राजनीति


देउवा सरकारले निरन्तरता पाएको भए देश बचाउनै नसक्ने स्थिति हुन्थ्यो : ओली

देउवा सरकारले निरन्तरता पाएको भए देश बचाउनै नसक्ने स्थिति हुन्थ्यो : ओली

नेपालखबर
माघ १९, २०७९ बिहिबार १९:१५, विराटनगर

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डामाडोल बन्नुको मुख्य कारण  शेरबहादुर देउवा भएको आरोप लगाएका छन्।

उनले अदालतको परमादेशपछि बनेको सरकारका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै देउवा नेतृत्वको सरकारको आलोचना गरे।

विराटनगरमा आजेदेखि सुरु भएको ‘सीआइएन कोशी एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘परमादेशबाट आएको सूर्य ग्रहणले मुलुकलाई डेढ वर्ष छोप्यो। अहिलेसम्म त्यही सरकारले निरन्तरता पाएको भए देश बचाउने सक्नेने स्थितिमा रहने थिएन। तर अब मुलुकको अर्थतन्त्र क्रमिकरुपमा सुधार हुँदै जान्छ। तपाईं उद्योगी व्यवसायी नआतिनुहोस्।’ 

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोश व्यक्त गर्दै अब भने अर्थतन्त्र उँभो लाग्ने दाबी गरे।

‘डेढवर्ष एउटा नालायक सरकार बन्यो। अर्थतन्त्र ध्वस्त भयो। यस्तो निराशा कहिल्यै आएको थिएन। अब फेरि अर्थतन्त्र उँभो लाग्छ। हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे। अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने?’ उनले उद्योगीले गरेको आत्महत्याको कुराप्रति इंगित गर्दै भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ। सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काहिँ लाग्यो होला।’

उनले वर्तमान सरकार गठन यताको सवा महिनामा देशको अर्थतन्त्र सुधारमा गएको दाबी पनि गरे। अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने भन्दै उनले ‘हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि, हुँदैछ, मैले तपाईंका कुरा सुनेँ’ भनेर नहुने पनि बताए।

‘हाम्रो जीवन जीविका चलाउन तथा राज्य संचालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौं। यो अत्यन्तै गम्भीर कुरा हो,’ ओलीले भने, ‘पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो। त्यही हिसावले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था थियो। त्यसयताको सवा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरु चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ।’

उनले अहिले कुराको जुहारी गर्ने अवस्था नरहेको पनि बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताए।

‘प्रदेशले नाम राख्न सकेको छैन। प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा छौं। सहमति नभए प्रक्रियाबाट भएपनि नामको विषय टुंगो लगाउने पक्षमा हामी छौं,’ उनले भने।

कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी गरे। 

नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर चार देशको ३ सय ७० भन्दा बढि स्टल रहेको एक्स्पो माघ २८ गतेसम्म सञ्चालन हुने छ।

औद्योगिक तथा कृषि उत्पादन सामग्रीको बिक्री सुरु भएको छ। अन्तर्राष्ट्रिय स्तरको औधोगित तथा कृषि प्रर्दशनीमा स्वदेशी उद्योगको उत्पादनलाई प्राथमिकता दिएको छ।

चर्को बैंक तथा वित्तीय संस्थाको ब्याजदरका कारण धरासायी अवस्थाबाट गुज्रिरहेको पूर्वको औधोगिक क्षेत्रलाई चलायमान बनाउन र विदेशी प्रविधि भित्र्याउन एक्स्पोको आयोजना गरिएको परिसंघ १ नं प्रदेशका अध्यक्ष भीम घिमिरेले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .