राजनीति


माओवादी केन्द्रीय सदस्यहरुको माग :  कार्यकर्ताले नेता चुन्न पाउनु पर्‍यो

प्रतिस्पर्धाको हिम्मत गर्न प्रचण्डलाई आग्रह
माओवादी केन्द्रीय सदस्यहरुको माग :  कार्यकर्ताले  नेता चुन्न पाउनु पर्‍यो

सागर न्यौपाने
साउन १७, २०८० बुधबार २१:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रको १३ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा कार्यकर्ताले नेता चुन्न पाउनुपर्ने आवाज उठेको छ। केहीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको कार्यशैलीप्रति गुनासो गरेका छन्।

प्रज्ञा प्रतिष्ठानमा बुधबार सुरु भएको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। जसमध्ये अधिकांशले उच्च पदमा बस्ने नेताको उठबस सम्भ्रान्तसँग हुने गरेको, नेताहरू जनता र कार्यकर्ता भेट्न नजाने गरेको कुरा उठाए। कतिपयले भने नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यसपछि केन्द्रीय सदस्यहरुले बोल्न सुरु गरेका हुन्।

नेता अमर तमुले माओवादीभित्र हर्क साम्पाङ मोडेल जरुरी रहेको बताए।

उनले समाजवादी कार्यक्रमको अवधारणा ल्याउनुपर्ने बताए। लाभको पदमा बसेका नेताहरूको सम्पत्ति छानबिन गर्न उनले माग गरे।

नेता कृष्ण केसीले नेतृत्व विकासमा संकट रहेको भन्दै अध्यक्षपछिको नेतृत्व को भनेर प्रश्न गरे।

‘नेतृत्व हस्तान्तरण र पुस्तान्तरण जरुरी छ,’ उनले भने, ‘सार्वजनिक लाभको पदमा बसेकाको छवि स्वच्छ हुनुपर्छ।’

लक्ष्मण पन्तले प्रचण्डको लागि उमेर हद नहुने बताए।

‘तर, बालुवाटार र खुमलटारमा नयाँ राजकुमार छन्,’ उनले बैठकमा भने, ‘उहिलेका राजाहरु जस्तै केही नेतामा सामन्तवादी प्रवृत्ति बाँकी छ।’

अध्यक्षलाई प्रतिस्पर्धाको हिम्मत गर्न उनले सुझाव दिए।

‘माओवादी पार्टीमा पद, पावर र परिवार हाबी छ, उनले भने, ‘डिल गर्न सचिवालयमा आफन्त राखिन्छ, पार्टीमा आर्थिक अपारदर्शिता छ।’
 
नेता हिमाल शर्माले कार्यकर्ताले नेता चुन्न पाउनुपर्ने माग गरे।

अर्का नेता लक्ष्यराम आचार्यले विद्यालय तहको पाठ्यक्रममा जनयुद्ध र जनआन्दोलनबारे कुनै कोर्स नहुँदा इतिहास मेटिने चिन्ता गरे। यो विषय विद्यालय पाठ्यक्रममा राख्नैपर्ने उनको माग छ।

उनले सम्पत्तिको मूल्य निर्धारण गरेर लेबी तोक्न आग्रह गरे।

‘सबै नेता, कार्यकर्तालाई एकै खालको लेबी हुनुभएन,’ उनले भने, ‘सांसदहरू किन पार्टीको पक्षमा बलियोसँग उभिन सक्तैनन्?’

अर्का केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले गुटको सुरुवात माथिबाट भएको आरोप लगाए।

‘२ जनाको कुरा पार्टीको निर्णय बन्ने प्रवृत्ति हाबी भयो,’ उनले भने, ‘यो माओवादीको चरित्र होइन, माओवादी सामूहिक निर्णय गर्ने पार्टी हो।’

नेता टीका बुढाथोकीले पार्टीले जिम्मेवारी दिने बेला महिला नेतालाई पत्याउन छोडेको गुनासो गरिन्।

विगतमा जस्तो गाउँमा गएर नहुने र अब नयाँ विधि बनाउनुपर्ने उनको धारणा छ। सहकारी समस्याले जनता आक्रान्त भएकोले समस्या समाधान गर्न उनले सुझाव दिइन्।

समस्या राख्न जाँदा प्रधानमन्त्री कार्यालय र सचिवालयले रेस्पोन्स नगरेको उनले गुनासो गरिन्।

नेता रामकुमारी चौधरीले व्यंग्य गरिन्, ‘गाउँघरमा मान्छे छैनन्, केन्द्रीय सदस्य बढी भएर हानथाप छ। यो कसरी भयो?’

सरकारले गरेको राम्रो कामको प्रचार नभएकोमा उनले ध्यानाकर्षण गराइन्।

गोविन्द रोक्काले जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउन नेतृत्वको ध्यानाकर्षण गराए।

‘निर्वाचन गरेर भए पनि सबै कमिटीको नेतृत्व छान्नपर्छ,’ रोक्काले भने,  ‘अहिले सरकारले गरेका सबै राम्रा कामको प्रचार जरुरी छ।’

अर्का नेता विशेन्द्र चेम्जोङले पार्टी अर्काको वैसाखीमा हिँड्न नहुने बताए।

कृष्णा चौधरीले मन्त्रीभन्दा पीए ठूला भएको गुनासो गरिन्।

मानसिंह मालले कार्यकर्ता समाजवादमा जान तयार भए पनि नेताहरू तयार नभएको आरोप लगाए।

यस्तै अर्का केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले व्यापारीलाई नेताहरूले भेट्ने तर कार्यकर्ता नभेटेकै कारण निराशा बढ्दै गएको बताए।

माओवादी केन्द्रको बैठक २१ साउनसम्म  बस्ने बताइएको छ। प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न ५ मिनेटको समय दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .