ad ad

राजनीति


दोस्रो दिनको बैठकमा ४७ जना नेताहरुले बोले, नेतृत्वको कडा आलोचना

दोस्रो दिनको बैठकमा ४७ जना नेताहरुले बोले, नेतृत्वको कडा आलोचना

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार १९:३४, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दोस्रो दिन पछि जारी छ।

करिब ११ महिनापछि बसेको उक्त बैठकको दोस्रो दिन सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताको उपस्थितिमा सानेपामा जारी रह्यो। 

पहिलो दिन महामन्त्री र उपसभापतिहरुले प्रतिवेदन पेस गरेपछि दोस्रो दिन करिब ५० जना केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुले आफ्नो भनाइ राखेका छन्।

दोस्रो दिनको बैठकमा केही केन्द्रीय सदस्यहरुले नेतृत्वको पनि तिखो आलोचना गरे। बैठकमा झापाका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री विश्वप्रकाश शर्मासहित नेतृत्वको आलोचना गर्दै जिल्लामा भाँडभैलो चलिरहँदा पनि टुलुटुलु हेरेर बसेको आरोप लगाए।

त्यस्तै अर्की केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सबैले सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्नुपर्ने बताउँदै बेमौसमी बाजा जस्तो संसदीय दलको नेता फेर्ने कुरा नगर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चेतावनी दिइन्।

उनले सभापति र दलको नेता फेर्ने अभियानमा लाग्ने हो भने आफूहरु महामन्त्रीहरुको पनि विकल्पको खोजीमा लाग्न सक्ने बताइन्। 

अर्का नेता रामहरि खतिवडाले गत वैशाख १० गतेको उपनिर्वाचन परिणामबाट कांग्रेस डराएको बताए। 

‘अहिले हामी आफैं उपनिर्वाचनबाट डराएका छौँ। तनहुँमा हामी पराजित भएका छौँ सत्य हो’, उनले भने, ‘हामीले पार्टीलाई गाली गरेर हुँदैन। ०८४ मा खत्तम भयौँ भन्यौँ भने हुँदैन। हामी २१०० सम्म पार्टीलाई पहिलो बनाइरहने गरी लागौँ। एकअर्कालाई गाली गरेर हामी अघि बढ्दैनौँ।’

खतिवडाले संसद्‍मा प्रतिपक्षीले हल्लाइरहेको बताए। ‘सभापतिजी संसद्‍मा यदाकदा जाने, उपसभापतिहरु मन्त्री हुने’, उनले भने, ‘प्रतिपक्षले कसरी संसद् हल्लाउँछन् देख्नु भएकै होला।’

त्यस्तै प्रदेश सभापतिहरुले आफूहरुलाई भूमिका नदिने हो भने प्रदेश संरचना नै खारेज गर्न आग्रह गरे। 

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेशलाई बाइपास गरेर केन्द्रले सिधै जिल्लामा पुगेर कार्यक्रम गरिरहने हो भने आफूहरु यही भूमिकामा बसिरहनुको औचित्य नभएको बताए। 

मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने बताए। उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने दाबी गरे।  

यादवले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै बाइपास नगर्न आग्रह गरे।

‘मधेश भनेको कांग्रेसको जननी हो। मधेशबाट नेपाली कांग्रेसको जन्म भएको छ। मधेश बलियो जब जब भएको छ, तब तब नेपाली सत्तामा गएको छ। यो हामीले बिर्सनुपर्ने कुरा होइन’, उनले भने, ‘प्रदेश संरचना किन गठन गरियो? सातवटा प्रदेशमा संरचना किन बनाइयो? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीविही बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ।’ 

भनाइ राख्ने क्रममा केन्द्रीय सदस्य गुरु बरालले लाइभ रोक्न माग गरे। 

उनले आफ्नो धारणा प्रदाधिकारीहरूप्रति भएकाले सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह गरेका थिए। 

'हामीले बोल्ने फोरम यो हो। यो सामाजिक सञ्जालमा बाहिर नजाओस्,' उनले भने, 'मेरो भनाइलाई पार्टीको रेकर्डमा राखियोस्।  सामाजिक सञ्जालमा नजाओस्।'

कस-कसले बोले? 
जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह र सुशीला भट्ट मिश्रले बुधबारको बैठकमा बोलेका छन्।

त्यस्तैगरी नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि बोले।

बैठकमा आमन्त्रित प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आफ्ना भनाइ राखे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .