ad ad

राजनीति


भू-राजनीतिक जटिलता ख्याल नगरे नेपाल थप अप्ठ्यारोमा पर्छ : पुन

कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान सोच आवश्यक
भू-राजनीतिक जटिलता ख्याल नगरे नेपाल थप अप्ठ्यारोमा पर्छ : पुन

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १३:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेपालले भू-राजनीतिक जटिलताको संवेदनशीलतालाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा कूटनीतिक परिपक्वता र दुरदर्शिता देखाउन नसके नेपालले अहिलेको भन्दा असहज परिस्थितिको सामना गर्नुपर्ने स्थिति आउन उनको भनाइ थियो। कूटनीतिक सम्बन्धबारे सत्तापक्ष र प्रतिपक्षबीच समान सोच र धारणा हुनुपर्नेमा उनले जोड दिए।

अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा दलगत हितभन्दा माथि उठेर राष्ट्रहिलाई प्राथमिकतामा राख्नुपर्ने पुनले बताए। ‘हामी भूराजनीतिक जटिलताको सामना गरिरहेका छौं’, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मंगलबार पुनले भने, ‘कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ, राष्ट्रिय स्वार्थलाई गौण बनाएर दलगत स्वार्थमा चल्दा हामी अप्ठेरोमा पर्ने स्थिति छ।’

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ‘प्रथम महिला’ बारे जवाफ दिने दायित्व परराष्ट्र मन्त्रालयको भएको उल्लेख गरे। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उनकी स्वकीय सचिवसमेत रहेकी पुत्री गंगा दाहालको सक्रियता र कतिपय भेटहरुमा उनको उपस्थितिलाई लिएर एमालेसहित प्रतिपक्षी दलले प्रश्न उठाएका थिए।

पुनले राष्ट्रप्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने र कसलाई नमान्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने र परराष्ट्र मन्त्रालयले त्यसमा अग्रसरता देखाउनुपर्ने उल्लेख गरे। विगतमा गिरिजाप्रसाद कोइरालादेखि प्रथम राष्ट्रपति डा. रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई प्रथम महिलाका रुपमा लगेको स्मरण पुनले गरे।

‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रूपमा लाने प्रचलन पहिल्यैदेखिको हो’, उनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने नै थिएन।’ राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण को पदमा हुँदा भयो भन्ने आधारमा धारणा बनाउन नमिल्ने तर्क उनले गरे।

फरक प्रसंगमा पूर्वऊर्जामन्त्री समेत रहेका पुनले  प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता र समुन्द्रसम्मको पहुँच विस्तार गर्ने विषयमा भएका सहमति महत्वपूर्ण भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .