राजनीति


माओवादी–नेसपा एकता कसरत : निर्णायक वार्तामा बस्दै प्रचण्ड–बाबुराम

माओवादी–नेसपा एकता कसरत : निर्णायक वार्तामा बस्दै प्रचण्ड–बाबुराम

सागर न्यौपाने
मंसिर ३, २०८० आइतबार २२:९, काठमाडौँ

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकता गर्न दुई अध्यक्षबीच निर्णायक वार्ता हुने भएको छ।

दुवै पक्षका नेताहरुले नेपालखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल गरेपछि एकताबारे अन्तिम निर्णय हुनेछ।

प्रचण्ड र भट्टराईबीच मंसिर १ गते बालुवाटारमा छलफल भएको थियो। 

माओवादीसँगको एकताबाट निकै पर पुगिसकेका भट्टराई त्यसपछि फेरि नयाँ शिराबाट अघि बढ्न संकेत दिएका छन्। 

शुक्रबार भएको छलफलका धेरै विषय सार्वजनिक भएको छैन। माओवादी महासचिव देवप्रसाद गुरुङले दुई अध्यक्षबीच भेट भएको बताए।

‘पार्टी एकताको प्रयासमा जुट्ने विषयमा छलफल भएको हुनसक्छ,’ गुरुङले नेपालखबरसँग भने। अब भने वैचारिक र सैद्धान्तिक विषयमा सहमति जुटाउन दुबै अध्यक्षबीच निर्णायक छलफल हुने नेसपा केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए।

आइतबार बसेको दुई पार्टीको वार्ता संयोजन समितिको बैठकले पनि एकताबारे निर्णय नगरी प्रचण्ड–बाबुरामबीच छलफल गर्न सुझाव दिएको छ।

‘पार्टीको उच्च नेतासँगै बसेर मात्र निर्णय गर्न सुझाव छ,’ पोखरेलले भने, ‘वार्ता समितिका नेताको सुझाव त्यही छ।’

उनका अनुसार आगामी ६ र ७ गते काठमाडौंको रोयल जडिबुटी बेङ्वेटमा नेसपाको केन्द्रीय समिति बैठक राखिएको छ।

त्यो बैठकमा एकताको एजेण्डा समेत राखिने उनले बताए। ‘बैठक अघि नै पनि प्रधानमन्त्री प्रचण्ड र डा.सावबीच छलफल हुनसक्छ,’ उनले थपे।

माओवादी महासचिव गुरुङले पनि एकताको पहल र प्रयास गर्न शीर्ष नेता नै संवादमा जुट्न लागेको बताए।  ‘एकताको निर्णय त दुईदलका नेताले नै गर्ने हो नि,’ गुरुङले भने।

होलान त बाबुराम यू टर्न?
एकतागर्ने योजनासहित नेपाल समाजवादी पार्टीले एक वर्ष अघि माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रदेश र प्रतिनिधि सभाको चुनाव लड्यो।

सोही अनुसार नेसपा अध्यक्ष डा. भट्टराईले एकताको लागि ९ बुँदे पत्र पठाए।

तर, ८ महिना वित्दापनि त्यसको जवाफ प्रचण्डले दिएनन्। बरु माओवादी महासचिव देव गुरुङले भदौ अन्तिम साता नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवलाई एकताको लागि आह्वान गर्दै पत्र पठाए ।

त्यसले भट्टराईलाई झन् बिच्कायो। उनी नेपालमा नभएको बेला पठाइएको सो पत्रपछि एकता प्रक्रिया रोकियो। त्यसबाहेक समाजवादी मोर्चा बनाउने बेला प्रचण्डले बाबुराम भट्टराईलाई सुरुमै समेटेनन्।

जबकि समाजवादी मोर्चाको योजनाकार भट्टराई नै थिए। उनकै योजनाअनुसार मोर्चा गठनको माहोल बनेको थियो।

तर, पहिलो चरणमा बनेको मोर्चामा नसमटिएपछि भट्टराईले माओवादीसँगको एकताभन्दा नेसपाको संगठन विस्तारमै जोड दिए र ६ महिने अभियान चलाए। 

एकवर्षदेखि रोकिएको एकता प्रक्रिया फेरि अघि बढेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ बताउँछन्।

बीचमा लामो समय रोकिएपनि अब शीर्ष तहमै छलफल हुने भएकोले एकता प्रक्रिया अघि बढेको उनको भनाई छ। 

नेसपामै दुई धार
माओवादीसँग एकता प्रक्रिया अवरुद्ध भएपछि बाबुराम भट्टराई एकता प्रक्रिया छोडेर नयाँ अभियान लिई देश दौडाहमा लागेका थिए।

तर, त्यही अवधिमा नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेता माओवादीसँगको एकतालाई निष्कर्षमा पुर्‍याउने भन्दै छलफलमा थिए।

तर, डा. भट्टराई छुटाउन नहुनेमा नेताहरु उभिए। माओवादीसँग मिल्न खोजेको भन्दै भट्टराई केहीसँग असन्तुष्ट थिए।

उनले माओवादीसँग मिल्न खोज्ने नेतालाई स्वतन्त्र छोडिदिए। तर, अन्य नेताले त्यो हिम्मत गरेनन्। बरु भट्टराईलाई मिलाउने प्रयास थाले।

सोही अनुसार मंसिर १ गते भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरे। आइतबार माओवादी र नेसपाका वार्ता समिति संयोजक बैठक बसे।

माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगा नारायण श्रेष्ठले विज्ञप्ती जारी गरे।

‘पार्टी एकता संयोजन समिति गठन गर्ने, समितिले दुवै पार्टीले उठाएको वैचारिक र नीतिगत विषयमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एकतापछि पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायत विषयमा सहमति खोज्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .