राजनीति


वर्षमान नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले भने- सहिद मार्ग निर्माण तत्काल अघि बढाउन आजै निर्देशन दिन्छु

वर्षमान नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले भने- सहिद मार्ग निर्माण तत्काल अघि बढाउन आजै निर्देशन दिन्छु

नेपालखबर
पुस ५, २०८० बिहिबार १४:७, काठमाडौँ

रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण निर्माणाधीन सहिद  मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो।

आर्थिक वर्ष ०६४/०६५ देखि सुरु दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम-मैकोटसम्मको सहिद मार्ग निर्माणले अझै पूर्णता नपाएकामा प्रचण्डको गम्भीर ध्यानाकर्षण गराइएको नेता पुनले जानकारी दिए।

उक्त सडकखण्डअन्तर्गत हाल होलेरी-दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट-घर्तीगाउँ-दुई खोली-खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा आयोजनाले अपेक्षित गति लिन नसकेकोबारे प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई जानकारी गरायो। 

यस्तै हुकाम-मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ। विगतमा घोराही-होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्द गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरिएको छ। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए। उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा सहिद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए।

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटार पुगका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .