ad ad

राजनीति


चीनले दियो नेपालमा लगानी बढाउने आश्वासन

उपप्रधानमन्त्री श्रेष्ठले भने : बीआरआई कार्यान्वयनको ढाँचा बन्दै छ
चीनले दियो नेपालमा लगानी बढाउने आश्वासन

विमानस्थलमा उपप्रधानमन्त्री श्रेष्ठ


नेपालखबर
असार १७, २०८० आइतबार १४:५, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणबाट फर्किएका छन्। 

उनले आइतबार त्रिभुवन विमानस्थलमा आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन्। 

७ सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएका उनले यात्रा उपलब्धिमूलक भएको उल्लेख गरे। 

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। 

त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवम् सिचुवान प्रान्तीय जनपरिषद्को स्थायी समितिका अध्यक्ष वाङ सिवहुइसँग पनि भेटवार्ता भएको थियो। 

वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय र चीनद्वारा नेपालमा थप सहयोग बढाउन उपप्रधानमन्त्री श्रेष्ठले गरेको विशेष आग्रहमा सकारात्मक छलफल भएको बताइएको छ। 

‘आर्थिक साझेदारी बढाउनेबारे चिनियाँ उपप्रधानमन्त्री र सिचुवान पार्टी कमिटीका सचिवले हामीलाई सकारात्मक विश्वास दिलाउनुभएको छ’, उनले भने, ‘थप व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा सकारात्मक छलफल भएको छ।’

चीन र नेपालबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा हस्ताक्षर भइसकेको र त्यसबाट लाभ लिन नेपालको तयारीबारेको चिनियाँ जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले कार्यान्वयनको ढाँचा बन्दै गरेको  बताउँदै दुईपक्षीय छलफलबाट पूर्णता दिइने उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरे। 

सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएकोले नेपालमा लगानी गर्न आग्रह गरे।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्ध बारे सम्बोधन मन्तव्य दिएका थिए। उनले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए। 

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उनले छेन्दु–काठमाडौँ रुटमा दैनिक हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा व्यवसायिक उडान सुरु गर्न उनले आग्रह गरे।

छेन्दुमा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो। 

प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो र विक्रम संवत् २५६ पूरा छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार राति चीनतर्फ गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .