राजनीति


एकीकरणको २० महिनामा ओली दाहालबीच दोस्रो द्वन्द्व

एकीकरणको २० महिनामा ओली दाहालबीच दोस्रो द्वन्द्व

मणि दाहाल
पुस २७, २०७६ आइतबार १५:२,

नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको २० महिनाको अवधिमा दुई अध्यक्षबीच दोस्रो पटक चर्को द्वन्द्व देखिएको छ। गत जेठको पहिलो साता अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारको नेतृत्व आधाआधा गर्ने सहमति भएको भनि सार्वजनिकरुपमै दाबी गरेपछि पार्टीका दुई अध्यक्षबीच मनमुटाव बढेको थियो।

दुई अध्यक्षबीच बढेको असमझदारी दाहालको सार्वजनिक अभिव्यक्तिपछि उत्कर्षमा पुगेको थियो। त्यसले गर्दा भर्खरै एकिकृत भएका पूर्वएमाले र पूर्वमाओवादीबीच फेरि भिन्नता देखिन थालेको थियो। करिब तीन महिनाको प्रयासपछि भदौको पहिलोसाता यो विषयलाई सुरक्षित अवतरण गराइएको थियो।

त्यसको चार महिनापछि अहिले फेरि सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच असमझदारी सतहमैं पोखिएको छ। प्रधानमन्त्री ओली पूर्वएमाले सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहेका छन् भने दाहालले पूर्वमाओवादीसँग रहेको सभामुख पद कुनै हालतमा नछाड्ने पक्षमा देखिन्छन्। पार्टीका दुई कित्तालाई प्रतिनिधित्व गर्ने यी दुई नेताबीच देखिएको यो विवादले फेरि नयाँ चरणको अन्तरपार्टी शक्तिसंघर्षको रुप लिन थालेको छ। यसले दुवै नेताहरुबीच एक अर्कोप्रति अझै पनि अविश्वास र संशय कायमै छ भन्ने देखाएको छ।

ओलीलाई पुरै पाँच वर्षे कार्यकाल नै प्रधानमन्त्री बनाउने सहमति गर्दा समेत सभामुख पनि आफूनिकट नेतालाई नै बनाएर पूर्वमाओवादी पक्षको अस्तित्वलाई नै स्वीकार गर्न नचाहेको पूर्वमाओवादी नेताहरुको बुझाइ छ।

‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष सबै प्रधानमन्त्री ओलीकै रोजाईका व्यक्ति नै छन्। उहाँ अहिले सभामुख पनि आफूनिकट नेताहरुलाई बनाउने अडानमा हुनुहुन्छ,’ दाहाल निकट एक नेताले भने, ‘हाम्रो त अस्तित्व नै स्वीकार गर्न खोज्नुभएको छैन।’

सभामुख चयनको विषयका कारण दुई अध्यक्षबीच दूरी बढीरहेको समयमा गतसाता भैसेपाटीस्थित बामदेव गौतमको घरमा अध्यक्ष दाहालसहित सचिवालयका नेताहरुको बैठक बसेपछि फेरि त्यो अविश्वासलाई झनै मलजल गरेको छ।

दुई अध्यक्षबीच छलफल हुने, त्यसपछि सचिवालयबाट निर्णय गर्ने जुन अभ्यास थियो त्यसलाई भैसेपाटी बैठकले तोडेको आरोप बालुवाटारको छ।

‘पहिले दुवै अध्यक्षबीच छलफल हुने, त्यसपछि सचिवालयबाट निर्णय गर्ने परिपाटी बसेको थियो। भैसेपाटीले त्यो परिपाटीलाई तोडेको छ। जसको कारणले दुवै अध्यक्षबीच अविश्वासको अवस्था आउने नै भैहाल्यो,’ बालुवाटार श्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने र पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई बनाउने विषयमा दुवै अध्यक्षहरुबीच सहमति भएसँगै जेठदेखि शुरु भएको आपसी विवाद टुङिगएको थियो।

प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएका नेताहरुमध्ये झलनाथ खनालको वरियताको विषयमा रहेको गुनासो सम्बोधन गरेर तेस्रो वरियता दिइएको थियो भने बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अघि सारेर उनको गुनासो पनि सम्बोधन गरिएको थियो।

तर पछिल्लो समयमा उपाध्यक्ष गौतम र खनाल पनि प्रधानमन्त्री ओलीसँग फेरि असन्तुष्ट देखिएका छन्। दुवै अध्यक्षबीच सहमति हुँदा पार्टी वरियतामा एक स्थान तल झारिएका सचिवालय सदस्य माधवकुमार नेपाल प्रधानमन्त्री ओलीसँग पहिलेदेखि असन्तुष्ट रहँदै आएका छन्। सचिवालयका सदस्यहरुमध्ये बहुमत नै पुग्ने गरि दाहाल, खनाल, नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहितको बैठक गौतम निवासमा बुधबार बसेर ओलीलाई फेरि नयाँ चरणको दबाब दिइएको थियो।

‘दुई अध्यक्षका बीचमा जेठमा पहिलो पटक द्वन्द्व देखिएको थियो। त्यसपछि अहिले सभामुख चयनका कारण फेरि द्वन्द्व बढेको देखिन्छ। पहिलो विवादले राज्य सञ्चालनतर्फ समस्या परेको थिएन किनभने पार्टीको आन्तरिक मामिला थियो,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘तर यसपटकको द्वन्द्वले भने राज्य सञ्चालनमा समेत समस्या परेको छ। लगातार संसदको बैठक स्थगित गर्नुपर्ने अवस्थाले राम्रो सन्देश गएको छैन।’

दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन भने उपसभामुख शिवमाया तुम्बाहाङफेले आफूले राजिनामा दिनुअघि नै सभामुखका बारेमा निर्णय हुनुपर्ने अडान राखेपछि सो विषय थप जटिल बनेको छ।

जसका कारण लगातार तेस्रो पटक (आइतबार) सूचना टाँसगरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। तर दाहालनिकट स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने दुवै अध्यक्षबीच खासै समस्या नभएको दावी गर्छन।

‘जोडकोणको केही विषय नमिलेको हुनसक्छ। तर दुवै अध्यक्षहरु सामुहिक निर्णय गरेर जाने पक्षमै हुनुहुन्छ। त्यसैले दुवै अध्यक्षबीच दूरी बढ्यो भन्ने अवस्था आइसकेको छैन,’ देवेन्द्र पौडेलले भने, ‘भैंसेपाटीमा नेताहरु भेला भएकै कारण ठूलो विवाद सिर्जना गर्छ जस्तो लाग्दैन। राजनीतिक दलभित्र यस्तो घट्ना स्वभाविक हो।’

शनिबार भएको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई स‌सदमा उपसभामुखबाट राजिनामा गर्न आग्रह गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री निवास बालुवाटारमै भएको सो बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित थिएनन्। मृगौलाको डाइलासिस गरेर आराम गरेको समयमा बैठक भएको थियो।

‘उपसभामुखबाट राजिनामा गराउने विषयमा सचिवालय बैठकले निर्णय गर्दा प्रधानमन्त्री उपस्थित हुनुहुन्थेन। निर्णय गर्नेहरुले नै कार्यान्वयन पनि गराउनु होला नी?’ बालुवाटार स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .