ad ad

राजनीति


ओली-महतो मित्रता कस्ने यी पाँच कडी

ओली-महतो मित्रता कस्ने यी पाँच कडी

सागर न्यौपाने
माघ ७, २०७६ मंगलबार १४:५,

चार वर्षअघिसम्म एक-अर्काका कटु आलोचक रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी (राजपा) नेता राजेन्द्र महतोबीचको मित्रता अहिले झ्याङ्गिदो छ।

यी दुई नेताबीच भित्रभित्र प्रगाढ बन्दै गएको सम्बन्धकै कारण आफूले जितेको सर्लाहीको निर्वाचन क्षेत्र समेत छाडेर महतोले २०७४ सालमै‌ धनुषा जिल्ला रोजेका थिए। नेपाली कांग्रेसका ‘हेभी’ नेता विमलेन्द्र निधिसँग चुनाव लडेर उनी धनुषा–३ बाट निर्वाचित भए।

ओली र महताेबीच भएकाे ‘भित्री समझदारी’ अनुसार तत्कालीन नेकपा एमालेबाट महतोलाई सहयाेग भएकाे विश्लेषण उनले चुनाव जितिसक्दा पनि धेरैलाई अपत्यारिलाे लागेकाे थियाे। तर, त्यसयताका घट्नाक्रमले भने त्यो विश्लेषणलाई पुष्टि गरिरहेका छन्।

तराईका ‘केपी ओली’ भनेर चिनिने राजेन्द्र महतो र प्रधानमन्त्री ओलीबीचकाे सम्बन्ध २०७२ को नाकाबन्दी उत्कर्षमा पुगेकै बेला राम्रो बनेको तराई मामिलासम्बन्धी विज्ञ प्राध्यापक डा. सुरेन्द्र लाभको विश्लेषण छ।

मधेस आन्दोलन चलिरहेका बेला ओलीलाई भेट्न महतो बालकोट पुगेपछि ६ महिना लामो मधेस आन्दोलन विनासहमति, विनासम्झौता टुंगिएको डा. लाभको भनाइ छ।

‘नाकाबन्दी कसिँदै गएको र तराई आन्दोलन चम्किरहेका बेला जब महतो बालकोट प्रवेश गरे, त्यसपछि  आन्दोलन मत्थर मात्रै भएन, असफल समेत बन्यो,’ उनले नेपालखबरसँग भने।

कुनै समय सबैभन्दा बढी ओलीकै आलोचना गर्ने महतो धनुषामा चुनाव लडेपछि भने ओलीप्रति सबैभन्दा बढी नरम भएको लाभको ठम्याइ छ।

उनीहरुबीचको मित्रतालाई केले जोडिरहेको छ त? ती पाँच कडी यसप्रकार छन्:

धनुषा चुनावमा महतोको विजय
२०७४ साल मंसिर २३ गते राति १२ बजे प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा क्षेत्र ३ बाट राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो विजयी भएको घोषणा भयो।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतले पराजित गर्दै महतो विजयी भएका थिए।

महतोले ३० हजार ७ सय ४२ मत ल्याउँदा निधिले २७ हजार ८ सय २८ मत पाएका थिए।

दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नै गृहजिल्ला सर्लाही–४ बाट पराजित भएका महतोले निर्वाचन क्षेत्र परिवर्तन गरेर धनुषा रोजेका थिए। त्यसअघि उनले सर्लाहीबाटै दुईपटक जितेका थिए। क्षेत्र परिवर्तनपछि पनि उनले प्राप्त गरेको सहज विजयलाई धेरैले विभिन्न ढंगबाट विश्लेषण गरे।

तत्कालीन एमाले अध्यक्ष ओलीसँग भएको साँठगाँठको कारण ‘हेभीवेट’ नेता निधिलाई हराएर महतो विजयी भएको डा. लाभ बताउँछन्।

निर्वाचनअघि महतोले ओलीसँग भेट मात्रै गरेका थिएनन्, चुनावी क्षेत्रमा खटिएका बेला टेलिफोन संवाद समेत गरेको समाचार समेत बाहिरिएका थिए।

निर्वाचनमा सहयोग गर्ने आश्वासन ओलीबाट पाएपछि मात्र महतोले क्षेत्र परिवर्तन गरेर उम्मेदवारी दिने बताएका थिए। ओलीसँग कुरो मिलेपछि महतोले धनुषामा उम्मेदवारी मनोनयन गराएको महतो निकट एक नेताले बताए।

प्रतिनिधिसभाको निर्वाचनमा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीचमा गठबन्धन बनेको थियो। सोही गठबन्धनले महतोलाई चुनावमा जिताउन मुख्य भूमिका खेलेको भन्दै राजपाकै नेताहरुबीच बहस भएको थियो।

ओली र महतोबीचको मित्रताको पहिलो र महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ यही नै थियो। त्यसपछि राजपाले ओलीलाई प्रधानमन्त्री निर्वाचित गर्नेदेखि, सभामुख, राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा समर्थन गर्दै संसदकाे सत्तापक्षीय बेन्चमा बस्दै आएको छ।

प्रधानमन्त्रीको निर्वाचनमा समर्थन
प्रतिनिधिसभामा सबैभन्दा बढी सिट जितेर संसदको ठूलो दल बनेपछि २०७४ फागुन ३ गते केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन संसदमा मनोनयन हुँदै थियो। त्यसको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थिए भने त्यसमा समर्थन जनाउने दलमा राजपा र समाजवादी फोरम नेपाल थिए।

संविधान संशोधनको लागि दुईतिहाई मत पुर्‍याउन राजपा र समाजवादी फोरमले ओलीलाई समर्थन गरेको प्रतिक्रिया दिएका थिए।

राजपाले संविधान संशोधनको लागि मात्रै ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थिएन, त्यसमा ओली–महतोको सम्बन्ध मुख्य कारण थियो।

तराई/मधेसका ‘हार्डलाइनर’का रुपमा चिनिने महतोलाई ‘कुल’ बनाउन अन्ततः ओली नै सफल भए।

मधेस आन्दोलनमा देश विखण्डनसम्मको अभिव्यक्ति दिने महतोलाई निर्वाचनमा साथ दिनुका साथै संविधान संशोधनको प्रक्रिया समेत सुरुवात गर्ने वचन ओलीले दिए।

राष्ट्रियसभामा गठबन्धन
लामो समयसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे पनि महतोले प्रधानमन्त्रीप्रति पहिलेजस्तो टिकाटिप्पणी गरेनन्। त्यसको कारण भनेकै ओली र महतोबीचको मित्रता रहेको डा. लाभ टिप्पणी गर्छन्।

संविधान संशोधन नहुने देखेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो। तर, महतोले ओलीसँगको सम्बन्ध भने नबिगारेको राजपाका नेताहरु बताउँछन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले फेरि नेकपासँग राष्ट्रियसभाका लागि गठबन्धन बनायो। गत पुस २ गते अचानकजस्तै नेकपा र राजपाबीच सो सहमति भएको थियो।

सहमतिअनुसार राष्ट्रियसभामा प्रदेश २ बाट निर्वाचित हुने चार पदमध्ये दुई पद नेकपा र दुई राजपाले लिनेगरी भागबण्डा गरियो। सो सहमतिमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै राजपा अध्यक्षमण्डलका संयोजक रहेका महतोले हस्ताक्षर गरेका थिए।

राजपामा अध्यक्षमण्डलको नेतृत्व आलोपालो प्रणालीअनुसार गरिन्छ। राजपा र नेकपाबीच भएका धेरै सहमति-समझदारी महतो संयोजक रहेका बेला नै भएका छन्।

मधेस मामिला विश्लेषक चन्द्रकिशोर भने प्रधानमन्त्री ओली र महतोबीचको सम्बन्धलाई स्वार्थहरुको गठजोडको रुपमा व्याख्या गर्छन्।

‘कुनै हितको लागि भन्दा पनि एक अर्कालाई भर्‍याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्न दुईबीचमा मित्रता हुने गरेको छ,’ उनले नेपालखबरसँग भने, ‘कांग्रेसका प्रभावशाली नेतालाई हराउन महतोलाई ओलीले प्रयोग गरे। अहिले राजपा ओलीसँग हिमचिम बढाएर केही प्राप्त गर्ने योजनामा देखिन्छ।’

सत्ताबाट समाजवादी पार्टीको बहिर्गमन
समाजवादी पार्टीका तर्फबाट ओली नेतृत्वको सरकारमा सहभागी उपप्रधान, कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पुस ८ गते सरकार छाडे।

पुस ९ गते समाजवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लियो। समाजवादीको बहिर्गमनमा राजपाको पनि मुख्य भूमिका रहेको चन्द्रकिशोरको बुझाइ छ।

‘नेकपाले आफू बलियो बन्न सबैखालका हथकण्डा अपनाएको छ। संविधान संशोधनमा ढिलाइ गरेर उसले समाजवादीलाई पनि बिच्क्यायो। उता सरकार छाडे समाजवादीसँग एकता गर्ने सर्त राखेको राजपासँग राष्ट्रियसभामा गठबन्धन बनायो,’ उनले भने।

सभामुखमा समर्थन
सत्ताबाहिर रहेको राजपाले सभामुख पदको लागि उम्मेदवारी दर्ता गराएका नेकपाका नेता अग्नि सापकोटालाई समर्थन गरेको छ। मंगलबार उम्मेदवारी दर्ता गर्न संसद् भवन बानेश्वरमा पुगेर राजपाका सांसद लक्ष्मणलाल कर्ण सापकोटाको उम्मेदवारीमा समर्थक बनेका हुन्।

प्राध्यापक लाभ सभामुखमा राजपाको समर्थनको राजनीतिक अर्थ रहेको बताउँछन्।

‘भरखरै समाजवादीले सरकार छोडेको बेला राजपाले सभामुख पदमा समर्थन गर्नु भनेको उपसभामुखमा दाबी त हो नै, साथै नेकपासँगको अर्काे बार्गेनिङ पनि हो,’ डा. लाभले भने।

संसदमा स्पष्ट बहुमत भएपनि संवैधानिक प्रावधानका कारण नेकपाले सभामुख र उपसभामुख दुवै लिन पाउँदैन। सभामुख र उपसभामुख दुई फरक दल र लिंगका हुनैपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले कुनै अर्को दललाई दिनैपर्छ। उसले सहज ठानेको राष्ट्रिय जनमोर्चा संसदमा दलको हैसियतमा छैन। पछिल्लो समय नेपाली कांग्रेस र समाजवादी पार्टीसँग सरकारको सम्बन्ध सुमधुर छैन।

राष्ट्रिय सभा निर्वाचनमा समेत गठबन्धन बनाएको राजपालाई नै उपसभामुख दिने अड्कलबाजी भइरहेका बेला मंगलबार सभामुख उम्मेदवारीमा राजपाको समर्थनले उपसभामुख राजपाले पाउने आधार थप बलियो बनेको छ।

र, सरकारमा जाने संकेत
राजपाले सरकारमा जाने लक्षण देखाइकेको तराई मामिला विज्ञ लाभको भनाइ छ। सभामुख र उपसभामुख चयनपछि राजपालाई सरकारमा लानेगरी छलफल सुरु हुने उनले बताए।

लामो समयदेखि ओलीसँग निकट सम्बन्धमा रहेका कारण राजपाका महतोले त्यसबारेमा पार्टीबाटै निर्णय गराउन सक्ने सम्भावना उच्च रहेको लाभ बताउँछन्।

‘सभामुख, उपसभामुख निर्वाचन लगत्तै राजपाले सरकारमा जानेगरी निर्णय गर्नसक्नेछ, केही न केही खिचडी भित्रभित्रै पाकिरहेको छ,’ उनले भने।

उपसभामुख राजपाले नपाए केही समय त्यो रोकिने सम्भावना उत्तिकै भएपनि प्रधानमन्त्री ओलीले महतोसँग एक चरण वार्ता गरे सबै कुरा मिल्ने उनले बताए।

ओली र महतोबीचको मित्रताकै कारण प्रदेश २ को सरकार समेत फेरबदल हुने सम्भावना देख्छन् डा. लाभ।

तर, ओलीले बलियो र ठूलो पार्टीको अध्यक्ष बन्ने चाहनाले मात्र नभई विपक्षीलाई समेत निरन्तर कमजोर बनाइरहने रणनीति अन्तर्गत महतो र उनीजस्तै अन्य नेताहरुको प्रयोग गर्ने गरेको विश्लेषक चन्द्रकिशोर बताउँछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .