राजनीति


अमेरिका–इरान तनावः नेपालमा कस्तो असर?

अमेरिका–इरान तनावः नेपालमा कस्तो असर?

मणि दाहाल
पुस २०, २०७६ आइतबार ८:२१,

अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि पश्चिम एसियामा एक पटक फेरि तनाव चुलिएको छ। कतिपयले यो घटनालाई खाडी युद्ध र सन् २००३ मा अमेरिकाले इराकमाथि गरेको आक्रमणसँग तुलना गरेका छन्। यसबाट उत्पन्न त्रास विश्वभर महसुस गरिएको छ। शुक्रबार दिनभर ट्विटरमा ह्यासट्याग वर्ल्ड वार थर्ड ट्रेन्डिङमा रह्यो।

अमेरिका–इरान तनाव बढ्दै गए त्यसले नेपाललाई पनि असर गर्नसक्ने विश्लेषकहरु औँल्याउँछन्। यो घटनालगत्तै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। यसबाट सबैभन्दा बढी एसियाली मुलुक प्रभावित हुने छन्। नेपालजस्तै तेलका लागि पूरै आयातमा निर्भर अर्थतन्त्रलाई सबैभन्दा बढी मर्का पर्नेछ। पटकपटक इन्धन अभावका कारण समस्या बेहोर्न बाध्य नेपालीहरु पनि पछिल्लो तनावबाट झस्किएका छन्।

अर्थशास्त्री केशव आचार्य इरान र अमेरिकाबीचको तनाव जारी रहे नेपाली अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने बताउँछन्। खासगरी नेपालको पेट्रोलियम पदार्थ आयात र श्रमबजारमा असर पर्ने उनको भनाइ छ।

‘तनाव लामो समय रहँदा पेट्रोलियम पदार्थको मूल्य बढ्छ। जसले हाम्रो अर्थतन्त्रमा नकारात्मक असर गर्ने छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानीका सबै साधनको मूल्य बढ्छ,’ आचार्यले भने, ‘खाडी क्षेत्र हाम्रो रोजगारीका राम्रो गन्तव्य हो। तनाव लम्बियो भने पूरै क्षेत्र प्रभावित हुन्छ। जसले नेपालीको रोजगारी गुम्न सक्छ।’

नेपालको कुल आयातको करिब १३ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगट्दै आएको छ। प्रत्येक वर्ष ७५ अर्बदेखि १ खर्ब २५ अर्बसम्मको पेट्रोलियम पदार्थ नेपालले आयात गर्ने गरेको छ।

त्यस्तै, नेपालका करिब २० लाख मानिस खाडी क्षेत्रमा कार्यरत छन्। नेपालीको प्रमुख रोजगार गन्तव्य साउदी अरब, बहराइन, कतार, कुवेत, ओमानजस्ता देश इराननजिक छन्।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बारेमा अध्ययन गर्दै आएका त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय विभागका उप प्राध्यापक केशव बस्यालले खाडीको वैदेशिक रोजगारी नेपालीहरुका लागि स्वेच्छिक नभएर बाध्यकारी भएकाले यो क्षेत्रमा लामो समयसम्म तनाव जारी रहे त्यसले समस्या निम्त्याउने बताउँछन्।

‘मलेसियामा हामीले आफ्नो कारणले रोजगारी गुमाउँदै गएका छौं। अर्को वैदेशिक रोजगारीको गन्तव्य खाडी मुलुक हुन्,’ बस्याल भन्छन्, ‘यो तनावका कारण त्यहाँ रोजगारी गुम्ने अवस्था हुनसक्छ। तर, नेपालीका लागि खाडीको विकल्प छैन। त्यसैले तस्करीका साथ लागेर जाने र बढी शोषणमा पर्ने घटना बढ्नेछन्।’

‘खाडीमा काम गरिरहेका एक तिहाइ मानिस मात्रै फर्के पनि हामीले रोजगारी दिनसक्ने अवस्था छैन,’ उनले थपे।

त्यस्तै युद्धको अवस्था आए आफ्ना नागरिकलाई घर फर्काउन पनि नेपालका लागि ठूलो चुनौती हुने बस्याल बताउँछन्।

‘एक सय भन्दा कम मानिस रहेको लिबियामा युद्ध हुँदा तिनलाई ल्याउन नसकेर नेपालले भारतसँग गुहार माग्नु परेको थियो। यस क्षेत्रमा चर्किने युद्धले हजार मात्रै होइन लाखौँ नेपाली प्रभावित हुन्छन्,’ बस्यालले भने।

वैदेशिक रोजगारीमा जानेहरु फर्केपछि उनीहरुलाई रोजगार दिन नसक्दा सामाजिक शान्तिमा पनि असर पुग्नसक्ने आचार्यको तर्क छ। ‘नेपालमा रोजगारीमा चाप बढ्ने र बेरोजगार मानिसलाई नेत्रविक्रम चन्दको जस्तो समूहले प्रयोग गर्नसक्ने सम्भावना पनि रहन्छ,’ उनले भने।

इरानले अमेरिकासँग द्वन्द्वको जोखिम उठाउला?
इरानले सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बाचा गरेको छ। शनिबार मात्रै इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण भएको छ। अमेरिका र इजरायलले सम्भावित प्रतिशोधलाई ध्यान दिँदै सुरक्षित सतर्कता बताएका छन्। इरानले अमेरिकी जिउधनमाथि आक्रमण गरे ५२ स्थानमा हवाई आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

उसो त इरान अमेरिका द्वन्द्व नयाँ होइन। यी दुई मुलुकबीच चार दशकदेखि तनाव जारी छ। सन् १९७९ मा अमेरिका समर्थित इरानी शाहलाई अपदस्थ गरी इस्लामिक क्रान्ति भएपछि यी दुई मुलुकको सम्बन्ध स्थिर बन्न सकेको छैन।

बाराक ओबामाको कार्यकालमा अमेरिका, राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य तथा जर्मनीले इरानसँग गरेको आणविक सम्झौता डोनाल्ड ट्रम्पले गतवर्ष भंग गरे। त्यसपछि सुरु भएको तनाव सुलेमानीको हत्यासँगै चरमोत्कर्षमा पुगेको हो।

सिया बहुल राष्ट्र इरान सैन्य हिसाबले त शक्तिशाली छ नै, यो क्षेत्रकै महत्वपूर्ण खेलाडी पनि हो। उसले पूरै क्षेत्रमा छद्म समूह सञ्चालन गर्ने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ। अरब सागरमा अवस्थित इरान सामारिक दृष्टिले महत्वपूर्ण स्थानमा छ। सिरिया, यमनजस्ता मुलुकका द्वन्द्वमा इरानले साउदी अरबलाई उछिनेको छ।

‘अहिलेको अवस्थामा त्यस क्षेत्रमा सैन्य शक्तिको हिसाबले इजरायलपछि इरान शक्तिशाली देश हो,’ मध्य तथा पश्चिम एसियाका बारेमा अध्ययन गर्दै आएका डा. तारा जोशीले भने, ‘साउदी अरबको नेतृत्वमा कतारमाथि लगाएको नाकाबन्दी असफल हुनुको एउटा प्रमुख कारण इरानले कतारलाई दिएको साथ पनि हो।’

संसारको २० प्रतिशत तेल निर्यात गर्ने पर्सियन गल्फमा रहेको इरानले ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध गरे त्यसले पूरै विश्व बजारलाई प्रभावित पार्न सक्छ।

तर सामारिक विषयमा चासो राख्ने सांसद डा. दीपकप्रकाश भट्ट पछिल्लो तनाव अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावी प्रयोजनका लागि चर्काएको हुनसक्ने भएकाले युद्धको अवस्था आउने सम्भावना कम रहेको तर्क गर्छन्।

‘एक्लिएको इरान त्यति शक्तिशाली होइन। ऊ पूर्ण युद्धको अवस्था चाहँदैन। विश्वस्तरमा सैनिक कारवाही गर्ने क्षमता पनि छैन,’ भट्टले भने, ‘ट्रम्पले आप्रवासीको मुद्दा देखाएर पहिलो कार्यकालको चुनाव जिते। अब दोस्रो कार्यकालको मुद्दा इरान बन्नसक्छ।’

ट्रम्पले ‘युद्ध सुरु गर्न नभई युद्ध रोक्न’ सुलेमानीको हत्या गरिएको दाबी गरेका छन्। यद्यपि उनको दाबी सही हो भनेर पुष्टि गर्न ट्रम्प प्रशासनका अधिकारीहरुलाई धौधौ परिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .