ad ad

राजनीति


थाइल्यान्डको प्रधानमन्त्री बन्न लागेका ४२ वर्षीय नेता

राजपरिवारको आलोचना गर्दा जेल जानुपर्ने कानुन बदल्न चाहन्छन् पिता
थाइल्यान्डको प्रधानमन्त्री बन्न लागेका ४२ वर्षीय नेता

नेपालखबर
जेठ ६, २०८० शनिबार ११:२५,

गत आइतबार थाइल्यान्डमा भएको आम निर्वाचनमा आश्चर्यजनक रुपमा सेनानिकट पार्टीहरुलाई हराउँदै मुभ फरवार्ड पार्टीले विजय हासिल गर्‍यो। ५ सय सिटको संसदमा उसले १५१ सिट जितेको छ। वर्तमान प्रधानमन्त्री प्रयुथ चान ओचाको युनाइटेड थाइ नेसन पार्टीले मात्र २३ सिटमा चित्त बुझाउनुपर्‍यो।

यससँगै ४२ वर्षीय पिता लिम्जारोएनरात प्रधानमन्त्री बन्ने देखिएको छ। २००६ को कूमा सत्ताच्यूत गरिएका थाक्सिन सिनावात्राको पार्टी फिउ थाइ दोस्रो स्थानमा खुम्चियो। सो पार्टीका नेता चोलानन श्रीकाएयुले प्रधानमन्त्रीमा पितालाई नै समर्थन गर्ने घोषणा गरेका छन्।

पिताले पनि आफू प्रधानमन्त्री बन्नेमा ढुक्क रहेको बताएका छन्। तर, थाइल्यान्डमा प्रधानमन्त्री बन्न चुनाव जित्नु मात्र काफी छैन। 

मुभ फरवार्ड पार्टीका नेता पिताले बिहीबार पत्रकार सम्मेलन गर्दै आठ दलीय गठबन्धनसँग पूर्ण बहुमत रहेको घोषणा गरे। ५०० सिटको संसदमा आफूहरुसँग ३१३ सिट रहने उनको भनाइ छ।

‘आजको पत्रकार सम्मेलनको प्रमुख सन्देश भनेको जनतालाई मेरो गठबन्धन बलियोगरी निर्माण हुँदैछ भनेर विश्वस्त गराउनु हो,’ पिताले भने, ‘म प्रधानमन्त्री बन्ने दिनसम्मको एकदम स्पष्ट रोडम्याप तयार छ।’

को हुन् पिता?
पिता मुभ फरवार्ड पार्टीका नेता हुन्। सो पार्टी उदार विपक्षी पार्टी हो। उनका बुबा पोङसाक कृषि मन्त्रालयका सल्लाहकार थिए भने काका पदुङ अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका सहयोगी थिए।

थाई युवाहरुमा उनी अत्यन्त लोकप्रिय छन्। टिकटकमा उनी झनै भाइरल छ। उनको मुद्दा छ- सैन्यकरणको अन्त्य, एकाधिकारको अन्त्य र विकेन्द्रीकरण।

हावर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय छात्रवृत्ति पाउने उनी पहिलो थाइ विद्यार्थी हुन्।

स्कुलमा छँदा आफूले चुरोट तानेको र लडाइँ गरेको उनको भनाइ छ। ११ वर्षको हुँदा उनी न्युजिल्यान्ड गए। जहाँ उनी कृषि कर्म गर्ने स्थानीय एक परिवारसँग बसे। 

स्नातक अध्ययन गर्न उनी थाइल्यान्ड फर्किए। फाइनान्स र ब्यांकिङमा २००२ मा स्नातक गरे।

त्यसपछि उनले हार्वर्ड केनेडी स्कुलबाट पब्लिक पोलिसी विषयमा स्नतकोत्तर गरे भने एमआईटीबाट एमबीए।

राजनीतिमा प्रवेश गर्नुअघि उनले बहुराष्ट्रिय कम्पनीहरुमा बिजनेस एक्जिक्युटिभका रुपमा काम गरे।

२०१७ देखि २०१८ सम्म उनले थाइल्यान्डको राइड तथा फुड डेलिभरी एप ग्य्राब थाइल्यान्डको कार्यकारी निर्देशक भएर काम गरे।

२००६ मा बुबाको मृत्युपछि टाट पल्टिन लागेको एग्रिफुड नामक कम्पनीको सीईओ भएर पनि उनले काम गरेका थिए।

उनले टेलिभिजन अभिनेत्री चुटिमा तिपनार्टसँग २०१२ मा विवाह गरेका थिए। तर, दुई वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो। उनीहरुका एक छोरी छिन्।

पूर्वपत्नी चुटिमाले एक पटक पिताले आफूलाई कुटपिट गरेको आरोप लगाएकी थिइन्। तर, पछि उनले आफूलाई मनोवैज्ञानिक यातना मात्र दिएको बताइन्।

छोरीको रेखदेखको एकलौटी जिम्मा पिताको काँधमा छ। चुनावी र्‍यालीमा उनी बारम्बार छोरी बोकेर पुगेका देखिन्थे।

२०१८ मा उनी सांसद बने। त्यसलगत्तै सो पार्टीको नेताका रुपमा उनको उदय हुन थाल्यो। 

राजपरिवार सम्बन्धी कानुन बन्न सक्छ बाधक
थाइल्यान्डमा राजपरिवारको आलोचना गर्दा १५ वर्षसम्म जेल सजाय हुनसक्छ। गत केही वर्षमै २ सयभन्दा बढी मानिसलाई यही कानुनका आधारमा मुद्दा चलाइएको छ। पिता र उनको पार्टीले त्यो कानुन परिवर्तन गर्ने वाचा गरेका छन्। जसका कारण युवाहरु उनीप्रति आकर्षित छन्।

तर, सो कानुनलाई बदल्नै हुन्न भन्नेहरुको संख्या पनि ठूलो छ। चुनावमा तेस्रो स्थानमा आएको ७० सिट भएको भूमजयथाई पार्टीले यो कानुन बदल्न तयार नरहेको भन्दै गठबन्धन छाडेको थियो।

यसैकारण पिताको गठबन्धनसँग पर्याप्त बहुमत भए पनि उनलाई प्रधानमन्त्री बन्न नदिने खेल हुने चिन्ता थुप्रैमा छ। 

थाइल्यान्डमा २०१४ को सैन्य कूपछि बनाइएको संविधानअनुसार तल्लो सदन र २५० सदस्यीय सिनेटले संयुक्त रुपमा प्रधानमन्त्रीको चुनाव गर्नुपर्छ। तर, अहिलेका सबै सिनेटर कूपछि सत्ता हत्याएका जर्नेलहरुले नियुक्त गरेका हुन्।

त्यसैले संयुक्त रुपमा मतदान हुँदा आम निर्वाचन जितेकै मान्छे प्रधानमन्त्री चुनिने निश्चित भने छैन। त्यसका लागि ३७६ सिट आवश्यक पर्छ। जुन उनीहरुसँग छैन।

२०१९ को चुनाव फिउ थाइ पार्टीले जितेको थियो। तर, भएजति सबै सिनेटरले प्रधानमन्त्रीमा प्रयुथलाई नै समर्थन गरे र उनै प्रधानमन्त्री रहे। 

अहिले पनि कतिपय सिनेटरले पितालाई समर्थन नगर्ने बताइसकेका छन्। 

वर्तमान प्रधानमन्त्री तथा तत्कालीन सेना प्रमुख प्रयुथको नेतृत्वमा भएको सैन्य कूपछि नौ वर्ष थाइल्यान्डको शासनमा सेनाकै हालिमुहाली चल्यो।  मुभ फरवार्ड पार्टीको प्रगतिशील एजेन्डाहरुले सैन्य सत्ताबाट दिक्क भएका मानिसहरुको प्रतिनिधित्व गर्छ।

गठबन्धनमा भएका हरेक पार्टीको यो कानुनलाई लिएर आआफ्नै अडान छन्। पिताले अर्को साता साझा धारणा बनाउन गठबन्धनबीच सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .