्छन्। गोप्य मतदान हुने भएकोले बढ्छ। झापा, पहाडतिर इलाम, पाँचथर तेह्रथुमतिर भोट बढेर आउँछ। हार्ने होइन मत तल हुने समेत चान्स छैन।’

तर, अन्य प्रदेशको तुलनामा कोशीमा गठबन्धन र अन्य दलबीचको मतभार अन्तर झिनो छ। प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। प्रतिसांसद ५३ मतभार तय भएकोले गठबन्धनको कुल मतभार २,४९१ छ। 

यसैगरी, स्थानीय तहमा कांग्रेसका ११५, माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख छन्।  

यसमा कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९,  एकीकृत समाजवादीको १३३, जसपाको ७६ मतभार छ।

प्रदेश सभा र स्थानीय तह दुवैतर्फ गठबन्धनको कुल  मतभार ५,४७४ छ। राष्ट्रिय सभा जित्नका लागि यही मतभार प्रर्याप्त रहेको थापाले ठोकुवा गरे। 

तर, कोशी प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले गठबन्धनभित्रको असन्तुष्टि बुझ्ने प्रयासमा रहेको बताए। 

प्रदेश सभा सदस्य र स्थानीय तहतर्फ एमालेको कुल मतभार चार हजार २१० छ। राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ।

एमालेको भन्दा एक हजार २६४ मतभारले गठबन्धन अघि रहेकोले नतिजा आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको उनी बताउँछन्।

‘कृष्ण सिटौलालाई गठबन्धनका सबैले भोट हाल्छन् नै भन्ने छैन, कांग्रेसमै उनलाई सबैले स्वीकार नगरेको सुनिन्छ,’ भण्डारीले भने, ‘हाम्रो मात्र भोटले हराउन सम्भव हुँदैन। अन्य पार्टीले साथ दिनुप¥यो। त्यसका लागि यहाँबाट भन्दा पनि केन्द्रबाट पहल भइराखेको सुनिएको छ। केही न केही छलफल भएकै छ।’

कांग्रेस कोशी प्रदेश सभापति एवं कोशीका सांसद समेत रहेका उद्धव थापा सिटौलालाई जिताउन शेखर कोइराला आफैँ खटिएको दाबी गर्छन्। 

‘शेखर दाइ अहिले उहाँलाई भोट मागेर हिँड्नुभएको छ,’ उनले भने, ‘उहाँलाई रोक्न होइन, अरु साथीहरुले पनि पहिचानका लागि उम्मेदवार बन्न रहर गरेपछि केहीको नाम सिफारिस गरिएको हो।’

उनको दाबी अनुसार सिटौलाको नाम अन्य उम्मेदवारभन्दा पहिला नै तय भइसकेको थियो। 

‘प्रदेशबाट नाम सिफारिस गर्दा उहाँलाई एक नम्बरमै राखेर गरिएको छ,’ थापाले थपे, ‘बैठकमा आधा घण्टामै उहाँको नाममा सहमति जुट्यो। छलफल नै गर्नुपरेन।’ 

एमालेलाई राप्रपा र स्वतन्त्र दलले साथ दिएको अवस्थामा पनि सिटौला अगाडि छन्। अहिलेसम्म राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ र गठबन्धन एकैठाउँमा भएसम्म सिटौला बलिया छन्।

तर प्रमुख सचेतक भण्डारीले गठबन्धनबाट मत तान्ने प्रक्रिया चुनाव हुने अघिल्लो दिनसम्म चल्ने बताए। 

‘माघको ६÷७ गतेतिर मात्र थाहा हुन्छ, हामी कोसिस गरिरहेका छौँ,’ उनले भने, ‘गठबन्धनभित्र क–कसको असन्तुष्टि छ, हेर्दैछौँ। त्यसमा अन्य पार्टी जोडिन्छन्, जोडिँदैनन् हेर्छौं।’ 

नेता गुरु घिमिरे पनि तीन कारणले सिटौला बलियो उम्मेदवार भएको बताउँछन्।

‘गठबन्धन एकढिक्का छ, कांग्रेसभित्र सिटौलालाई अघि सार्ने कुरामा केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका नेताहरु एकैठाउँ उभिनुभयो,’ घिमिरेदले भने, ‘र, गठबन्धनबाहिरका केही जनप्रतिनिधि उहाँकै पक्षमा खुल्नुभयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .