ad ad

राजनीति


रवि लामिछानेको चाहना : बालेन्द्र र हर्क साम्पाङ पनि रास्वपामा आइदिए हुन्थ्यो

रवि लामिछानेको चाहना : बालेन्द्र र हर्क साम्पाङ पनि रास्वपामा आइदिए हुन्थ्यो

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १४:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनका लागि तयार भएको कुरा मतपत्रमा जाहेर हुन थालेको बताएका छन्। 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जाहेर हुन थालेको बताएका हुन्। 

उनले त्यसको स्पष्ट संकेत देखिइसकेको बताए। उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए। 

रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको उनको तर्क थियो।

‘अत्यन्त सकारात्मक र ऊर्जावान नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको यात्राका रुपमा मैले पाएको छु। सुरुवात गर्दा हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन’, उनले भने, ‘समाजले परिवर्तन खोजेको छ भन्ने कुरा हामीलाई थियो। तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने संकेतका रुपमा घन्टी बजिसके सकेको छ। यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो। यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु।’

सञ्चारकर्मीसँगको संवादका क्रममा सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए। 

उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए। दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उनले बताए।

‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहाना छँदैछ। चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनु भयो भने हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छौँ। हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ। उहाँहरुको कामको प्रशंसा गरेकै छु। चुनाव लड्दादेखि निरन्तर उहाँहरुको राम्रो काममा सघाउन निरन्तरता दिएकै जस्तो लाग्छ’, उनले भने, ‘त्यो आफैँमा राम्रो संकेत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुशीको कुरा हुनेछ।’

उनले देशमा नेतृत्वको अभाव रहेको कुरा महसुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्न पार्टीमा आएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .