ad ad

राजनीति


बालकोटको निष्कर्ष : राष्ट्रपतिमा प्रचण्डले दुईतिर खुट्टो राखिसके

बालकोटको निष्कर्ष : राष्ट्रपतिमा प्रचण्डले दुईतिर खुट्टो राखिसके

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १८:१२, काठमाडौँ

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर दुई सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच दिनदिनै छलफल भइरहेको छ।

गत पुस १० गते सात दलीय गठबन्धन निर्माण भएर पुस ११ गते प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते नेपाली कांग्रेसको समेत विश्वासको मत पाएका थिए। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा पुस १० गते तत्कालीन पाँच दलीय गठबन्धन टुटेपछि तनावमा परेको कांग्रेसले पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक कोर्षमा फेरि नयाँ परिवर्तन देखियो।

पुस २६ मै कांग्रेसले विश्वासको मत दिने क्रममा संसदमा बोल्दै नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रपति या अन्य पदका लागि ढोक्सा थापेको भए त्यो खेर जाने बताएका थिए।

ओलीले त्यसो भन्दै गर्दा त्यसपछि भएका सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेसले माओवादीलाई आफ्नो साथमा लिन सकेन। 

तर, ओलीले यसअघिका संसद बैठकमा आफूले २०७७ र ०७८ मा दुई पटक गरेको संसद विघटनलाई लिएर आत्मआलोचित हुनुभन्दा झन् आक्रमक भएको भन्दै प्रचण्ड झस्किएको निष्कर्ष उनीनिकट नेताहरुको छ।

संसद विघटनको यही कुरालाई लिएर नेपाली कांग्रेसले पनि संवैधानिक पदहरुमा शक्ति सन्तुलन आवश्यक रहेको बताउँदै विश्वासको मतको गुन तिर्न दबाब दिइरहेको छ।

प्राविधिक रुपमा प्रचण्ड ओली नेतृत्वको गठबन्धनमै रहे पनि उनले कांग्रेस र एकीकृत समाजवादीसँगको निकटता पनि कायमै राखेका छन्। 

उनी आफैंले छलफल नगरे पनि उनको निर्देशनमा माओवादी नेताहरुले पटक पटक कांग्रेस र समाजवादीका नेताहरुसँग संवाद गरिसकेका छन्।

भर्खरै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भ्रमण सकेर फर्किएपछि शुक्रबार कांग्रेसले प्रचण्डलाई पाँच वर्ष पूरै प्रधानमन्त्री दिन सकिने कुरा सार्वजनिक गरेको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यदि प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाए पूरै पाँच वर्ष प्रधानमन्त्री पदमा समर्थन गर्न सकिने बताएका छन्। 

उनले पनि विगतमा कांग्रेसका अन्य नेताहरुले जस्तै एमालेलाई राष्ट्रपति पद दिँदा शक्ति सन्तुलन खल्बलिने भएकाले पहिलो दलका रुपमा प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउनुपर्ने बताएका छन्। 

राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने उनको तर्क थियो। 

पुस १० गतेसम्म प्रचण्डलाई पहिलो अढाई या दोस्रो अढाई वर्ष पनि प्रधानमन्त्री दिन तयार नभएको कांग्रेस अहिले एमालेलाई सत्ताबाहिर पठाउने गरी राष्ट्रपतिका लागि माओवादी फकाउन जुटिरहेको छ।

प्रचण्डसहितका नेतासँगको संवादका लागि कांग्रेस सभापति देउवाले संस्थापन इतर समूहमा रहेका महामन्त्री गगन थापालाई पनि अगाडि सारेका छन्। उनले पटक पटक यसबारेमा संवाद पनि गरिसकेका छन्। 

यही संवादबीच शुक्रबार कांग्रेस प्रवक्ताले पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर आफूले राष्ट्रपति लिने रणनीति सार्वजनिक गरेका हुन्। 

कांग्रेसले संस्थागत रुपमै प्रचण्डसँग यस्तो प्रस्ताव अघि सार्दै गर्दा शुक्रबार बालकोटमा सत्तारुढ नेताहरुको वार्ता भएको छ।

उक्त वार्ता अढाई घण्टासम्म चले पनि कुनै निष्कर्ष निस्किएन। प्रचण्डले पनि बालकोटबाट निस्किने क्रममा ओली र आफू एकै ठाउँमा रहेको जवाफ दिए। तर उनले अहिलेको मुख्य एजेन्डा राष्ट्रपतिबारे कुनै सहमति नभइसकेको खुलाए। 

'राष्ट्रपतिबारेमा एक दुई दिनमै कुरो मिलिहाल्छ', उनले बालकोटमा भने, 'हामी सत्ता गठबन्धनमै रहेकाले अरु कुरा भनिरहनै परेन।'

ओली र प्रचण्डबीच बालकोटमा अढाई घण्टा एक्ला एक्लै वार्ता भएको थियो। गठबन्धन जोगाउने कुरामा दुई नेता सहमत भए पनि राष्ट्रपतिबारे प्रचण्डको भूमिकालाई लिएर ओली सशंकित बन्दै गएका छन्। 

नयाँ राष्ट्रपतिबारे प्रचण्डको पछिल्लो भूमिकालाई लिएर ओलीले उनी पुस १० को सहमतिबाहिर गइसकेको निष्कर्ष निकालेको एक नेताले बताए।

'राष्ट्रपतिको विषयमा प्रचण्डले अहिले दुईतिर खुट्टा (एउटा कांग्रेसमा, अर्को एमालेमा) राखेको बालकोटको निष्कर्ष हो', ओलीनिकट ती नेताले भने, 'दुईतिर खुट्टो राखेर बसिसकेपछि जति वार्ता गरे पनि कुनै निष्कर्ष निस्किने अवस्था छैन।'

राष्ट्रपति निर्वाचनका लागि आगामी फागुन १३ गते मनोनयन दर्ता गर्ने मिति तोकिएको छ।

'पुस २६ गते विश्वासको मत दिएर 'ढोक्सा थापेको' कांग्रेसतिर पनि प्रचण्डले खुट्टा राखिसकेकाले तत्कालै कुरो मिल्ने देखिएन', ती नेताले भने, 'अहिलेकै अवस्थामा हामी उत्साहित हुने अवस्था छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .