राजनीति


प्रचण्डले किन दिए वर्षमानलाई विशेष र जनार्दनलाई बागमती प्रदेशको जिम्मा?

प्रचण्डले किन दिए वर्षमानलाई विशेष र जनार्दनलाई बागमती प्रदेशको जिम्मा?

वर्षमान पुन र जनार्दन शर्मा केन्द्रीय समिति बैठकमा प्रचण्डको विकल्प नखोजे पनि उत्ताधिकारी तोकेर जान माग गरेका थिए


सागर न्यौपाने
साउन २३, २०८० मंगलबार २२:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकले प्रदेश समितिहरुको नेतृत्व हेरफेर गरेको छ। माओवादी केन्द्रको विधान, २०७८ ले ७ भूगोल र तीन गैरभूगोल गरी १० वटा प्रदेश समितिको व्यवस्था गरेको छ। 

तीन गैरभूगोल प्रदेश अन्तर्गत प्रवास समिति, सम्पर्क समन्वय समिति र काठमाडौं उपत्यका प्रदेश विशेष समिति छन्। त्यसमा पनि पार्टीका दुई प्रभावशाली नेताहरुले इन्चार्जको जिम्मेवारी पाएपछि उपत्यका विशेष प्रदेश र बागमती प्रदेश हाल चर्चामा छन्।

उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव वर्षमान पुनले पाएका छन् भने अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेशको जिम्मेवारी प्राप्त गरेका छन्। पुनले पाएको विशेष प्रदेश गैरभौगोलिक हो भने शर्मा इन्चार्ज रहेको बागमती भौगोलिक। 

केन्द्रीय समिति बैठकमा आफूविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका जनार्दन शर्मालाई यसपटक प्रचण्डले बागमती प्रदेशमा इन्चार्ज बनाए। सो प्रदेशमा काठमाडौं, भक्तपुर ललितपुरसहित १३ जिल्ला समेटिन्छन्। 

प्रतिनिधि सभामा ३३ सिट रहेको बागमतीमा प्रदेश सभातर्फ ६६ सिट छ। यो प्रदेशमा माओवादीका प्रतिनिधि सभामा ५ र प्रदेश सभामा २१ सांसद छन्। उपत्यकाका तीनै जिल्लामा माओवादी निकै कमजोर अवस्थामा छ। 

त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा देशका जुनसुकै ठाउँबाट आएर बसोबास गर्ने विभिन्न पेसामा आवद्ध व्यक्तिहरुलाई संगठित गर्नेगरी बनाइएको हो विशेष प्रदेश। जसमा १५१ सदस्यीय प्रदेश समिति छ।

२०७८ पुसमा भएको आठौँ महाधिवेशनपछि कार्यालय हेर्ने इन्चार्जको जिम्मेवारी पाएका पुनलाई अहिले विशेष समिति इन्चार्ज बनाएपछि यसको शक्ति र सीमाबारे चर्चा/परिचर्चा हुन थालेको हो। 

नेताहरुका अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने तर, भूगोलमा जिम्मेवारी नपाएका विद्यार्थी, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, वकिल लगायत विभिन्न पेसाकर्मी, विभिन्न विषयका विज्ञ राखेर उपत्यका विशेष प्रदेश समिति बनाइएको छ।

यो सात प्रदेशजति शक्तिशाली छैन। तर, उपमहासचिव पुनलाई नै यसको जिम्मेवारी दिनुले माओवादीले विशेष समितिलाई शक्तिशाली बनाउन खोजेको देखिन्छ। यसअघि त्यसको इन्चार्जमा सचिव लीलामणि पोखरेल थिए। पोखरेललाई मधेश प्रदेशको इन्चार्ज बनाएर पुनलाई विशेष समितिमा ल्याइएको हो। 

उपत्यकालाई केन्द्रित गरेर संगठन विस्तारको काम चुनौतीपूर्ण छ। तर, संगठन विस्तार गर्ने मुख्य लक्ष्यसहित पुनलाई सो समितिको इन्चार्ज बनाइएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।  

‘हाम्रो पार्टीमा यो प्रदेश पहिलेदेखि छ, तर, अनन्तजीलाई नै ल्याउनुको मुख्य कारण संगठन विस्तार हो, उहाँ मानिसलाई प्रभावकारी परिचालन गर्नुहुन्छ,’ सापकोटाले भने, ‘यसमा देशैभरिका मानिसहरु समेटिएका हुन्छन्। संगठनको हिसाबले यो सबैतिर सञ्जाल फैलाउन सक्ने शक्तिशाली प्रकृतिको छ।’

‘यो प्रदेशले असंगठित भएका पेसाकर्मीलाई संगठित गर्छ, उपत्यकामा बसेका व्यक्तिहरुबाट गाउँ र जिल्लामा जोड्न सकिन्छ,’ उनले भने।

माओवादीका अर्का एक पदाधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई सघाउन पनि पुनलाई विशेष प्रदेश इन्चार्ज बनाइएको हो।

‘भूगोलमा व्यस्त हुँदा रणनीति बनाउन सकिँदैन, त्यसमाथि विभिन्न पेसामा रहेका व्यक्तिहरु जोडेर संगठन विस्तार गर्न सक्ने नेता चाहिएको थियो, त्यही भएर अनन्तजीलाई विशेषको इन्चार्ज बनाइएको हो,’ ती पदाधिकारीले नेपालखबरसँग भने।

पछिल्लो दिन सहर केन्द्रित मतदाता बढेको र काठमाडौँ उपत्यकामै धेरैको बसोबास हुने भएकोले त्यस्ता व्यक्ति समेट्ने रणनीति माओवादीले लिएको छ। 

‘अनन्तजीलाई काठमाडौं राख्नु भनेको मुख्यगरी प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्ने उदेश्य हो,’ ती पदाधिकारीले थपे, ‘०८४ को चुनावी रणनीतिबारे अध्ययन गर्न पनि खोजिएको हो।’

चीनमा चार महिना लामो उपचार गरेर पुन केही महिनाअघि मात्र फर्किएका हुन्। अन्य पार्टीका गतिविधि सूक्ष्म रुपमा अध्ययन गर्न, सहकार्य, सम्बन्ध विस्तार गर्न र नयाँ कार्यक्रम, योजना बनाउन प्रचण्डले अनन्तलाई सँगै राख्न खाजेका हुन्।

‘अनन्तजी तत्काल रणनीति बनाइहाल्न माहिर हुनुहुन्छ,’ ती पदाधिकारीले भने।

विशेष समिति इन्चार्ज भएर काठमाडौंमै बस्ने भएपछि उनी धेरै क्षेत्रका व्यक्तिहरुसँग जोडिन्छन्। विभिन्न पेसा, व्यवसायका मानिसहरुले भोग्नुपरेका समस्याबारे जानकार हुन्छन्। त्यही अनुसार सम्बोधन गर्न सकिने काम तत्काल गर्न सके नयाँ मानिसलाई पार्टीमा ल्याउन सकिने बुझाई माओवादीको छ।

यसअघि उनले १८ महिना पार्टी कार्यालय इन्चार्ज भइ काम गरेका थिए।

विशेष समितिको ठूलो महत्व रहेको कार्यालय सचिव डोलप्रसाद उपाध्याय बताउँछन्।

‘विशेष समितिको क्षेत्राधिकार व्यापक र बृहत् छ,’ उनले भने, ‘संगठन बढाउने, नयाँ कार्यक्रम बनाउने, निष्क्रिय मानिसलाई सक्रिय बनाउन यही समितिको भूमिका हुन्छ।’

अहिलेको केन्द्रीय समिति बैठकले माओवादीले भदौ १६ देखि मंसिर १५ सम्म तीन महिने संगठन सुदृढीकरण अभियान घोषणा गरेको छ, ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान।’

देशभरका ७५३ पालिका र ६७४३ वडा पुग्नेगरी घोषणा गरिएको अभियान अवधिभरलाई आधार बनाएर इन्चार्ज तोकिएको हो।

प्रचण्डले उत्तराधिकारीको खोजी गरेका हुन्?
पुनलाई काठमाडौं बसेर देशभरका मानिस जोडिने विशेष समिति र शर्मालाई बागमती प्रदेश इन्चार्ज बनाउनुको कारण के हो त?

अध्यक्ष प्रचण्डले पार्टीभित्र भोलिको नेतृत्वको खोजी गरेको अड्कलबाजी माओवादीभित्र हुन थालेको छ।

पुन–शर्मा दुवैले केन्द्रीय समिति बैठकमा प्रचण्डको विकल्प नखोजे पनि उत्ताधिकारी तोकेर जान माग गरेका थिए।

त्यही भएर प्रचण्डले २१ साउनमा तीन घण्टा बढी बालुवाटारमा पदाधिकारीसँग छलफल गरे। सो बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएको हो। सोही निर्णय केन्द्रीय समिति बैठकमा प्रस्तुत गरियो र ७५८ सहभागीले अनुमोदन गरे। 

‘वर्षमान र जनार्दनलाई दिइएको जिम्मेवारी रणनीतिक छ, उहाँहरु दुवैलाई समदुरीमा राखेर परिचालन गर्दा पार्टी संगठन नेतृत्वको स्पिरिटअनुसार चल्छ भन्ने अध्यक्षको विश्लेषण हो,’ प्रचण्डनिकट अर्का एक नेताले भने, ‘दुवैलाई टाढाको जिम्मेवारी दिँदा ग्याप हुन्थ्यो।’

उसो त गत महाधिवेशनअघि नै पुन र शर्मामध्ये एक पार्टीको महासचिव हुने र महासचिव बन्ने नेता नै प्रचण्डको उत्तराधिकारी बन्न सक्ने आकलन थियो। तर, महाधिवेशनले महासचिव तय गरेन। 

पछि देव गुरुङलाई महासचिव बनाइयो। पुन र शर्माबीचको चर्को प्रतिस्पर्धाका कारण प्रचण्डले तेस्रो व्यक्तिलाई महासचिव बनाएको अड्कल त्यतिबेला गरिएको थियो। तर हालै सम्पन्न केन्द्रीय समिति बैठकअघिबाट पुन र शर्मा नजिकिएका छन्, जसको दबाब सायद प्रचण्डले यो बैठकमा महशुस गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .