राजनीति


माओवादीमा तीन धारः प्रचण्डप्रति जनार्दन आक्रामक, नारायणकाजी नरम, वर्षमान बीचमा

माओवादीमा तीन धारः प्रचण्डप्रति जनार्दन आक्रामक, नारायणकाजी नरम, वर्षमान बीचमा

सागर न्यौपाने
साउन २२, २०८० सोमबार २१:१, काठमाडौँ

पाँच दिनसम्म (१७–२१ साउन) चलेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुबीच तीन धार देखापरेको छ। 

धारणा राख्ने क्रममा केही नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूरै समर्थन गरे, कतिपयले आलोचनासहित समर्थन गरे र केही आक्रामक प्रस्तुतिसहित आलोचनामा उत्रिए। यी तीन धारको अगुवाइ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिवद्वय जनार्दन शर्मा तथा वर्षमान पुनले गरेको देखिन्छ। 

उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठ लगायतका केही नेता अध्यक्ष प्रचण्डप्रति निकै नरम रुपमा प्रस्तुत भए। सरकारले नयाँ गतिमा काम गरिरहेकोले सफल पार्नुपर्ने उनीहरुको तर्क छ।

उपमहासचिव वर्षमान पुनसहितका नेताले आलोचना र समर्थन मिश्रित धारणा राखे। उनीहरुले प्रचण्डको आलोचना गरे पनि अभिव्यक्तिमा नरमपना अपनाए।

अर्का उपमहासचिव जनार्दन शर्मा सहितका केही नेता आक्रामक देखिए। 

अन्य अधिकांश केन्द्रीय सदस्यहरुले श्रेष्ठ, पुन र शर्माकै लाइनमा आआफ्नो धारणा राखे। 

केन्द्रीय सदस्य गोविन्द रोक्काले सबै नेता र हरेक कमिटीहरु निर्वाचनद्वारा चयन गर्न माग गरे।

‘निर्वाचनबाट मात्र सानो आकारका कमिटी बनाउन सकिन्छ र विभिन्न किसिमका दबाब, प्रभाव, नातावाद, कृपावाद, परिवारवाद, चाकडी, चाप्लुसी प्रथा कमजोर हुन्छ,’ रोक्काले बैठकमा भने, ‘नेताहरु कार्यकर्तामुखी, जनतामुखी हुन्छन्। हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार २ कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्छ।’

जनार्दन निकट रोक्काले उठाएको यो विषय प्रचण्ड र परिवारतिर लक्षित थियो। 

आईपी खरेलले भ्रष्टाचारमा आक्रामक हुन सुझाव दिए।

‘सरकारले सबैतिरका भ्रष्टाचारका फाइल खोलेकोमा समर्थन छ,’ उनले भने, ‘अब माओवादी पार्टीभित्रका भ्रष्टाचारीलाई ठोकौँ।’

यस्तै, नेता नरेन्द्र न्यौपानेले पार्टीबाट लाभको पद लिएका सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरे।

‘हाम्रा नेताहरूको पनि सम्पत्ति शुद्धीकरण गर्नुपर्छ,’ न्यौपानेले भने, ‘अनि मात्र देशका भ्रष्टविरुद्ध लड्न सजिलो हुन्छ, जनताको साथ पाइन्छ।’

‘कुनै उद्योग नभई, कुनै काम नगरी नेताहरुको जीवनशैली कसरी अचम्म लाग्दो भयो?’ उनले प्रश्न गरे, ‘पार्टी बनाउन र जनविश्वास जित्न हामी भित्रैका नेताको गतिविधि नियाल्नुपर्छ।’

नरबहादुर विष्टले २०६५ देखि ८० सम्म मन्त्री बनेका नेताहरूको समीक्षा गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराए।

‘जनताका लागि ल्याउने भनेको समाजवाद तपाईं पटकपटक मन्त्री भएका नेताहरूलाई आइसक्यो,’ विष्टले भने, ‘अब किन र कसले ल्याउने समाजवाद?’

उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र विधि, विधान र पद्धति मिचिएको बताए। उनले अध्यक्षलाई असहयोग गरेको देखाउन चुनौती दिए। 

‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ,’ शर्माले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन? तलतल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु?  विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयो होला। समस्या जे हो, त्यो चाहिँ भन्नैपर्छ। चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला।’

१७ साउनमा सुरु भएको बैठकमा पहिलो दिन १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। जसमा बोल्नेहरुले अध्यक्ष प्रचण्डप्रति तीव्र असन्तुष्टि जनाएको सचिव दीनानाथ शर्माले जानकारी दिए।

‘पहिलो दिन बोल्ने केन्द्रीय समितिका साथीहरु अलि बढी आक्रमक सुनिनुभएको थियो,’ शर्माले नेपालखबरसँग भने, ‘तर, भोलिपल्टदेखि अध्यक्षकै विरोध गर्नेहरुकै प्रतिउत्तरमा अरु नेताहरु उत्रिनुभयो।’

‘यसपटक अध्यक्षले आलोचना गरियोस् नै भन्ने चाहनुभएको थियो, त्यही भएर साथीहरु आलोचना गर्दै जानुभयो,’ शर्माले थपे, ‘पछिल्ला दिन वातावरण नै यस्तो बन्यो कि आलोचना गर्नेहरुविरुद्ध अन्य साथीहरु नै प्रतिवादमा उत्रने वातावरण बन्यो। 

बैठकमा धारणा राख्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको मूल स्पिरिटलाई समर्थन जनाएको बताए।

‘अध्यक्ष कमरेडको नेतृत्वमै नयाँ ढंगको पार्टी निर्माण र समाजवादको आधारका रुपमा रहेको सामाजिक न्यायसहितको सम्मृद्धि हासिल गर्न सम्भव छ,’ श्रेष्ठले भने, ‘हाम्रो सरकार बनेकै दिन हामीले सुशासन,  सामाजिक न्याय र समृद्धिको एकसूत्रीय एजेन्डा भनेका थियौँ, सोही अनुरुप हामी क्रियाशील छौँ।’

उनकै शैलीमा अन्य केही नेताहरुले धारणा राखे। अर्थात् प्रचण्डलाई समर्थन गरेर धारणा राखे।

उपमहासचिव गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सरकारले सुरु गरेको कामले जनतामा आशा जगाउने र साहस भर्ने काम गरेको बताए।

‘भ्रष्टाचारविरुद्ध हाम्रो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नयाँ ढंगले वर्ग संघर्ष सुरु गरेको छ। प्रचण्ड र प्रकाशले सुरु गरेको अभियान नयाँ वर्ग संघर्ष हो,’ पोखरेलले भने, ‘यसलाई थप विस्तार गर्नु जरुरी छ।’ 

भ्रष्टाचारको निर्मूलीकरण माथिल्लो नेतृत्वबाटै सुरु गर्न उनले सुझाव दिए।

‘एउटा चिनियाँ भनाइ छ, भ्रष्टाचार र भर्‍याङलाई माथिबाटै बढार्नुपर्छ,’ उनले थपे, ‘भ्रष्टाचारविरुद्ध माथिबाटै अभियान सुरु गरेर सरकारले पार्टीभित्र र बाहिर अहिले सकारात्मक तरंग सिर्जना गरेको छ।’

केन्द्रीय समिति बैठकको समापनसम्म पुग्दा प्रचण्डको आलोचनासहित समर्थन गर्ने धार देखा पर्‍यो। यो श्रेष्ठको जस्तो शतप्रतिशत नरम पनि थिएन र शर्माको जस्तो आक्रामक पनि थिएन।

उपमहासचिव पुनले माओवादी केन्द्रमा देखिएको अहिलेको समस्या विचारको नभई विधिको भएको उनले बताए।

‘हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको विकल्प कसैले खोजेको छैन,’ बैठकमा पुनले भने, ‘तर, उत्तराधिकारी निर्माणबारे विधिको विकास अहिले नै गर्नुपर्ने भएको छ। पार्टी संगठनमा पाका, प्रौढ र युवा नीति लागू गराउनुपर्छ यसले पार्टी गतिशील बन्छ। 

उनले प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताए। 

‘गुटउपगुट सबै अन्त्य गरेर बलियो पार्टी निर्माण गरौँ, म योगदान गर्न तयार छु,’ पुनले भने।

नेता कुमार पौडेलले नेतृत्वप्रति गुटबन्दी गर्न नहुने बताए।  

‘हाम्रो पार्टीमा माथिबाटै नेतृत्वमा रहनुभएका रूपान्तरण हुन जरुरी छ, गुट उपगुट अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो वर्ग पहिचान छैन, सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध लेख्नेलाई कारबाही गर्नुपर्छ।’ 

किन प्रचण्डको नेतृत्वप्रति माओवादीमा अलगअलग धार देखियो त?

‘नारायणकाजीजी सरकारमा पनि हुनुहुन्छ र उहाँ वरिष्ठ उपाध्यक्ष पनि भएकाले अलि नरमरुपमा प्रस्तुत हुनुभयो। उहाँको शैली पनि त्यस्तो कठोर कहिल्यै होइन,’ शर्माले भने, ‘जनार्दनजीको स्वभाव र शैली नै त्यस्तै हो, उहाँले अध्यक्षलाई खेद्नुपर्छ भनेको होइन। तर, कडा हुनु युक्तिसंगत पनि थिएन। वर्षमानजीको पहिलेदेखि अलि फरक नै स्वभाव देखाउने हो।’

नेता युवराज चौलागाईंले भने माओवादीभित्र भूमिगतकालीन शैली ब्युँतिएको बताए। 

‘जनयुद्धको समयमा भावना र विचारलाई पार्टीभित्र सँगै राखेर कार्यसम्पादन गरिन्थ्यो, त्यसले स्वच्छ आलोचना र आत्मालोचनाको संस्कृति देखाउँथ्यो,’ उनले भने, ‘तर, केही समय त्यो संस्कृति हरायो। अहिलेको केन्द्रीय समिति बैठकमा पार्टीप्रतिको चिन्ता सबैमा देखिन्छ। सबैले को कहाँ सच्चिनु पर्छ भनेर धारणा राखिरहनु भएको छ। यसले सही कुराका लागि सबैले प्रश्नको सामना गर्नुपर्छ भन्नेलाई पुनर्स्थापित गर्ने बाटो खोलेको छ।’

बैठक समापनको दिन आइतबार (२१ साउन) प्रचण्डले बिहान पदाधिकारीलाई बालुवाटार बोलाए। झण्डै तीनघण्टा छलफल गरेपछि प्रचण्डले ब्रिफिङ गरे।

‘अब पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ। पार्टीमा नेताहरुको कार्य विभाजन कसरी गर्ने?’ प्रचण्डले पदाधिकारीलाई सोधे।

जवाफमा अध्यक्षकै कुनै मोडल छ भने प्रस्तुत गर्न नेताहरुले सुझाव दिए।

प्रचण्डको प्रस्ताव अनुसार पदाधिकारीलाई प्रदेशको जिम्मेवारी हेरफेर गर्ने निर्णय भयो। केन्द्रीय सदस्यलाई वडासम्म लग्ने कार्यक्रम बनाउने पनि निर्णय भयो। 

केन्द्रीय सदस्यले उठाएको प्रश्नहरुको जवाफका विषयमा छलफल भयो। त्यसमा मुख्य विषयमा केन्द्रित भएर निर्णयमा लैजाने समझदारी बन्यो। त्यही अनुसार माओवादीको हरेक कमिटी निर्वाचित भएर आउनुपर्ने निर्णय भएको सचिव दीनानाथ शर्मा बताउँछन्।

‘अब माओवादीका कुनै पनि नेता वडामा जानुपर्‍यो, चुनाव लडेर निर्वाचित भएर/चुनिएर आउनुपर्‍यो,’ शर्माले भने, ‘संगठन बनाउन र जनताको समस्या समाधान गर्न नेता तल पुग्नैपर्‍यो।’

‘हाम्रो पार्टीमा निर्वाचन प्रणाली लागू भयो, तल जाऊ, काम गर अनि जनता/कार्यकर्ताले चुन्छन्, चुनिएर आउने विधि पार्टीमा व्यवस्थापन गर्ने बैठकले निर्णय गर्‍यो,’ उनले भने।

पदाधिकारीबीच बनेका तिनै समझदारीलाई केन्द्रीय समिति बैठकमा पेस गरियो।

अनि हलबाट प्रचण्डको सम्मान गर्दै बैठक समापन भयो। प्रचण्डको आलोचना गदै सुरु भएको बैठक उनैलाई शक्तिशाली बनाउँदै सकिएको छ।

‘बैठक समापन हुने दिनसम्ममा त सबै अध्यक्ष प्रचण्डको समर्थन गर्ने ठाउँमा पुग्नुभयो र प्रचण्डमय बन्यो,’ शर्माले भने, ‘उहाँलाई झन् शक्तिशाली बनायो। प्रचण्ड इतिहासले जन्माएको पात्र हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याको समाधान गर्ने क्षमता उहाँमा मात्र छ भन्ने सन्देश बैठक समापनमा गुञ्जिएको लालसलामको नाराले पुष्टि गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .