राजनीति


घन्टीको आवाजसँगै रुसी सहरमा राष्ट्रियसभा अध्यक्षले पड्काए लेनिनको तोप (भिडिओ)

घन्टीको आवाजसँगै रुसी सहरमा राष्ट्रियसभा अध्यक्षले पड्काए लेनिनको तोप (भिडिओ)

रसियाको सेन्ट पिटर्सबर्गमा तोप पड्काउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना। तस्बिर : मारिना खर्रानोभा/रसिया


नेपालखबर
बैशाख १४, २०८० बिहिबार १९:३८, काठमाडौँ

पुराना र स्थापित भनिएका राजनीतिक दलविरुद्ध १० वैशाखमा तनहुँ–१ र चितवन–२ का जनताले उपनिर्वाचन तोप पड्काए–उपनिर्वाचनमार्फत्। दलहरुको सत्तामुखी चरित्र कति पनि मन परेको छैन भन्ने सन्देश कान खोलेर सुन्ने सन्देश मतदाताले ‘ब्यालेट बक्स’मार्फत दिए। 

तनहुँ र चितवनका मतदाताले ‘ब्यालेट बक्स’ रुपी तोप पड्काएर पुराना दलहरुलाई चेतावनी दिएकै दिन (२३ अप्रिल) राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना रुसी शहर सेन्ट पिटर्सबर्गमा साँच्चिकै तोप पड्काइरहेका थिए। 

स्मरणीय छ, सेन्ट पिटर्सबर्ग रुसको जारकालीन राजधानी शहर हो। रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर पनि यही हो। 

सोभियत नेता भ्लादिभिर इलिच (भीआई) लेनिनको नेतृत्वमा सन् १९१७ मा अक्टोवरमा क्रान्ति हुनु अघिसम्म रुसको राजधानी सेन्ट पिटर्सवर्ग नै थियो। नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना १० वैशाखमा सेन्ट पिटर्सवर्ग पुगेका थिए। 

विश्वका सबैजसो मुलुकमा विशिष्ठ अतिथि भ्रमणका क्रममा पुग्दा तोप पड्काएर सम्मान प्रकट गर्ने परम्परा छ। तर, रुसको जारकालीन राजधानी पिटर्सवर्ग पुग्ने शीर्ष अतिथिहरुको सम्मान फरक तरिकाले गरिन्छ। 

अर्थात्, सेन्ट पिटर्सबर्ग पुग्ने विदेशी अतिथिलाई उच्च सम्मान प्रकट गर्दा त्यहाँको दरबारअगाडि राखिएको अक्टोबर क्रान्तिकालीन तोप पड्काउने अवसर प्रदान गरिन्छ। 

मध्यान्ह ठीक १२ बजे पड्काइने यो तोप पड्काउने अवसर त्यसदिन अध्यक्ष तिमिल्सिनाले पनि प्राप्त गरेका थिए। 

सन् १९१७ सम्म रुसको राजधानी रहेकाले लेनिनको नेतृत्वमा भएको क्रान्तिको केन्द्रस्थल पनि सेन्ट पिटर्सबर्ग नै थियो। लेनिनको नेतृत्वमा जब सशस्त्र मजदुरहरुले सेन्ट पिटर्सबर्ग कब्जा गरेसँगै रुसी अक्टोबर क्रान्ति सम्पन्न भएको थियो। 

भिडिओ

दोस्रो विश्वयुद्धका क्रममा सम्पन्न अक्टोबर क्रान्तिताका रुसी क्रान्तिकारीहरुले प्रयोग गरेका तोप लगायतक ऐतिहासिक हतियार त्यहाँ प्रदर्शनीमा राखिएका छन्।  

यसमध्ये एउटा ठूलो तोप दरबारअगाडि राखिएको छ। सेन्ट पिटर्सबर्गको भ्रमण गर्ने विदेशी शीर्ष अतिथिहरुप्रति सम्मान प्रकट गर्न रुस सरकारले त्यही तोप पड्काउने अवसर प्रदान गर्छ। अध्यक्ष तिमिल्सिनालाई पनि रुसी सरकारले त्यही तोप पड्काउन दिएर सम्मान प्रकट गर्यो। 

पड्काउनुअघि रुसी अधिकारीहरुले तोपमा गोला–बारुद हालेर तयारी अवस्थामा राखिदिएका थिए। 

संयोगचाहिँ के भने, ठूला राजनीतिक दलविरुद्ध चितवन–२ र तनहुँ–१ का मतदाताहरुले घण्टी बजाइरहेका बेला सेन्ट पिटर्सबर्गमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई तोप पड्काउने समयको जनाऊ दिन पनि घण्टीकै प्रयोग गरिएको थियो। 

तोप पड्काउन जनाउका लागि जब घण्टी बज्न थाल्यो, नेपाली प्रतिनिधिमण्डलका एक नेपाली सदस्यले ‘ऊ घण्टी बज्यो’ भनेको सुनिन्छ। घण्टीको आवाज थामिनासाथ अध्यक्ष तिमिल्सिनाले तोपको बटम दबाए। त्यसपछि तोप निकै ठूलो आवाजमा पड्कन पुगेको थियो। तोपको आवाजले अध्यक्ष तिमिल्सिना झस्कन पुगे।  

अध्यक्ष तिमिल्सिनाले रुसको उपल्लो सदन संघीय सभाको फेडेरेशन काउन्सिलका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्काको निमन्त्रणमा रुस भ्रमण गरेका थिए। तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलमा वामदेव गौतम (मनोनित) र रमेशजंग रायमाझी (नेपाली कांग्रेस) लगायत राष्ट्रिय सभाका सदस्यहरु थिए।  

सेन्ट पिटर्सबर्गमा नेपाली प्रतिनिधिमण्डललाई घुमाउन सहयोग गरेकी स्थानीय युवती मारिना खारमोभाले सहयोग गरेकी थिइन्।

उनले आफ्नो फेसबुकमा पोस्ट गरेको भिडियोमा तिमिल्सिनाले तोप पड्काउनै लाग्दा राष्ट्रिय सभाका वरिष्ठ सदस्य गौतमले नेपाली कांग्रेस पार्टीप्रति नकारात्मक टिप्पणी गरिरहेको सुन्न सकिन्छ। 

‘संसारभरिका मानिसहरुले गर्ने भेला, सम्मान (सम्मेलन) जम्मैको नाम हुन्छ– कंग्रेस’, गौतमले भनेका छन्, ‘अनि अंग्रेजहरुले प्रयोग गर्ने अंग्रेजी नाम ल्याएर आफ्नो पार्टीको नाम (नेपाली कांग्रेसले) राखेका छन्।’ 

गौतमले यसो भन्दै गर्दा राष्ट्रिय सभा अध्यक्षले तोपको बटम दबाउँछन्। त्यसपछि तोप ठूलो गर्जनकासाथ पड्कन्छ। तोपको गर्जनले सायद गौतम पनि झस्कन्छन्। र, नेपाली कांग्रेसको आलोचना गरिरहेका उनको वाक्य बन्द हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .