राजनीति


सीतालाई औधी माया गर्थे प्रचण्ड, टुट्यो ५४ वर्षको सहयात्रा

सीतालाई औधी माया गर्थे प्रचण्ड, टुट्यो ५४ वर्षको सहयात्रा

फाइल तस्बिर


सागर न्यौपाने
असार २७, २०८० बुधबार १७:५७, काठमाडौँ

पत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको मृत्युले विक्षिप्त देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्हालिन सकिरहेका थिएनन्।

नर्भिक अस्पतालले ६९ वर्षीया सीतालाई मृत घोषणा गरेलगत्तै पुगेका प्रचण्डले माहिली छोरी रेनु र कान्छी गंगालाई साथ लिएर उनको पार्थिव शरीर हेरे।

दुई घण्टा अस्पतालमा राखेपछि सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखियो।

त्यो त्यही ठाउँ थियो, जहाँ प्रचण्ड-सीताका एकमात्रै छोरा प्रकाशको अन्तिम श्रद्धाञ्जली दिँदा प्रचण्ड भावुक बनेका थिए। जब उनले मुठ्ठी उठाएर सीताको पार्थिव शरीरलाई सलाम गरे, तब भक्कानिएर रुन पुगे।

५४ महिनापछि प्रचण्डले त्यही नियति भोगे- यसपटक उनी झन् बढी मर्माहत भए। यसपटक उनलाई सम्हालिदिने जीवन संगिनीलाई सधैँका लागि बिदा गर्दै थिए प्रचण्ड।

छोरा प्रकाशलाई श्रद्धाञ्जली दिँदै गर्दा प्रचण्ड

साढे ४ घण्टापछि सीताको पार्थिव शव आर्यघाट पुर्‍याइयो। त्यहाँ पुगेपछि प्रचण्ड झन् सम्हालिन सकेनन्।  उनलाई रेनु र गंगाले आड दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उनकै छेउमा बसे। सम्झाउने कोसिस गरे।

सीताको मुखमा पानी हालिदिँदा र दागबत्ती दिने बेला प्रचण्ड झन भावुक भए। प्रचण्डलाई आडभरोसा दिन माओवादी केन्द्र तथा सत्ता गठबन्धनका सयौँ नेता कार्यकर्ता आर्यघाटमा देखिए।

त्यहाँ प्रतिपक्षी एमालेका नेता कार्यकर्ता पनि थिए। सीतालाई अन्तिम श्रद्धाञ्जली दिन सयौँको संख्यामा सर्वसाधारण पनि जम्मा भएका थिए।
सीतालाई बिदाइ गर्न आएको त्यो भीडले प्रचण्डलाई झन् व्याकुल बनायो।

जीवनका ५४ वर्ष साथ दिएकी जीवन साथीको बिदाइ गर्न उनले सकिरहेका थिएनन्।

सम्हालिँदै प्रचण्डले सीतालाई मुखाग्नि दिए। रेनु र गंगाले पनि उनीसँगै दागबत्ती दिए। प्रचण्ड डाँको छोडेर रुन खोजिरहेका थिए, तर सकेनन्। तर उनी घण्टौँ रोएर शान्त हुन खोजिरहेका जस्ता देखिन्थे।

कठिन संघर्ष गर्दै परिवार र श्रीमान् प्रचण्डलाई नेता बनाएकी सीताको बिदाइमा उपस्थित मानिस हेर्दा कहिल्यै विवादमा नपरेकी सामान्य नेताप्रतिको अगाध स्नेह छचल्किरहेको थियो।

सीतालाई श्रद्धाञ्जली दिँद प्रचण्ड

केही नेता पत्नीहरुका विवादका अनेक श्रृंखला हामीमाझ छन्। मन्त्री र प्रधानमन्त्री भइसकेका नेताहरुका पत्नी पनि विवादमा परिरहन्छन्। 

तर बुधबार दिवंगत भएकी सीता दाहाल त्यस्ती एक नेतृ थिइन्, जो कहिले विवादमा परिनन्।

प्रचण्डले तीन तीन पटक देशको नेतृत्व सम्हाल्दा पनि सीताले कहिल्यै शक्तिको रवाफ देखाइनन्।

हुन त केही वर्षदेखि उनले गम्भीर रोगसँग सामना गरिरहेकी थिइन्। तर जनयुद्धमा हुँदा या माओवादी शान्ति प्रक्रियामा आएपछि सीताले आफ्ना कारण प्रचण्डलाई कहिल्यै विवादमा तानिनन्। 

त्यही निर्विवाद राजनीतिक र व्यक्तिग छवि कायम गर्दै सीताले ६९ वर्षको उमेरमा देहत्याग गरेकी छन्। 

१५ वर्षमा बिहे, ५ वर्ष एक्लै संघर्ष

केटाकेटी अवस्थामा घनश्याम दाहाल साह्रै लजालु थिए। कास्कीको ढिकुरपोखरीमा जन्मिएका उनको हेम्जाकी सीता पौडेलसँग बिहे गर्ने कुरा चल्यो। 

१० कक्षामा पढ्दै गरेका उनी भर्खर १५ वर्षको भएका थिए। सीता पनि त्यही उमेरकी थिइन्। 

संयोग कस्तो छ भने कास्कीमा हुँदा सँगैसँगै रहेका पौडेल र दाहाल परिवार कास्कीबाट बसाइँ सरेर चितवन झरे।

सीता पौडेलको परिवार चितवनको सुन्दरवस्ती गाउँमा र दाहालको भीमसेननगरमा।

दुवै परिवारको आग्रहलाई सीता र घनश्यामले अस्वीकार गर्न सकेनन। १५ वर्षमै सीता बुहारी बनेर दाहाल परिवारमा भित्रिइन्। 

यो २०२६ सालको कुरा हो। 

घनश्यामले मेट्रिक दिने बेला आफ्नो नाम फेरेर पुष्पकमल दाहाल बनाए। 

उनले राम्रै अंक ल्याएर मेट्रिक (पछि एसएलसी बनाइयो अहिलेको एसइई)  पास गरे। 

त्यसपछि उनी काठमाडौं आएर थप अध्ययनका लागि पाटन संयुक्त क्याम्पसमा भर्ना भए। जहाँबाट उनले आइएसी एजी पास गरे।

सीताका अनुसार प्रचण्ड उच्च शिक्षा पढ्न गएपछि केही समय उनले दुःख झेलेकी थिइन्। 

त्यसपछि प्रचण्डले केही समय चितवनकै रामपुर क्याम्पसबाट बीएस्सी एजी उत्तीर्ण गरे।

अनि जागिर खान गोरखा पुगे। त्यहाँको एक विद्यालयमा डेढ वर्षजति पढाए। त्यसपछि २०३८ सालमा प्रचण्ड भूमिगत भएर मसालको राजनीतिमा लागे। 

सायद, सीता दाहालसँग प्रचण्ड लामो समय छुट्टिएको यही बेला मात्रै थियो ।

सीताले केही अन्तर्वार्तामा भनेअनुसार उनी प्रचण्डसँग छुट्टिएर कमै मात्र एक्लै बसेकी थिइन।

‘उहाँ पूर्णकालीन भएपछि पुलिसले सताउन थाल्यो। त्यसपछि परिवार छुट्टियो । यस क्रममा पाँच वर्षजति मलाई भयङ्कर समस्या भयो,’ सीताले भनेकी थिइन्, ‘त्यतिबेला छोराछोरी साना थिए, २०३८ सालमा जन्मिएको छोरो प्रकाश केवल पाँच महिनाको थियो।’

‘माइतको भैँसी, घरबाट पाएको दुइटा भैँसी, खेतीपाती हेर्नुपर्ने अनि उता बच्चाबच्ची स्याहार्नु पर्ने, यसले गर्दा मलाई एकदम दुःख भयो।’
तर, त्यसपछि प्रचण्डले सीतालाई एक्लै राखेनन्, आफूसँगै राजनीतिक यात्रामा हिँडाए। 

यो क्रम जनयुद्धभर मात्रै होइन, शान्ति प्रक्रियापछि पनि निरन्तर थियो। प्रचण्ड र सीता पार्टीका हरेक कार्यक्रम, भेला र बैठकमा सँगै हुन्थे।
जनयुद्धकालदेखि नै सीता पार्टीकी केन्द्रीय सल्लाहकार बनेकी थिइन्। 

‘मलाई लाग्छ, मैले उहाँलाई धेरै सहयोग गरेँ । जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि घरपरिवार, छोराछोरी सब त्यागेर यो पार्टीमा जसरी लाग्दै आएँ र जनयुद्धमा पनि म उहाँसँगसँगै छु। प्रायः एकाध दिन छुट्टिएँ होला । हरेक ठाउँमा मैले धेरै भूमिका खेलेको छु,’ जनयुद्धका नायक पुस्तकमा प्रकाशित सीताको अन्तर्वार्तामा भनेकी छन्। 

उनका अनुसार प्रचण्डले साह्रै माया गर्छन्।

२०७६ वैशाख २७ गते प्रचण्ड–सीताको विवाह भएको ५० औँ वार्षिकोत्सव थियो। उनीहरुको भव्य विवाह भएजसरी खुमलटारमा वार्षिकोत्सव मनाइएको थियो। 

२०२६ साल वैशाख २७ देखि एकैसाथ जिएका प्रचण्ड र सीता ५४ वर्षपछि फेरि सँगै नहुने गरी छुट्टिएका छन्। 

छोरी ज्ञानु दाहाललाई २०७० चैत १३ गते र एकमात्रै छोरा प्रकाशलाई २०७४ मंसिर ३ गते गुमाएकी सीताले बुधबार विहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा अन्तिम पटक श्वास फेरिन्। 


... ... ... 
छोराछोरीको निधनले निकै पीडामा परेकी उनी त्यही कारण पीएसपी रोगबाट ग्रसित हुन पुगिन्।

जीवनका अन्तिम उत्तराद्र्धका झन्डै तीन वर्ष सीता दाहालले प्रचण्डलाई कुनै सुझाव दिन सकिनन्। उनी कडाईका साथ यही गर्नुपर्छ भन्ने अडानमा बस्न सकिनन्। 

प्रचण्डलाई कुनै काम नगर्दा हुन्छ भनेर सिकाउने सीताले २०७७ फागुनपछि केही भन्न सकिनन्। व्यथाले उनलाई निकै च्याप्दै लग्यो र उनी हिँडडुल गर्न, बोल्न, आफैँ खाना खानसमेत नसक्ने अवस्थामा पुगिन। 

रोगले थला पार्दै लगेपछि सीता शिथिल बन्दै गइन्। बुधबार (२७ असार २०८०)मा उनी सदाका लागि यस धर्तीबाट अलग भएकी छन्।
उनी मात्रै गएकी छैनन्, प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई एक्लै छोडेकी छन्।

नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले सीता माओवादी केन्द्रकै अभिभावक भएको बताए।
‘पार्टीभित्र गम्भीर अन्तरविरोधका बेला (बाबुराम–प्रचण्ड), 

(मोहन वैद्य–प्रचण्ड) बीचमा बसेर समन्वय गर्नेदेखि प्रचण्डलाई केही गम्भीर घटना हुनबाट बचाउन उहाँले निकै ठूलो भूमिका खेल्नुभएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘प्रचण्डलाई उहाँ (सीता साथमा हुँदा उर्जा र शक्ति भएको महसुस गर्नुहुन्थ्यो।’

प्रेमिल प्रचण्ड
सीता दाहाल यही असार २१ गते ७९ वर्षमा प्रवेश गरेकी थिइन्।

त्यसदिन बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जन्मदिन मनाइयो। भिडिओेमा देखिएअनुसार प्रचण्डले सीतालाई ‘म्वाई’ खाएको दृश्य निकै मर्माहत पार्ने खालको छ। 

जसमा सीतालाई दुईजनाले समाइएको देखिन्छ। गम्भीर बिरामी सीताले दोहोरो संवाद नगरेको दुई वर्ष भइसकेको छ। उनको रेखदेखमा प्रचण्डले कुनै कमी हुन दिएका थिएनन्। 

औषधोपचार
सबै श्रीमान्‌ले श्रीमतीलाई माया गर्छन्, यो शाश्वत हो। तर, प्रचण्डले सीताका लागि अझै बढी केही खास गरेका छन्। 

उनले सीताको उपचारका लागि सबै विधि अपनाए। नेपालदेखि, अमेरिका, थाइल्याण्ड, सिंगापुर र भारतका नाम चलेका अस्पताल कुदाए। 
म्याग्दीको तातोपानी कुण्ड पनि पुर्‍याए। थेरापी गर्न घरमै डाक्टर र नर्स राखे।

प्रचण्डले आयुर्वेद र योगमा प्रख्यात बाबा रामदेवको आश्रममा पनि सीतालाई उपचारका लागि लगे।

सीतालाई असर नपरोस् भनेर लाजिम्पाटको घर छाडेर ललितपुरको खुमलटार सरे। सीता सन्चो हुन्जेल उनी चितवन पनि सँगै लिएर जान्थे। तर बुधबारदेखि यो सहयात्रा अब सदाका लागि टुंगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .