ad ad

राजनीति


मन्त्री साउदको प्रशंसा गर्दै कांग्रेसले भन्यो : परराष्ट्र सम्बन्ध राम्रो हुँदै छ

मन्त्री साउदको प्रशंसा गर्दै कांग्रेसले भन्यो : परराष्ट्र सम्बन्ध राम्रो हुँदै छ

फाइल तस्बिर


नेपालखबर
पुस १५, २०८० आइतबार १४:५५, काठमाडौँ

सत्ता साझेदार नेपाली कांग्रसले गठबन्धन सरकार आएदेखि नेपालको परराष्ट्र सम्बन्धमा सुधार हुँदै गएको जनाएको छ।

शनिबारसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले परराष्ट्र सम्बन्ध राम्रो बन्दै गएको निष्कर्ष निकालेको हो। 

‘यस अवधिमा नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको छ। संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण सम्पन्न भयो’, कांग्रेसले आइतबार भनेको छ, ‘नेपाली कामदार भएका मुलुकमा राजदूतावास खोल्ने कार्य आफैँमा प्रशंसनीय छ।’

कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउदको भूमिकाको पनि प्रशंसा गरेको छ। गत असोजमा हमासले इजरायलमा आक्रमण गरेपछि संकटमा परेका नेपालीको उद्धारमा साउद आफैं जहाज लिए गएकोमा कांग्रेसले प्रशंसा गरेको हो। 

‘हमास-इजरायल युद्धका क्रममा हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपद्मा परेका सयौं नेपाली विद्यार्थीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री (एनपी साउद) नेपाली ध्वजावाहक विमान लिएर आफैँ युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसूस गराएको छ भने अन्तर्राष्ट्रिय जगतमा नेपालको शाख वृद्धि भएको छ’, कांग्रेसले भनेको छ। 

कांग्रेसले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाई गर्न पनि भनेको छ।

रूस–युक्रेन युद्धमा रूसी सेनामा भर्ना भई युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कूटनैतिक पहल गर्नु पर्ने आवश्यकता पनि कांग्रेसले औँल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .