राजनीति


समाजवादी मोर्चाले गर्ला चार दलको संकटमोचन?

समाजवादी मोर्चाले गर्ला चार दलको संकटमोचन?

सागर न्यौपाने
असार ४, २०८० सोमबार २२:४४, काठमाडौँ

पछिल्लो दिन राजनीतिक दलप्रति आम मानिसमा ठूलो निराशा छ। युवाहरु नेताका कुरा सुन्न तयार छैनन्। देश बिगारेको नेताले नै हो भन्ने उनीहरूमा परेको छ। 

त्यही भएर ३० वैशाख र ४ मंसिरको चुनावमा केही नयाँ दल उदाए। स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरे।

यसले गरेको संकेत हो– अब परम्परागत राजनीति गरेर जनविश्वास जित्न कठिन छ। आजका युवाको सोच्ने तरिका फरक भैसक्यो। एकातिर नयाँ दलको उदय, अर्कोतिर नयाँ मतदातामा आएको जागरण। 

अहिलेको मतदातालाई पार्टी वा विचारभन्दा डेलिभरीमा विश्वास छ भन्ने देखियो। मतदातामा आएको यस्तो परिवर्तनले केही राजनीतिक दलहरुलाई भने अप्ठेरो परेको छ।

यही विश्लेषण गरेर हुनुपर्छ, संसदमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी र संसदमै नरहेको नेपाल कम्युनिस्ट पार्टीले एकै ठाउँमा रहने निर्णय गर्दै समाजवादी मोर्चा नेपाल बनाएका छन्।

मोर्चामा रहेका चारै दलको भविष्य अन्यौलग्रस्त देखिन्छ। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेका अनुसार चारै दल कमजोर अवस्थामा छन्।

‘वैचारिक र संगठनात्मक रुपमा गम्भीर संकटमा परेका पार्टीहरुले मोर्चामार्फत संकटमोचन हुन्छ कि भनेर प्रयत्न गर्नु नकारात्मक विषय कदापि होइन,’ न्यौपानेले लेखेका छन्।

न्यौपानेको बुझाइमा माओवादी बलियो बन्न नसक्नुको मुख्य कारण निरन्तर सरकार रहनु नै हो।

संविधान सभाको दोस्रो चुनावमा तेस्रो भएपछि माओवादीले एक्लै चुनाव लडेको छैन। ०७४ मा एमालेसँग तालमेल भयो, ०७९ मा नेपाली कांग्रेससहित ४ दलबीच तालमेल र सिट बाँडफाँट भयो।

गणतन्त्र, संघीयता, समानुपातिक र समावेशी सिद्धान्तलाई संविधानमै लिपिबद्ध गराउन सफल माओवादी १५ वर्षमै किन अन्य दलको सहारामा पुग्यो? 

पोलिटब्युरो सदस्य न्यौपानेको तर्क छ, ‘सत्ताकेन्द्रित बन्दा जनताको अपेक्षा पूरा गर्न सकिएन। अहिलेको जनताले डेलिभरी खोजेको छ।’

४ मंसिरको चुनावमा ३२ सिट जितेको माओवादीले अहिले सरकारको नेतृत्व गरिरहेको छ। संसदमा तेस्रो शक्ति माओवादीले कांग्रेससहितको गठबन्धनको साथ पाएको छ।

तर, उसका आगामी एजेन्डा र बाटो स्पष्ट छैन।

मोर्चामा रहेको अर्को दल जसपा पनि यस्तै द्विविधाको सामना गरिरहेको छ। चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र कैलाली, बर्दिया लगायत जिल्लामा नागरिक उन्मुक्ति पार्टीले शक्ति विस्तार गर्दै जाँदा जसपा कमजोर भएको छ। 

गत चुनावमा राउतसँग जसपा अध्यक्ष उपेन्द्र यादव आफैँ फराकिलो अन्तरले पराजित भए। यद्यपि १० वैशाखमा बारा २ मा उपचुनाव जितेर यादव फेरि संसद् फर्कन सफल बने।

जसपाको राजनीति पनि संशयमा छ।

नेकपा एमालेबाट विभाजन भइ बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सबैभन्दा बढी संकटमा छ। चैतयता केही वरिष्ठ नेताहरू पार्टी छोडेर एमाले प्रवेश गरेपछि नेता जोगाउनुपर्ने चुनौती छ।

एकीकृत जनक्रान्ति गर्ने भनेर लागेका विप्लव १६ जनाको अनाहकमा ज्यान गएपछि र झण्डै सय नेता कार्यकर्ता पक्राउ परेपछि वार्तामा आएका थिए। यो पार्टीको पनि भविष्य स्पष्ट छैन।

मोर्चा घोषणा गर्ने कार्यक्रममा बोल्ने नेताहरुले भने आफूहरुमाथि आइपरेको संकटका बारेमा बताएनन्। माओवादीका महासचिव देव गुरुङले  विचार र सैद्धान्तिक एजेन्डा मिल्नेबीच मोर्चा बनाएर एकतासम्म पुग्ने बाटो खुला गरिएको बताए।

‘बाहिर कसले के भन्छ, आलोचना गर्छ कि सम्मान गर्छ, त्यो हाम्रो चासोको विषय परेन, हामी पहिला यो व्यवस्था जोगाउन एकै ठाउँ उभिएका हौं,’ गुरुङले भने, ‘संसदवादमा संख्याको अर्थ रहन्छ, एकै ठाउँ उभिएपछि थप बलियो बन्ने कुरा त भइहाल्यो।’

‘नयाँ दल र नयाँ राजनीतिक नेतृत्वहरु सही भएनन भने देश गहिरो द्वन्द्वमा फस्छ,’ उनले भने, ‘त्यसबेला अप्रिय घटना रोक्न एउटा शक्ति चाहिन्छ।’

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको भने अधिकतम सांसदलाई आफ्नो नेतृत्वमा एकत्रित गर्ने रणनीति देखिन्छ।

जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले अन्य केही दल समेटेर ठूलो मोर्चा बनाउने बताए। समाजवादी मोर्चाको प्रस्तावना उनैले लेखेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारमा भएको पार्टी र बाहिर भएका पार्टी पनि यस मोर्चामा रहेको भन्दै उनले परिवर्तन र उपलब्धिको रक्षा गर्न मोर्चाले भूमिका खेल्ने बताए। 

‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो,’ उनले भने, ‘यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ। यसरी यसअघि प्रयोग भएको छैन।’

उनले यो नेपालको इतिहासमा एउटा संयोग बनेको पनि बताए।

‘अग्रगमन र पश्चगमनको लडाइँमा नेपाल उभिइरहेको छ। यो परिस्थिति सामान्य छैन। यो परिस्थितिमा चार राजनीतिक दलको छलफलपछि सबैको सुझाव र चाहना अनुरुप आजको संकटबाट देशलाई अन्त्य गर्नुपर्छ,’ विप्लवले भने, ‘प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .