ad ad

राजनीति


‘अखण्ड भारत’बारे ओलीको प्रश्न- नक्सा सच्याउ भन्न नसक्ने भए किन भ्रमणमा जाने?

‘अखण्ड भारत’बारे ओलीको प्रश्न- नक्सा सच्याउ भन्न नसक्ने भए किन भ्रमणमा जाने?

अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली।


नेपालखबर
जेठ १६, २०८० मंगलबार १६:२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन्। 

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कुपिलबस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीको प्रतिक्रिया थियो।

भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताए। 

‘प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्। त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ। यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने?’ ओलीको प्रश्न थियो।

अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने स्पष्ट पारे। 

‘लुम्बिनी, कपिलवस्तु भारतको नक्शामा पारेर संसद भवनमा काठमा कुँदेर संसदले राख्यो भने पछि यो भन्दा सानो छिमेकीलाई मैले देखेको छैन। सुनेको छु। भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्‍यो भने अथवा त्यो हटायो भने वा गल्ती महशुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ,’ उनले भने, ‘तर नेपालको भूमि आफ्नो नक्शा भित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्शा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए। 

अध्यक्ष ओलीले शक्ति राष्ट्रहरुले बलमिच्याई गरिरहेकाले कमजोर मुलुकहरुले न्यायको खोजी गरिरहनु परेको पनि पटकपटक दोहो¥याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .