ad ad

राजनीति


कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु : ओली

कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु : ओली

तस्बिर : बालकोट


नेपालखबर
कात्तिक १३, २०८० सोमबार १७:५५, पोखरा

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले कम्बोडियाको टेलिकममा लगानी गरेको प्रमाणित गर्न सार्वजनिक चुनौती दिएका छन्। उनले प्रमाणित गर्नेलाई पुरस्कारको पनि घोषणा गरेका छन्।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्,’ उनले भने,‘ धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो।’

कुनै समय ओली निकट मानिने एमाले पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईंले केही दिनअघि केपी ओलीमाथि कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको आरोप लगाएका थिए।

एमाले गण्डकीको नवनिर्वाचित कमिटीको सपथ ग्रहण समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा उनले प्रसाईंको भनाइको प्रतिवाद गरेका हुन्।

भारतले हडपेको नेपाली भूभाग समेटेर नक्सा जारी गरेसँगै ३ वर्षअघि भारतीय मिडियाले गलत समाचार सम्प्रेषण गरेको र अहिले आएर त्यही अनर्गल समाचारसँग जोडेर आफ्नो र एमालेको चरित्रहत्याको प्रयत्न गरिएको उनको भनाइ थियो।

उनले भुस्याहा कुकुर र मान्छेको प्रसंग झिक्दै पेट सबैको हुने तर के खाने के नखाने भन्ने कुरामा प्रष्ट हुनपर्ने भन्दै राज्यको ढुकुटीबाट गलत ढंगले एक पैसा पनि नखाएको पनि बताए।

‘मुख सबैको हुन्छ तर के खाने के नखाने भन्ने हुन्छ। राज्यको ढुकुटीबाट एक पैसा खाँदैन एमाले, केपी ओली भ्रष्ट छ भनेपछि नेकपा एमालेको नेतृत्व भष्टाचारी हुन सक्दैन,’ उनले थपे, ‘म मरेर बाँचेको मान्छे हुँ। मैले सम्पत्ति कमाएर थुपार्नुपर्ने कोही छैन। मेरी श्रीमतीले आफ्नो सम्पत्ति राज्यलाई दिएका छौं। मैले भ्रष्टाचार गरेर, अपराध गरेर सन्तानलाई हुर्काउन पर्छ भन्ने पनि छैन। भगवानका कृपाले मेरा छोराछोरी छैनन्।’

उनले आफूले दुर्गा प्रसाईंलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गुहारेको कुरा पनि झुटो भएको बताए। ‘आवेश उत्तेजनामा जाने मान्छे हैन।  मैले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ, काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन। भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन,’ उनले भने।

‘देशमा डकैटी भएको छ’
एमाले अध्यक्ष ओलीले देश संस्थागत भ्रष्टाचारको चंगुलमा फसेको र राज्यसत्ताबाटै दिनदहाडै डकैटी गरिएको आरोप पनि लगाए।

‘देशको अवस्था गम्भीर छ। बनाउन धेरै समय लाग्छ तर बिगार्न छोटो समयमा सकिँदो रहेछ। आज राजनीतिक अस्थिरता छ। अनुशासनहीनता छ, अराजकता छ। आर्थिक रुपले देश टाट पल्टिने अवस्थामा छ। जम्माजम्मी बाहिर गएका हाम्रा भाइबहिनी, दाजुभाइले पठाएको रेमिट्यान्सबाट देश चलेको छ,’ उनले भने।

‘भन्सारबाट ३५ प्रतिशत कर उठ्दैन,तस्करी हुन्छ। एयरपोर्टबाट तस्करी हुन्छ, क्विन्टलका क्विन्टल तस्करी हुन्छ। बिजुलीको सिग्रेट भन्ने हुँदो रहेछ एयरपोर्टबाट पक्राउ गरियो  साढे ९ किलोग्राम सुन निस्कियो,’ उनले भने, ‘डकैटी भएको छ देशमा देशमा डकैटी भएको छ। एयरपोर्टबाट साढे ९ किलो सुन पक्राउ गरियो। अहिले २ किलो बाँकी रहेको छ। त्यो त्यहीबाट बाँडे, त्यहीबाट खाए, कहाँ पुर्‍याउने हो त्यहाँ पुर्‍याए।’

प्यानल बनाएकोप्रति असन्तुष्टि तर परिणाम स्वीकार
अध्यक्ष ओलीले एमाले गण्डकीको चुनावमा प्यानलसहित भएको प्रतिस्पर्धाप्रति पनि असन्तुष्टि जनाए।

‘प्यानल बनाएर चुनाव लड्नु भो। केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भयो। तपाईंले त्यो गर्न सक्नुभएन चुनाव लड्नु हो। मेरो सुझाव के हो भने यो विचारबीच प्रतिस्पर्धा हैन, यो उदेश्यको लडाइँ हो,’ उनले भने, ‘हामीले भनेको त्यस गन्तव्यमा पुग्न नदिने शक्तिसँग मुकाबिला गर्ने हो त्यसलाई पराजय गर्ने हो। यस क्रममा तपाईंको प्रतिस्पर्धामा स्वच्छता कमी भएको जनस्तरको टिप्पणी छ। त्यसमा तपाईं सचेत हुनुपर्छ। किनकि घाटा आफैंलाई हुन्छ। मुख्य कुरा भनेको एकता हो।’ 

उनले पार्टीले भनेको मिसन ८४ भनेको  एमालेको एकलौटी बहुमत हुने अवस्था भएको पनि बताए। ‘पार्टीले लुकाएर कुरा गरेको छैन, मिसन ८४ भनेको एकढंगले भन्ने हो भने एकलौटी गर्छ एमालेले। बुथ लुटेर हैन, जनमत जितेर एमलोले आफ्ना उम्मेदवारलाई जिताउँछ, हरेक वडामा एमालेको ५१ प्रशितशभन्दा माथि मत आउनुपर्छ त्यति मतदाता पु¥याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि एमाले,इमान्दार,अनुशासित र सक्रियतासाथ लाग्नुपर्छ। इमान्दारितासाथ लागिएन भने पूरा हुँदैन।’

उनले अगाडि थपे, ‘हाम्रा कमरेडलाई सुझाव दिन चाहन्छु, एकतामा जोड दिनुहोस्। पहिलो कुरा घमण्ड हुनुहुँदैन। घमण्ड भयो भने विनम्रता, शालिनता घमण्ड दिमागमा पस्यो भने त्यसले मान्छेलाई सिध्याउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .