राजनीति


सिंगापुरबाट फर्केका देउवालाई बालुवाटारमा प्रश्नैप्रश्न- एमालेसँग मिलेर सत्ता गठबन्धन फेर्न खोजेको हो?

सिंगापुरबाट फर्केका देउवालाई बालुवाटारमा प्रश्नैप्रश्न- एमालेसँग मिलेर सत्ता गठबन्धन फेर्न खोजेको हो?

फाइल तस्बिर


सागर न्यौपाने
असार १०, २०८० आइतबार २१:५४, काठमाडौँ

पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर गत जेठ ३१ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आँखाको उपचार गर्न सिङ्गापुर गए।

श्रीमती डा. आरजु देउवा, छोरा जयवीरसिंह र स्वकीय सचिव भानुलाई साथमा लिएर एक साताका लागि उनी सिंगापुर उडेका थिए।

जब देउवा सिंगापुर पुगे, तब नेपालमा सत्ता समीकरण फेरबदलको चर्चा चल्यो। 

एकातिर सरकारले ल्याएको बजेटबाट सत्ता गठबन्धनकै दल असन्तुष्ट थिए भने अर्कातिर प्रतिपक्षीले लगातार बजेटको विरोध गरिरहेको छ। उनीहरू बजेट संशोधन गर्नुपर्ने अडानमा थिए। 

उता नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवाका दाहिने हात मानिएका नेता बालकृष्ण खाँणलाई थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौंले दिएको थियो।

यहीबीच सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका दोस्रो तहका नेताहरूबीच सत्ता समीकरण फेर्नेगरी संवाद बाक्लिएको सूचना बाहिरियो।

उता, सिंगापुरमा रहेका देउवाले पनि त्यहीँ राजनीतिक भेटघाट गरिरहेको हल्ला फैलियो।

त्यसलाई बल पुर्‍याएको थियो- उनले सिंगापुर बसाइ लम्ब्याएर १० दिन पुर्‍याउनू।

अर्थात्, सात दिनका लागि सिंगापुर गएका देउवाले ३ दिन समय थप गरे। 

देउवा शुक्रबार नेपाल फर्किसकेका छन्। सुरुमा नेताहरूसँग ब्रिफिङ लिए। उनले थाहा पाए- आफ्ना केही नेता एमालेसँग संवादमा छन्। 

‘शेखर दाइ र एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरुबीच भेटघाट बाक्लो भइरहेको सूचना सभापतिजीलाई आएको छ,’ देउवानिकट एक नेताले  नेपालखबरसँग भने, ‘यसबारे शेखर दाइले प्रस्ट पार्नुभएको छ।’

राजनीतिक माहोल तात्तिएका बेला देउवा शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार गए। दुई नेताले केहीबेरको कुराकानीपछि बाहिरका हल्लाबारे गठबन्धनलाई यथार्थ जानकारी दिनुपर्ने निष्कर्ष निकालेर त्यही दिन अपराह्न ४ बजे बैठक बोलाइयो। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबाहेक सबै नेता निर्धारित समयमै बालुवाटार पुगे। र, सुरुमै सत्ता गठबन्धन भत्काउन लागि भइरहेका प्रयासबारे देउवालाई सोधे। 

‘यो गठबन्धन भत्किन्छ, सरकार बदलिन्छ भनेर एमाले हिँडिरहेको छ, हाम्रो सरकार के हुन्छ भनेर सोध्यौं,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालखबरसँग भने।

बालुवाटारमा डेढ घण्टा छलफल हुँदा केहीबेर देउवालाई निरन्तर प्रश्न सोधिएको उनले बताए। उसै त छोटो उत्तर दिने देउवाले कूटनीतिक जवाफ फर्काएको उनको भनाइ छ। 

‘तपाईँले सिङ्गापुरमा पहिला केपी ओलीले भेटेको जस्तै व्यक्तिसँग राजनीतिक भेट गर्नुभयो भन्ने छ, वास्तविकता के हो?,’ देउवालाई सोधिएको यस्तो प्रश्नमा उनको जवाफ उधृत गर्दै पाण्डेले भने, ‘कसैसँग सम्पर्क गरेको छैन, मलाई भेट्न कोही आएको पनि होइन, मिडियालाई भेटेको पनि छैन, यता त अनावश्यक हल्ला भइसकेछ।’ 

बैठकमा देउवाले थपे, ‘म उपचार गर्न गएको हुँ। अनावश्यक हल्ला मात्रै हो।’ 

देउवाले पार्टीबाट अहिलेको गठबन्धन भत्काउन कुनै गतिविधि नहुने आश्वस्त पारेको पाण्डेले बताए। देउवाको जवाफपछिको निष्कर्ष सुनाउँदै पाण्डेले थपे, ‘सरकार ढल्ने कुनै संकेत, कारण छैन, देखिएन।’

‘देउवाजीको कुरा सुन्दा बाहिर चलेका सबै हल्ला हावादारी रहेछन्,’ पाण्डेले भने, ‘दलमा पनि बहुमत, केन्द्रीय समितिमा पनि बहुमतमा हुनुहुन्छ, उहाँले नचाहिकन केही हुँदैन।’

‘देउवाजीले इमान्दारपूर्वक जवाफ दिनुभएको जस्तै लाग्छ, गठबन्धन र सरकारको विकल्प खोज्न आफू नलाग्ने प्रस्ट पार्नुभएको छ,’ उनले थपे।

प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि चैत १७ गते कांग्रेस भित्रिएको हो। हाल सरकारमा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी छन्। जनमत पार्टी र दुई स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहसहित प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने सांसद संख्या १५९ छ। 

यस आधारमा प्रचण्ड नेतृत्वको सरकार बहुमतमा छ। 

यही बेला चलेको सत्ता समीकरण फेरदलको चर्चाले शीर्ष तहमा पनि स्थान पाएको हो। 

बालुवाटारकै बैठकमा गठबन्धनमा तनाव ल्याउन सक्ने बजेटका विषयमा पनि समझदारी बनेको छ। नेताहरुका अनुसार अन्योल पार्ने, समीकरणमा दूरी बढाउने कुनै पनि विषय समाधान गरेर जाने सहमति शीर्ष तहमा भएको छ। 

बजेटप्रति सत्तापक्षकै सांसदहरू असन्तुष्ट छन्। एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, जनमत पार्टीसमेत रुष्ट छन्। कांग्रेसले एकलौटी बजेट ल्याएको उनीहरुको आरोप छ। प्रतिपक्ष एमाले त बजेटको विरोधमै छ।

‘बजेट असन्तुलित भयो, सत्तापक्ष भएर पनि कडैसँग विरोध गर्न बाध्य भइयो,’ पाण्डेले निष्कर्ष सुनाए, ‘सांसदलाई बजेट निर्माणमा पूर्णरुपमा सहभागी बनाउने समझदारी बनेको छ।’

‘असन्तुलित भएको बजेट सन्तुलित बनाउन के के गर्नुपर्छ कानुनले मिलेसम्म गर्ने र अर्थमन्त्रीले ध्यान दिनुपर्छ भनेर समझदारी बनाएका छौं।’

जेठ १५ गते ल्याएको बजेटमाथिको छलफल सोमबार सकिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .