ad ad

राजनीति


विश्वप्रकाशको प्रश्न– रिगल आममाफीबारे नैतिक जिम्मेवारी कसले लिने?

विश्वप्रकाशको प्रश्न– रिगल आममाफीबारे नैतिक जिम्मेवारी कसले लिने?

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:१२, काठमाडौँ

चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी भयो। असोज ३ गते आममाफी पाएपछि मृतककी श्रीमती भारती मानन्धरले अनसन सुरु गरिन्।

सरकारले आममाफी दिएसँगै विभिन्न पक्षबाट सरकार र राष्ट्रपतिको आलोचना भयो। सरकारबिरुद्ध पीडित मानन्धरले सर्वोच्च अदालतमा रिट दायर भइ अहिले सर्वोच्च अदालतबाट सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले पुनः पक्राउ गरी बाँकी कैद सजाय भुक्तानी गर्न जेलमा पठाउने आदेश दिएसँगै रिगल पुनः जेल चलान भएका छन्।

तर यत्रो दिन बितिसक्दासमेत सरकारी पक्षबाट कुनै आत्मालोचना र गल्ती स्वीकार गरिएको छैन। त्यसैले पनि आम मानिसहरू सरकारप्रति अझै रुष्ट छन्। हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। 

अदालतले पुनः जेल चलान गर्न आदेश दिएसँगै सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गरेको आदेशले कैदमा बसेको व्यक्तिको कैद छुटको सन्दर्भमा देशमा भइरहेका बेथितिलाई लगाम लगाउन र थिति बसाउन यस घटना कोशेढुंगा सावित हुने बताएका छन्। 

साथै, उनले सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिन नसकेको पनि बताए। उनले अहिलेसम्म पनि सरकारले यस घटनाको नैतिक जिम्मेवारी लिइ आत्मलोचना र माफी समेत नमागेको पनि बताए। 

‘हाम्रो पार्टीको कानूनमन्त्री हुनुहुन्छ, पार्टीको उपभासपति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रीमण्डलमा उपप्रधानमन्त्री हुनुहुन्छ। कसैले जिम्मेवारी लिनुपर्दैन? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन? बोल्नुपर्दैन?,’ शर्माले भने, ‘राष्ट्रपतिको टेबुलमा पुग्दैगर्दा राष्ट्रपतिको टेबुलमा पनि राष्ट्रपतिको कार्यालयमा रहेको टिमले पनि कस्तो सिफारिसको कुरा आएको छ भनेर हेर्नुपर्दैन। कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो।’

सरकारले यस घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा अहिलेसम्म आत्मलोचना र जिम्मेवारी समेत नलिएकोप्रति दुःख व्यक्त गरे। यस घटनाको जिम्मेवारी लिने कोही छैन सरकारमा? भन्दै उनले प्रश्न गरे। 

उनले निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफी दिने प्रचलन विकसित देशमा पनि हुने गरेको भन्दै सरकारले जथाभावी गर्दा अदालतले हस्तक्षेप गर्ने यस किसिमका घटनालाई स्वभाविक मान्नुपर्ने बताए। उनले गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्ने भएपनि राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गरिरहेको बताए। 

‘कसैले राजीनामाको चरणमा पुग्न नसक्ने हो भने माफी मागेर आउनुपर्दथ्यो सरकारको तर्फबाट। त्यो पनि होइन भने आत्मलोचना हुनुपर्दैन। कोही छैन जिम्मेवारी लिने? यस्तो गम्भीर घटना हुने अनि राज्यले केही थाहा नपाएको जस्तो गरेर सबै राम्रो चलिरहेको छ भन्ने। यो अत्यन्तै गम्भीर घटना भएको छ। यसमा कसले हो जिम्मेवारी लिने? कोही नैतिक जिम्मेवारी लिने, पद त्याग गर्ने कोही जिम्मेवार व्यक्ति हुनुहुन्छ की हुनुहुन्न?,’ उनले भने।

उनले पीडितको परिवारजनले माफी दिन तयार नभएसम्म यस किसिमका घटनामा माफी दिनु नहुने पनि बताए। प्रधानमन्त्रीले यस घटनाको नैतिक जिम्मेवारी लिइ पदबाट राजीनामा गर्नुपर्ने उनको माग छ। यस घटनामा राष्ट्रपति कार्यालयले समेत हेलचेक्राँई गरेको उनको ठहर छ।

‘कतिपय यस्ता मुद्दाहरू हुन्छन्, जुन मुद्दाको सन्दर्भमा माफीमा जान पाइँदैन। कैद छुट गर्न पाइँदैन। सरकारले अहिले जे कैद छुट गयो, त्यो छुट गरिसकेपछि हामीले थाहा पाउँदै गर्दा कतिपयले के भन्नुहुन्छ भन्दा पार्टीको महामन्त्रीले त सरकारले कैद छुट गर्नभन्दा अघि नै रोक्नुपर्दथ्यो भन्छन्,’ उनले भनेका छन्, ‘तर वास्तविकता सरकारले निर्णय गरेकोमा पार्टीका महामन्त्रीको कुरा रहँदैन। पार्टीको कुरा के थियो, त्यो मुख्य कुरा हो। गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्छ। तर राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गर्दैछ।’

राष्ट्रपतिको कार्यालयले कस्तो सिफारिस हो भन्नेकुरामा ध्यान दिनुपर्ने बताए।

‘सम्मानित सर्वोच्च अदालतले कार्तिकको १६ गते जे आदेश ग¥यो कैदमा बसेको व्यक्तिको कैद छुटको सन्दर्भमा माफीको सन्दर्भमा यो वास्तवमै हाम्रो बेथितिलाई लगाम लगाउनलाई र थिति बसाउनलाई यो कोशेढुंगा सावित हुनेवाला छ। यो अत्यन्तै महत्वपूर्ण फैसला सम्मानित सर्वोच्च अदालतले गरेको छ। विकसित मुलुकमा पनि कैद सजाय पाएका मानिसहरुको सन्दर्भमा निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफीको प्रचलन हुन्छ,’ शर्माले भने।

कार्तिक १६ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको थियो।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ जनाएको छ। निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी माथि उल्लेख भए बमोजिमको कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारगारमा राखि कानून बमोजिम असुल गर्नु भनि प्रत्यर्थीहरुको नाममा परमादेश जारी हुने ठहर गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .