राजनीति


तीन जनाले लेखेको रास्वपाको दस्तावेज पुनर्लेखनमा खटिए १७ नेता

धर्म र नेपालको इतिहासले बढेको थियो विवाद
तीन जनाले लेखेको रास्वपाको दस्तावेज पुनर्लेखनमा खटिए १७ नेता

फाइल तस्बिर


सागर न्यौपाने
असार ८, २०८० शुक्रबार १९:३८, काठमाडौँ

तीनजनाले लेखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दस्तावेज पुनर्लेखनको काम अब १७ जनाले गर्ने भएका छन्।

जेठ १६ गते महामन्त्री डा. मुकुल ढकालसहितले कोशी प्रदेशको भेडेटारमा एक हप्ता लगाएर तयार पारेको मस्यौदामा समेटिएका विषयप्रति नेताहरुले असन्तुष्टि जनाएपछि पुनर्लेखनका लागि ठूलो संख्या खटाइएको हो। 

६८ पृष्ठको दस्तावेजको मस्यौदा व्यापक छलफल नभएर लेखिएको निष्कर्षपछि रास्वपा पुनर्लेखनमा गएको हो।

यही आइतबारदेखि मस्यौदा पुनर्लेखन सुरु हुने महामन्त्री एवं प्रवक्ता डा. ढकालले जानकारी दिए। 

बिहीबार बालाजुस्थित नयाँ पार्टी कार्यालयका बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दस्तावेज लेखनमा धेरै नेता परिचालन गर्ने निर्णय गरेको हो।

पुनर्लेखन गरेर दोस्रो मस्यौदा तयार पार्न महामन्त्री ढकाल, सन्तोष परियार, डा.स्वर्णिम वाग्ले, मनिष झा, शिशिर खनालसहित केन्द्रीय सदस्य रमेश प्रसाईं, कमल सुवेदीको नाम निश्चित भइसकेको छ। बाँकी नेताहरुको नाम  शनिबारसम्म संकलन भइसक्ने उनले बताए। 

दस्तावेज पुनर्लेखनमा डेढ महिनाको समय दिइएको छ। 

‘नयाँ ठूलो टिमले दोस्रो मस्यौदा तयार पार्छ,’ प्रवक्ता ढकालले नेपालखबरसँग भने, ‘तेस्रो मस्यौदा फेरि अर्काे नयाँ टिमले तयार पार्छ। त्यसो गर्दा दस्तावेजमा सबै पक्ष समेटिन्छ भन्ने विश्वास हो।’

विवाद नभएको भए ढकालसहित तीन नेताले बनाएको दस्तावेज बिहीबार पार्टी स्थापना दिवसको अवसर पारेर पारित गर्ने तयारी थियो।

तर, धेरै विषय छुटेको भन्दै मस्यौदाप्रति रास्वपाका अधिकांश नेता सहमत भएनन्। त्यसैले मस्यौदा रोकिएको थियो।  

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी प्रस्ताव गरिएपछि केही नेता झस्किएका छन्।

धर्म र नेपालको इतिहासबारेको चित्रण राम्रोसँग गर्न नसकेका  कारण पार्टीभित्र विवाद बढेको थियो। केही सांसदहरुले असहमति दर्ज नै गराएका थिए। 

त्यही कारण पहिलो दस्तावेज पुनर्लेखन गर्ने निर्णय भएको हो।

पुनर्लेखन गर्न पार्टीमै रहेका विज्ञ नेताहरुको टिम बनाइएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए।

‘नयाँ युगको नयाँ संकल्प’ नारा दिएर तयार मस्यौदा सुरुमै विवादमा परेपछि अन्य नेताहरु थप गरिएको हो।

उनका अनुसार दोस्रो मस्यौदामा धेरै नयाँ विषय समावेश हुनेछ। 

संशोधन गर्न भनेर पठाइएको ड्राफ्टमै नेताहरुले अनावश्यक विवाद गरेकामा प्रवक्ता ढकालको गुनासो छ।

‘सुझाव माग्न पठाएको ड्राफ्ट सार्वजनिक गरेर विवादमा पार्न खोजिएको हो,’ ढकालले भने, ‘अब केही नयाँ नेता मिलेर तयार पार्छौँ।’

नयाँ दलका रुपमा जन्मिएको एक वर्षमा रास्वपाले प्रतिनिधि सभाको चुनाव र उपचुनाव लड्दा बाचा पत्र मात्र सार्वजनिक गरेको थियो।

पछिल्लो दिन तीव्र रुपमा संगठन विस्तारमा लागेको रास्वपाले वडा तहसम्म संगठन बनाइरहेको छ। दुई लाख सदस्य पुगेको उसको दाबी छ। 

संगठनलाई प्राथमिकता दिएर पार्टीको दस्तावेज लेखिएको प्रवक्ता ढकाल बताउँछन्।  

रास्वपाप्रति नयाँ व्यक्तिहरुको आकर्षण बढ्दै छ। बिहीबार चर्चित बैंकर अनिलकेशरी शाह प्रवेश गरेका छन्। 

कुनै दलमा नलागेका तटस्थ व्यक्तिहरु पनि रास्वपातिर खुल्न रुचि देखाएको भन्दै नेताहरु हौसिएका छन्। 

नेपाली कांग्रेस र एमालेमा राजनीति गरेका अनुभवी नेताहरु अहिले रास्वपामा छन्।

केही जिल्लाबाट प्रवेश गर्ने तयारीमा रहेको सन्देश सभापति रवि लामिछानेलाई पठाएका छन्। 

रविको विश्लेषण छ–अहिले देशभरबाट पार्टीप्रतिको यो आकर्षण कायम रहन्छ। त्यही भएर उनले ‘मिसन ०८४’ योजना अघि बढाएका छन्।

दस्तावेज लेखिसकेपछि रास्वपाले एकपटक सबै जिल्लामा केन्द्रीय नेतालाई लगेर अभियान अघि बढाउने योजना बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .