राजनीति


चितवन उपनिर्वाचन : यी हुन् कांग्रेसबाट उम्मेदवारका दाबेदार

उमेश श्रेष्ठ भन्छन्- उम्मेदवार जो भए पनि मेरो जस्तो अवस्था नआओस्
चितवन उपनिर्वाचन : यी हुन् कांग्रेसबाट उम्मेदवारका दाबेदार

केशव सावद
फागुन १, २०७९ सोमबार १९:४९, काठमाडौँ

गत भदौ १८ मा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति–२ चितवनले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५ जना नेताको नाम उम्मेदवारका लागि सिफारिस गर्यो। 

जिल्ला कार्यसमिति चितवनलाई सिफारिस गरिएको पत्रमा नेताहरु जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, उमेश श्रेष्ठ, प्रकाश अधिकारी र राजन कार्कीको नाम उल्लेख थियो। 

मंसिर ४ को चुनावमा उम्मेदवार सिफारिस भएका ५ जनामध्ये तेस्रो नम्बरमा नाम उल्लेख गरिएका उमेश केन्द्रबाट टिकट लिएर चितवन–२ गए। 

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भए। 

तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन गइरहेको छ।

उपनिर्वाचनमा अहिलेसम्म यसअघि क्षेत्रीय कार्यसमितिबाट सिफारिसमा परेकै नेताहरुमध्ये तीन जना फेरि आकांक्षीका रुपमा देखिएका छन्। 

यसअघि पहिलो र दोस्रो नम्बरमा सिफारिस भएका जीतनारायण र राजेश्वर तथा तेस्रो नम्बरमा सिफारिस भएर उम्मेदवार बनेर पराजय बेहोरेका उमेश फेरि आकांक्षीका रुपमा देखिएका हुन्। 

जीतनारायण कांग्रेस चितवनका पूर्वसभापति, राजेश्वर वर्तमान सभापति र उमेश केन्द्रीय सदस्य हुन्। नेपालखबरसँगको टेलिफोन कुराकानीमा तीनै जनाले आसन्न उपनिर्वाचनका लागि आफू उम्मेदवारको स्वाभाविक दाबेदार भएको प्रतिक्रिया दिएका छन्। 

यसअघि पहिलो नम्बरमा सिफारिस भएका पूर्वसभापति श्रेष्ठले उम्मेदवारका लागि आफ्नो स्वाभाविक दाबी रहने प्रतिक्रिया दिए। 

‘यसअघि १ नम्बरमा सिफारिस भएको थिएँ। टिकट पाइनँ,’ उनले भने, ‘अब म स्वाभाविक उम्मेदवार हुँ।’ 

कांग्रेस चितवनका सभापति खनालले पनि चितवन–२ को उपनिर्वाचनका लागि उम्मेदवार बन्ने आफ्नो चाहना रहेको बताए। 

‘उम्मेदवारका लागि चाहना राखेको छु। जुन स्वाभाविक पनि हो,’ उनले भने, ‘सभापति पनि हुँ। सबैलाई मिलाएर एकताबद्ध भएर लैजाने कामको पनि ममाथि जिम्मेवारी छ।’

केन्द्रीय सदस्य श्रेष्ठ पनि उपनिर्वाचनमा टिकटका लागि पहिलो दाबी आफ्नो भएको बताउँछन्। यद्यपि, पार्टीले गर्ने निर्णय भने आफ्ना लागि स्वीकार्य रहने उनको भनाइ छ। 

‘नेपाली कांग्रेसको उम्मेदवार थिएँ। उपनिर्वाचनको टिकटका लागि नेताहरुसँग छलफल गर्छु। त्यो कांग्रेस बाहुल्य क्षेत्र हो। तर, पार्टीमै युनिटी नभएर र हुरीबतास आएर हारियो,’ केन्द्रीय सदस्य श्रेष्ठले नेपालखबरसँग भने, ‘उम्मेदवारका लागि दाबी पहिलो मेरो हुन्छ। तर, पार्टी जसलाई उठाउँछ त्यो मेरा लागि स्वीकार्य हुन्छ।’

‘सर्वसम्मत उम्मेदवार टुंग्याउनुपर्छ’
उपनिर्वाचनका लागि उम्मेदवारको आकांक्षा राखेका तीनै जना नेताहरु सर्वसम्मत रुपमा उम्मेदवारी टुंग्याउनु पर्ने पक्षमा देखिएका छन्। 

वैशाख १० का लागि तय भएको निर्वाचनलाई विषम् परिस्थितिको निर्वाचनका रुपमा व्याख्या गरिरहेका खनाल र श्रेष्ठमा केन्द्रबाट नभएर स्थानीय स्तरबाटै सर्वसम्मत उम्मेदवार टुंग्याउनु पर्ने भावना देखिन्छ। 

‘उम्मेदवारी सर्वसम्मत रुपमा तलैबाट टुंग्याउनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘यो विषम् परिस्थितिमा हुन लागेको चुनाव हो। यसका लागि केन्द्रभन्दा पनि यहीँ सर्वसम्मत टुंग्याउनु पर्छ भन्नेमा हामीहरु छौं।’

सभापति खनालले पनि उपनिर्वाचनका लागि सहमति र सहकार्यबाट उम्मेदवार तय गर्ने मनस्थितिमा आफूहरु रहेको प्रतिक्रिया दिए। 

‘उपचुनाव जुन परिस्थितिका बीच हुँदैछ यसको पहिलो दोषी रास्वपा हो। उसले राज्यलाई दुःख दियो। जनताले दुःख पाए,’ उनले भने, ‘हामी सहमति र सहकार्यबाट उम्मेदवार तय गर्नेमा छौं। एकताबद्ध भएर अघि बढ्छौं।’

केन्द्रीय सदस्य श्रेष्ठले पनि आफू सहमति र पार्टीले गर्ने निर्णयका लागि बाधक नहुने प्रतिक्रिया दिए। 

‘म घाइते उम्मेदवार हुँ। तर, पार्टीले पार्टीले जसलाई उम्मेदवार उठाउँछ, म त्यसका लागि बाधक हुन्नँ, स्वीकार गर्छु।’

उनले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने नेताले आफूले जस्तो अवस्था बेहोर्न नहुनेमा पनि जोड दिए। 

‘भोलिको दिनमा उम्मेदवार जो भए पनि मेरो जस्तो अवस्था नआओस्,’ श्रेष्ठले भने, ‘मलाई पार्टीका क्रियाशील सदस्यहरुले पनि भोट दिएनन्।’ 

के गर्छन् जगन्नाथ र दिनेश?
चितवन–२ मा उपनिर्वाचन हुन लाग्दा धेरैको ध्यान कांग्रेसले कारबाही गरेका चितवनका पूर्वसभापति जगन्नाथ पौडेल र केन्द्रीय सदस्य दिनेश कोइरालालगायतका नेताहरुमा गएको छ। 

पार्टीको निर्णयविपरीत स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पौडेल र कोइरालाले आसन्न निर्वाचनमा कस्तो भूमिका निर्वाह गर्छन् भन्नेमा धेरैको जिज्ञासा देखिन्छ। 

नेपालखबरसँगको टेलिफोन कुराकानीमा पूर्वसभापति पौडेल भन्छन्, ‘अहिले नै के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौं। भर्खर त तिथि–मिति तय भएको छ। हेर्दै जाउँ, स्थिति कस्तो आउँछ। मैदानमा कस्ता मान्छे आउँछन्। त्यसले वातावरण सिर्जना गर्छ।’   

उनी गत स्थानीय तह निर्वाचनमा पार्टीले भरतपुर महानगरपालिकाको प्रमुखका लागि अघि सारेकी नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालविरुद्ध ‘बागी’ उठेका थिए। 

१४ हजार ७२८ मतसहित पौडेल तेस्रो हुँदा दाहाल ५२ हजार २८ मतका साथ महानगरपालिका प्रमुखमा विजयी भएकी थिइन्। दोस्रो भएका नेकपा एमाले उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत पाएका थिए। 

यस्तै पार्टीले कारबाही गरेका केन्द्रीय सदस्य कोइराला चितवन–३ मा स्वतन्त्रतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। उनी १२ हजार २७५ मतसहित चौथो भएका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विक्रम पाण्डे ३५ हजार ६० मतसहित विजयी हुँदा कांग्रेसले समर्थन गरेका माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी २५ हजार ८२४ मत ल्याएर दोस्रो भएका थिए।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .