राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रतिमा अनावरण गरेका छन्।
आज बिहान ८ काठमाडौंको हनुमानढोका पछाडि याट्खामा राष्ट्रपति पौडेलले जोशीको सालिक अनावरण गरेका हुन्।
यस अवसरमा राष्ट्रपति पौडेलले पूर्वमन्त्री नवीन्द्रराज जोशीको निष्ठावान् राजनीतिको प्रशंसा गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे।
उनले भने, ‘आफ्नो राजनीतिक विचार र आस्थाप्रति सधैँ इमान्दार निष्ठावान् भई त्यसैका माध्यमबाट नेपाली जनता, समाज र राष्ट्रको सर्वांगीण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहीको रूपमा काम गर्दागर्दै असामयिक मृत्युवरण गर्नुभएका नवीन्द्रराज जोशीप्रति म यस घडीमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’
मष्तिष्काघातका कारण १७ चैत २०७७ मा जोशीको निधन भएको थियो। उपचारका क्रममा उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष थिए।
प्रतिक्रिया