राजनीति


सरकारकै कारण सामाजिक अराजकता बढ्यो : शंकर पोखरेल

सरकारकै कारण सामाजिक अराजकता बढ्यो : शंकर पोखरेल

नेपालखबर
पुस २६, २०८० बिहिबार ८:१८, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार शान्ति सुरक्षाका नाममा नागरिक हत्यामा उत्रिएको आरोप लगाएका छन्। 

बुधबार साँझ पार्टी कार्यालय च्यासल ललितपुरमा सञ्चारकर्मीसँग कुरागर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भएको बताए।

 ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ’, पोखरेलले भने, ‘कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवाद पछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने देखिएको छ। यसले सरकार नागरिक प्रति कति संवेदनशील छ भने कुराको पुष्टि गर्छ।’

निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौँ भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गरेको आरोप उनले लगाए। ‘यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरेको छ,’ उनले भने।

सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ भनेर सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या गरेको आरोप उनले लगाए।

‘सरकार चाहे कोशी प्रदेशको नामका सन्दर्भमा होस् वा गौर घटना र अन्य घटनामा होस्, गैर जिम्मेवार तरिकाबाट समाजलाई गलत बाटोमा लैजाने काम गरिरहेको उनले भने, ‘सरकार आफैँले सामाजिक अराजकता फिँजाउने काम गरिरहेको छ।’ 

समाजमा फैलिएको अराजकताका कारण नागरिकमा व्यापक निराशा बढेको दाबी उनले गरे। सत्ताद्वारा नै अराजकता सिर्जना गर्न भूमिका खेल्ने काम भएको टिप्पणी उनले थियो। पोखरेलले यस्ता काम नदोहोर्‍याउन सरकारलाई आग्रह गरे।

सरकारको कमजोरीका कारण देशमा विभिन्न काण्ड भएको भन्दै उनले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने काम सरकारले गरिरहेको बताए।  ‘सरकारका गलत नीति र क्रियाकलापका विरुद्ध जनताले खबरदारी गर्ने बेला आएको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .