ad ad

राजनीति


सरकारलाई काम गर्ने असाधारण अवसर छ : उपप्रधानमन्त्री श्रेष्ठ

सरकारलाई काम गर्ने असाधारण अवसर छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
माघ २५, २०७९ बुधबार १५:३०, सर्लाही

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिको लागि सुशासन स्थापना गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन्।

बुधबार महोत्तरीको बर्दिवासस्थित आधारशिलाको २० औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सुशासनबिना सरकारको समृद्धिको लक्ष्य पुरा नहुने बताएका हुन्।

सुशासन र समृद्धिसहित नागरिकको जीवनमा परिवर्तन ल्याउनु सरकारको मुख्य काम भएको भनाइ थियो।

कांग्रेससहित सरकारलाई प्रतिपक्षी दलको समेत असाधारण विश्वास प्राप्त भएको दाबी गर्दै उनले  समृद्धिको यात्रामा अघि बढ्न यो सहज अवस्था भएको बताए। 

उनले भने, ‘सुशासन र समृद्धिको निम्ति सरकारलाई यो महत्वपुर्ण अवसर हो। यो असाधारण अवसरलाई खेर जान दिने पक्षमा सरकार छैन।’

उनले समाज परिवर्तनको यात्रामा रहेका कम्युनिस्ट नेताहरुले आधारशीला जस्ता संस्थाबाट धेरै कुरा सिक्न सक्ने बताए।

मन्त्री श्रेष्ठ आधारशीलाका संरक्षक छन्। माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले अभिभावत्व ग्रहण गर्दै आएको आधारशीला ‘कम्युन’ उन्मुक्त संस्था हो। 

बर्दिबास ३ गौरीडाँडाडामा अवस्थित आधारशीलामा पोखरेलको नेतृत्वमा १३ परिवारले सामुहिक बसोबास गरिरहेका छन्। उनीहरू सबै माओवादीप्रति आस्था राख्छन्।

स्थानीय बासिन्दा आधारशीलालाई ‘कम्युनिस्टहरूको सामूहिक घरका रूपमा चिन्छन्। जहाँ जस्ताले छाएको एउटै छानोमुनि एक दशकभन्दा लामो समयदेखि १३ परिवारका ४२ जना मिलेर बसेका छन्।

आधारशीला ‘कम्युन’ को नेतृत्व गरिरहेका ६४ वर्षीय पोखरेल भने अविवाहित छन्। तर, आधारशीलाका छोराछोरी उनलाई ‘बा’ भनेर सम्बोधन गर्छन्। 

जनयुद्धताका तत्कालीन माओवादीले आधारशीलाजस्ता आधा दर्जनजति ‘कम्युन’ सञ्चालन गरेको थियो। तर, यतिबेला धेरै कम्युनहरु विघटनको अवस्थामा पुगेका छन्।

आधारशीलाको वार्षिकोत्सब कार्यक्रममा इन्द्रेणीका कृष्ण कँडेल, रक्तिम परिवारका हेमराज आश्रम, गायक प्रदीप बम्जन, गायिका कुस्मिता दर्लामी लगायतका कलाकारले गीत संगीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल  कर्ण, आधारशीलाका अध्यक्ष दीपबहादुर योन्जन, प्रदेस सांसद, मन्त्रीसहित विभिन्न राजनीति दलका स्थानीय नेताहरूले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .